काठमाडौं- संसारभरी क्यान्सर लागेर मृत्यु हुने मध्ये लंग्स् अर्थात फोक्सो क्यान्सर पहिलो स्थानमा पर्छ । नेपालको सन्दर्भमा पनि क्यान्सरका कारण मृत्यु हुने मध्ये सबैभन्दा बढि फोक्सो क्यान्सर नै भएको हुन्छ ।
फोक्सो हाम्रो छाती भित्र हुन्छ । यसका दुईवटा पाटो रहेको हुन्छ । क्यान्सर फोक्सोको जुन सुकै भागमा हुन सक्छ । प्रायः जसो फोक्सो क्यासर ४० वर्ष नाघेपछि देखिने गर्दछ । तर हाम्रो समाजमा यो भन्दा कम उमेरमा नै फोक्सोको क्यान्सर भएको भेटाएका छौं ।
फोक्सोको क्यान्सर हुने मुख्य कारक तत्व मध्ये धुम्रपान प्रमुख कारक तत्व हो । हाम्रो समाजमा हुने ८० प्रतिशत भन्दा बढि फोक्सोको क्यान्सर धुम्रपानको कारणले हुन्छ ।
धुम्रपान अर्थात सूर्तीजन्य पर्दाथको सेवन विभिन्न माध्यम जस्तै चुरोट, तमाखु , विडी, हुक्का बाट लिइरहेका हुन्छौं । त्यसका साथै सूर्तीजन्य पदार्थ चपाउने वा अन्य तरीकाबाट पनि सेवन गरिरहेका हुन्छन् । यसले स्वास्थ्यमा नकारात्मक प्रभाव पार्छ भन्ने बिषयमा धेरैजसो मानिसहरु जानकार भएपनि सेवन गरिरहेका हुन्छन् ।
धुम्रपान गर्ने व्यक्तिलाई फोक्सो क्यान्सरको सम्भावना उच्च हुन्छ । तर कहिले काही सूर्तीजन्य पर्दाथ सेवन नगर्ने व्यक्तिमा पनि फोक्सोको क्यान्सर भएको पाईन्छ । यसका विभिन्न कारक तत्वहरु मध्ये थ्रर्ड ह्याण्ड इस्मोकिङ पनि एक हो । थ्रर्ड ह्याण्ड इस्मोकिङ अर्थात परिवारको एक सदस्यले धुम्रपान गरेमा सो व्यक्ति बसोबास गर्ने ठाउँको वातावरण नै प्रदुषण गर्ने भएकाले परिवारको अर्को धुम्रपान नगर्ने व्यक्तिमा पनि धुँवाकोे असर परिरहेको हुन्छ । त्यसैले संसारमा फोक्सो क्यान्सर तिव्र रुपमा बढिरहेको छ ।
एक व्यक्तिले खाएको चुरोटले अर्को व्यक्तिलाई कसरी क्यान्सर हुन्छ भन्ने जो कोहिलाई थाहा नहुन सक्छ । तर फोक्सो क्यान्सर हुने पहिलो कारक तत्वको रुपमा थ्रर्ड ह्याण्ड इस्मोकिङलाई नै लिइन्छ । कुनै व्यक्ति कोठामा बसेर धुम्रपान गरेमा अर्को धुम्रपान नगर्ने व्यक्ति केहि समय पश्चात कोठामा जादाँ बाकिँ रहेको धुवाँको कणहरुले असर गरि क्यान्सर हुने सम्भावना बढाउँछ ।
परिवारमा अभिभावकले धुम्रपान गर्नाले साना छोराछोरीमा पनि क्यान्सर भइरहेको हुन्छ । यसकारण थ्रर्ड ह्याण्ड इस्मोकिङबाट बच्ने उपायहरु अपनाउनुपर्छ । आफ्नो वरपरको वातावरणलाई सत प्रतिशत धुम्रपान रहित क्षेत्र बनाउँनु पर्छ ।
सार्वजनिक क्षेत्र वा होटेलहरुमा धुम्रपान निषेध घोषित गरेपनि त्यस ठाउँको नजिकै धुम्रपान गर्न मिल्ने क्षेत्र भनिएको हुन्छ, यो सरासर गलत हो ।
