काठमाडौं । सरकारले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुबाट मात्रै पाइने रेबिज इम्युनोग्लोबुलिन सेवालाई मंसीर ५ गतेदेखि सातै प्रदेशमा विस्तार गर्ने भएको छ।
आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन गर्दै उक्त सेवालाई सातै प्रदेशमा विस्तार गरिने बताएको हो । स्वास्थ्यमन्त्री विरोध खतिवडाले मंसिर ५ गतेबाट यो सेवा सबै प्रदेशमा विस्तार हुने बताए।
‘मंसिरको ५ गतेबाट सबै प्रदेशमा रेबिज इम्युनो ग्लोबुनिको सेवाप्रवाह गर्ने व्यवस्था मिलाइएको छ,’ मन्त्री खतिवडाले भने, ‘ हाललाई ठूला ९ सरकारी अस्पतालबाट उक्त सेवा लिन पाइन्छ।उनले विस्तारै यो सबै अन्य अस्पतालमा लागू गर्ने बताए।यसअघि इम्युनोग्लोबुलिन सेवा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा मात्र थियो।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्ण पौडेलले नेपालमा १५ देखि २० जनाको वार्षिक मृत्यु हुने गरेको बताए। सरकारले टेकु अस्पतालबाट मात्रै यो सेवा निःशुल्क प्रदान गर्ने जनाएको छ।
के हो इम्यूनोग्लोबुलिन ?
रेबिज इम्युनोग्लोबुलिन एउटा औषधि हो, जुन रेबिज लाग्न सक्ने जवारको टोकेपछि घाउको वरीपरी सुईको माध्यमले लगाइन्छ। सामान्यता एन्टिरेबिज भ्याक्सिन लगाएको ७ देखि १० दिन भित्र मात्र शरिले एन्टिबडी बनाउन थाल्दछ।
एक वा एक भन्दा बढि घाउ हुने गरी टोकेमा, ठूलो घाउ हुनेगरी टोकेमा, म्युकस मेम्ब्रेन वा छाला फुटेको ठाउँमा रेबिज शंस्कापद जनावरको र्याल परेमा वा अनुहार र हातमा टोकेमा बढी जोखिम मानिन्छ।
यस्तो टोकाइहरु बढि संवेदनशील हुने हुँदा तत्काल रेबिज भाइरसलाई निष्कृय बनाइ रेबिजको कारण हुन सक्ने जोखिम कम गर्ने उदेश्यले रेबिज इम्युनो ग्लोबुलिनको सुई दिनुपर्छ। यसको रेबिजभाइरसलाई निष्कृय गराउने हुँदा यो जहिले पनि घाउको वरीपरीको नै लगाइन्छ। रेबिज इम्युनो ग्लोबुलिनको सुई जीवनमा एक पटक मात्र लगाए पुग्छ।
कुन कुन अस्पतालबाट पाइन्छ सेवा ?
१ .कोशी अस्पताल, विराटनगर
२ . जनकपुर अस्पताल, धनुषा
३ .मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान,हेटौंडा
४ . नारायणी अस्पताल विरगञ्ज
५ . भरतपुर अस्पताल चितवन
६.पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान,गण्डकी
७.लुम्बिनी अस्पताल,बुटवल
८ .सुर्खेत अस्पताल,सुर्खेत
९ .सेती प्रादेशिक अस्पताल
नेपालमा रेबिजको अवस्था
विशेषगरी नेपालको तराई र पहाडी क्षेत्रमा रेबिजको समस्या बढी देखिएको छ । स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार नेपालको आधा जनसङ्ख्या रेबिजको उच्च जोखिममा रहेका छन् ।
यस्तै एक चौथाइ मध्ययम जोखिममा रहेको जनाएको छ ।विश्वमा हरेक वर्ष रेबिजले ५९ हजार व्यक्तिको ज्यान लिने गरेको छ । जसमा आधाजति १५ वर्षमुनिका बालबालिका पर्छन् । विश्वभरीमा हुने रेबिजको ९५ प्रतिशत समस्या एसिया र अफ्रिकामा मात्रै हुने गरेका छ ।