गर्भ खेर गएकी ओक्लाहामाकी एक आदिवासी अमेरिकी महिलालाई मानवहत्याको आरोप लाग्दा कैयौँ मानिसहरूमा आक्रोश देखियो। तर त्यस्तो अभियोग खेप्ने उनी एक्ली होइनन्।
सन् २०२० को ज्यानुअरीमा उनले अस्पतालमा आफ्नो बच्चा गुमाउँदा ब्रिट्नी पूलोले गर्भधारण गरेको चार महिना मात्र भएको थियो।
गत अक्टोबरमा उनलाई आफ्नो जन्मिनै नपाएको छोराको हत्या गरेको अभियोगमा दोषी ठहर्याइयो र उनले चार वर्षको जेल सजाय पाइन्।
गर्भपतन हुने अवस्थामा उनी कसरी पुगिन् र उनलाई भ्रूणहत्याको अभियोगमा कसरी जेल हालियो भन्ने विषय अनलाइन र सञ्चारमाध्यममा चर्चाको विषय बनेको छ।
कतिपयले सामाजिक सञ्जालमा उनलाई 'प्रेग्नन्सी लस अवेअरनेस' महिनामै दोषी ठहर गरिएको भन्दै प्रश्न पनि उठाएका छन्।
अमेरिकामा अक्टोबरलाई गर्भ खेर जाने कुराबारे चेतना जगाउने महिनाका रूपमा लिइन्छ।
अरूले उक्त घटनालाई मार्गरेट एट्वुडको उपन्यास 'द ह्यान्डमेड्स टेल'सँग तुलना गरेका छन्।
उनले अस्पतालमा उपचारका लागि आउँदा गर्भावस्थामा अवैध औषधिको प्रयोग गरेको स्वीकारेकी थिइन्।
बीबीसीले पछि प्राप्त गरेको चिकित्सकीय परीक्षकको प्रतिवेदनमा उनको नजन्मिएको छोराको कलेजो र मस्तिष्कमा मेथाम्फेटमीन नामक द्रव्य पाइएको उल्लेख छ।
तर ती परीक्षकले भ्रूणको मृत्युको कारण निर्धारण गरेका छैनन्।
आनुवंशिक विसङ्गति, गर्भाशयबाट साल छुट्टिँदा वा गर्भवती महिलाले मेथाम्फेटमीन प्रयोग गर्दा गर्भपतन हुन सक्ने सम्भावनालाई दृष्टिगत गर्दै परीक्षकले मृत्युको स्पष्ट कारण निर्क्योल गरेनन्।
पूलोका वकिलले उनलाई दोषी ठहर गर्ने निर्णयविरुद्ध पुनरावेदन गर्ने बताएका छन्।
उनको मुद्दालाई अदालतसम्म पुर्याउने अभियोजनकर्ताले चाहिँ प्रक्रिया चलिरहेको भन्दै प्रतिक्रिया दिन चाहेनन्।
यद्यपि पूलोको कथा त मूल समस्याको एउटा सानो पाटो मात्र भएको छनोटको अधिकारबारे वकालत गर्ने एउटा समूह न्याश्नल एड्भोकेट्स अफ प्रेग्नन्ट वूमन (एनएपीडब्ल्यू) की उपकार्यकारी निर्देशक डाना सस्मनले भनिन्।
"ब्रिट्नीको मामिलाले वास्तवमै छोयो, तर यो त्यति असामान्य होइन जति मानिसहरूले ठानेका थिए," उनले भनिन्।
उक्त संस्थाले पूलोको पुनरावेदनका लागि सहयोग गरिरहेको छ र अमेरिकामा गर्भवती महिला पक्राउ परेका तथा बलपूर्वक हस्तक्षेप गरिएका घटना खोज्ने गरेको छ।
सन् १९७३ देखि २०२० सम्ममा एनएपीडब्ल्यूले त्यस्ता खालका १,६०० वटा घटनाको विवरण राखेको छ। तीमध्ये १,२०० त विगत १५ वर्षका मात्र छन्।
कतिपय घटनामा गर्भवती महिलाहरू लडेर बच्चा खेर गएको भने घरमा सुत्केरी हुँदा पनि बच्चाको मृत्यु भएको छ।
तर धेरै घटनाहरू औषधिसँग जोडिएका छन् र भ्रूणहत्याको आरोप बेहोर्नेमा अश्वेत महिलाहरू धेरै छन्।
अमेरिकामा सन् १९८० को दशकमा भ्रूणको लागुऔषधसँगको सम्पर्कबारे सांस्कृतिक बहस चलेको थियो।