सत प्रतिशत धुम्रपान रहित क्षेत्र घोषणा गरेको वरिपरी कसैले पनि धुम्रपान गर्नुहुदैँन । एउटा क्षेत्रमा धुम्रपान निषेध गर्ने त्यहि नजिकैको अर्को क्षेत्रमा धुम्रपान गरेमा बिषालु धुवाँ हावाको कणमा मिसिएर बसेको हुन्छ । जसका कारण धुम्रपान निषेध क्षेत्र घोषणा गर्नुको कुनै अर्थ नै रहदैँन ।
ठुला होटेल अथवा रेस्टुरेन्टवालाहरुले आफुले धुम्रपान नगरेपनि त्यहा आउँने व्यक्तिलाई धुम्रपान निषेध गरिएको छैन भन्ने ग्राहकका साथै संचालकलाई पनि उत्तिकै असर पुर्याइरहेको हुन्छ । जसका कारण फोक्सो क्यान्सर हुन सक्छ । त्यसैले हरेक क्षेत्रलाई धुम्रपान निषेध क्षेत्र बनाउन जरुरी छ ।
फोक्सो क्यान्सरका लक्षणहरुः
सुरुवाती चरणमा खोकी लाग्ने गर्दछ । तर खोकि जो कोहिलाई पनि लाग्न सक्छ । यदि खोकी छाती बाट आउँछ, खोक्दा छाती दुख्छ वा सुक्खा खोकी आउँछ ।
एक महिना भन्दा लामो समय सम्म खोकी लागि रहन्छ, उपचार गराउँदा पनि खोकी कम भएको छैन् भने यो फोक्सो क्यान्सर हुन सक्छ । खोक्दा खोक्दा पछि खकारमा रगत पनि देखिन सक्छ । स्वाँ स्वाँ भएर दम पनि हुन सक्छ । विस्तारै क्यान्सरको अन्तिम चरणमा पुग्न सक्छ । यस्ता लक्षणहरु ४० वर्ष नाघेपछि देखिएमा सचेत हुन आवश्यक छ ।
यी लक्षण देखिदा ढिलो भइसकेको हुन सक्छ । हाम्रो अस्पतालमा फोक्सोको बिरामी प्रायः तेस्रो वा चौथो चरणमा मात्र आइपुगेका हुन्छन् । कतिपय व्यक्तिहरु यस्ता लक्षण देखिदा पनि सामान्य औषधी खाएर बस्ने गर्दछन् । जसका कारण अस्पताल पुग्दा समेत ढिलो भइसकेको हुन्छ ।
त्यसैले बर्षको एकपटक हरेक व्यक्तिले स्वास्थ्य परिक्षण गराउनुपर्छ । यसरी परिक्षण गराइरहदा क्यान्सर हुने सम्भावना कम हुन्छ । साथै क्यान्सर लागेको शुरुवाती चरणमा नै पत्ता लगाई पुर्ण रुपमा निको पार्न सकिन्छ । हाल नेपालमा नै क्यान्सर सम्बन्धि सम्पुर्ण उपचार भइरहेको छ ।
क्यान्सर उपचारका लागी आवश्यक विधि शल्यचिकित्सा, रेडियोथेरापी, पेटिस्क्यान, केमोथेरापी , टार्गेटेड थेरापी , इम्युनोथेरापी लगायतका सम्पुर्ण उपचार नेपालमा नै सम्भव छ । त्यसका साथै अन्य नयाँ उपचार नेपालमा नै गर्न सकिने भएकाले क्यान्सरलाई निको नहुने रोगका रुपमा लिनु हुदैन क्यान्सर पनि एक दिर्घरोग रोग जस्तै हो समयमा नै उपचार गरे निको हुन्छ ।
धुम्रपान आफुले गर्नुहुदैन र अरुलाई पनि नर्गन सल्लाह दिनुपर्छ । यसो गर्दा हामी ७० वा ८० प्रतिशत फोक्सोको क्यान्सरबाट जोगिन सक्छौं ।
(वरिष्ठ अंकोलोजिष्ट डा.सुदिप श्रेष्ठ नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरका अध्यक्ष हुन्)