त्यस बेला दुर्व्यसनी आमाबाट जन्मिएका बच्चालाई जनाउन "क्र्याक बेबी" शब्द चलेको थियो।
गर्भावस्थामा लागुऔषध प्रयोग गर्दा कैयौँ दुष्प्रभावहरू देखिन्छन्। तीमध्ये गर्भपतन र मृतजात अर्थात् मृत शिशुको जन्म पनि हुन्। तर भ्रूणमा पर्ने वास्तविक प्रभावमा विविधता छ।
सन् १९८० ताकाका अध्ययनहरूमा कोकेन सेवन गर्ने आमाबाट जन्मिने बच्चाहरूले विकाससम्बन्धी गम्भीर समस्या खेप्नुपर्ने देखाएका थिए। तर पछि त्यो मान्यतालाई असत्य मानियो।
त्यस बेलादेखि लामो समय गर्भावस्थामा लागुऔषध प्रयोगको विषय चर्चामा रह्यो। अमेरिकका कैयौँ राज्यहरूले गर्भपतनसम्बन्धी कडा कानुनहरू बनाए।
तर मानिसहरूले गर्भपतनको विरोध गर्नुमा प्राय: नैतिक र धार्मिकजस्ता विभिन्न कारणहरू थिए।
अर्कोतर्फ 'पर्सनहूड' अर्थात् निजत्व अभियानका तर्फबाट पनि विभिन्न तर्कहरू आएका थिए।
एउटा प्रो-लाइफ संस्था पर्सनहूड अलायन्स एडुकेशनकी अध्यक्ष सारा क्वेल पर्सनहूडको अवधारणा साधारण भएको बताउँछिन्।
उनका भनाइमा उक्त अभियानले मानवीयपनका आधारमा सबै जनालाई मानव हुन दिनुपर्छ भन्ने मान्यता राख्छ।
उक्त अभियानले गर्भपतनको नियामक पहुँचको साटो भ्रूणको अधिकार र संरक्षणका लागि वकालत गर्छ।
यद्यपि लागुऔषध प्रयोग गर्ने आमाहरूलाई मुद्दा चलाउने विषयबारे उक्त संस्थाको कुनै स्पष्ट धारणा छैन।
छनोटको अधिकारका पक्षमा वकालत गर्ने अनुसन्धानसंस्था गट्म्याकर इन्स्टिट्यूटका अनुसार २३ राज्यमा बालकल्याण कानुनअनुसार गर्भावस्थाका बेला लागुऔषध प्रयोगलाई बालदुर्व्यवहार मानिन्छ।
आधाजति अमेरिकी राज्यमा यदि गर्भवती महिलालाई त्यस्तो प्रयोग गरेको शङ्का लागे स्वास्थ्यकर्मीले जानकारी दिनुपर्ने नियम छ।
अमेरिकाका कैयौँ राज्यमा गर्भावस्थामा लागुऔषध प्रयोग गरेको पाइएमा आमालाई कारबाही हुने कानुनहरू छन्।
त्यस्ता कानुनअन्तर्गत कैयौँ राज्यमा महिलाहरूमाथि कारबाही भएको छ।
त्यस्ता कैयौँ कानुनहरू गर्भवती महिलालाई हानि गर्नेलाई कारबाही गर्ने उद्देश्यले बनेका थिए।
तर ती कानुनमा कतिपय कुरा अस्पष्ट भएकाले अभियोजनकर्ताहरूलाई गर्भपतन भएका महिलाहरूमाथि पनि अभियोग लगाउने ठाउँ दिएको छ।
गर्भपतन नै गराएको भए बरु पूलोले दण्डित हुने थिइनन् किनकि ओक्लाहामामा गर्भपतन कानुनी छ।
सन् २०१२ मा गरिएको एउटा सर्वेक्षणअनुसार झन्डै ६ प्रतिशत अमेरिकी गर्भवती महिलाले अवैध औषधि प्रयोग गरेको स्वीकारेका थिए।
त्यस्तै ८.५ प्रतिशतले मदिरा सेवन र १६ प्रतिशतले धूमपान गर्ने बताएका थिए।
अमेरिकी मेडिकल एशोसिएशन गर्भावस्थामा लागुऔषध प्रयोगलाई बालदुर्व्यवहारका रूपमा लिइनु नहुने बताउँछ।
उसका भनाइमा लागुऔषध दुर्व्यसनीले जेल होइन उपचार पाउनुपर्छ।
बिबिसी नेपाली सेवा बाट