जनस्वास्थ्य एवं पोषणको क्षेत्रमा एक परिचित नाम हो डा. अरुणा उप्रेती । पछिल्लो समय जनस्वास्थ्य तथा महिला स्वास्थ्यका विषयमा बोलेर,लेखेर या विभिन्न अभियान नै सञ्चालन गरेर उनी आफ्नो फरक परिचय राख्न सफल छिन् । नेपालमा जनस्वास्थ्य तथा महिला स्वास्थ्यको पछिल्लो अवस्थाबारे महिला स्वास्थ्य डटकमका लागि जनस्वास्थ्यविज्ञ डा.अरुणा उप्रेतीसँग लक्ष्मी चौलागाईंले गरेको कुराकानी ,
सबैले बुझ्ने भाषामा जनस्वास्थ्य भनेको के हो ?
जनस्वास्थ्य भन्नाले जनताको स्वास्थ्यसँग सम्बन्धित कुराहरू हुन् । सामान्यतया मानिसहरुको बुझाइमा अस्पताल,चिकित्सक, नर्सको संख्यालाई मात्र जनस्वास्थ्यसँग जोड्ने गरेको पाइन्छ । अर्थात् यी कुराहरु बढ्दा जनस्वास्थ्य राम्रो हुन्छ भन्ने एउटा विश्वास पनि मानिसहरुमा रहेको छ ।
वास्तवमा भन्ने हो भने अस्पताल तथा चिकित्सकसम्म पुग्न नपरोस् भनी जुन ज्ञान दिइन्छ त्यो नै जनस्वास्थ्य हो । उदाहरणका लागि नेपालमा पोलियो खोप सबैको पहुँचमा नहुँदासम्म पोलियोका कारण धेरै बालबालिकाको मृत्यु हुने गरेको थियो । भने खोप सबै बालबालिकाको पहुँचमा पुगेपछि पोलियोबाट बालबालिकाको मृत्यु हुने संख्या घट्यो त्यसैले पोलियोलाई जनस्वास्थ्यको एक राम्रो कार्यक्रमको रुपमा लिइन्छ। जनताको स्वास्थ्यको कुरा गर्नुपर्दा औषधि, डाक्टरलगायत विषय मात्र नभई अलिकति फराकिलो तवरले समग्र स्वास्थ्यबारे सोच्नुपर्ने हुन्छ ।
जस्तै, कसैलाई झाडापखाला लागेका बेला एन्टिबायोटिकले गर्ने उपचार स्वास्थ्य भयो, तर जनस्वास्थ्य भनेको त्यही झाडापखाला एकैसाथ सयजनामा लाग्यो भने के कारणले लाग्यो भन्ने मुद्दा उठाउनु जनस्वास्थ्य हो भनी बुझ्नुपर्छ जस्तो लाग्छ । यसमा एउटा कुनै व्यक्तिविशेषको स्वास्थ्य नभई कुनै एक विशेष समूह तथा समग्र देशकै स्वास्थ्यअवस्थालाई मुद्दा बनाइन्छ । महिला स्वास्थ्यबारे कुरा गर्नुपर्दा प्रसूतिसेवा मेरो लामो कार्यानुभव भएका कारण मैले गर्भपतन गराएर उपचारका लागि आउने गरेका धेरै महिलाबारे बुझ्ने अवसर पाएँ ।
त्यस्तो अवस्थाका कतिपय महिलालाई बचाउन सकियो भने कतिपयलाई सकिएन । त्यतिवेला मैलै असुरक्षित रूपमा गर्भपतन गराएर आउने महिलाको संख्या धेरै नै पाएको थिएँ । अस्पतालमै आएर पनि गर्भपतनका कारण मृत्यु हुने महिलाको संख्या अत्यधिक हुन थालेपश्चात् मलाई लाग्यो, नेपालमा त्यतिवेला गर्भपतनसेवालाई कानुनी मान्यता नदिएका कारण पनि धेरै महिलाको मृत्यु भएको हो ।
नेपालमा गर्भपतन सेवालाई सुरक्षित गराउनुकासाथै कानुनी मान्यता कसरी दिलाउने भन्नेतर्फ मेरो ध्यान केन्द्रित रह्यो । त्यस विषयमा धेरै छलफल चलाउँदा धेरै साथीले गर्भपतन हिन्दू धर्मविरुद्ध भएका कारण पनि नेपालमा यो सेवालाई कानुनी मान्यता दिन नसकिने जवाफ मैले पाएँ । त्यतिवेला म नयाँ–नयाँ जोसमा थिएँ । गर्भपतनलाई चाहिएका वेला गराउन सकिने बनाउन सकेको खण्डमा धेरै महिलालाई अकाल मृत्युबाट जोगाउन सकिन्छ भन्ने मलाई लागि नै रह्यो ।
त्यसपश्चात् सुरक्षित गर्भपतनका विषयमा म निरन्तर बोल्न तथा लेख्न लागिपरेँ । बिस्तारै विभिन्न अध्ययनले नेपालमा मातृमृत्युदरको मुख्य कारणका रूपमा असुरक्षित गर्भपतनलाई पुष्टि गरे । त्यससँगै सन् २००२ मा गर्भपतनले कानुनी मान्यता पायो । त्यो मेरो जीवनको धेरै नै ठूलो सफलताका रूपमा रह्यो ।
गर्भपतनलाई कानुनी मान्यता दिएमा नेपाली महिला देहव्यापारमा लाग्छन् भन्ने प्रकारको एकथरी व्यक्तिको कुरा आउँदाआउँदै पनि यसले कानुनी मान्यता पाउनमा सफलता मिल्यो । त्यो मैले जनस्वास्थ्यमा चालेको एउटा ठूलो कदम थियो । जनस्वास्थ्यका के के कुराहरुलाई महिला स्वास्थ्यभित्र समावेश गर्न सकिन्छ ? जनस्वास्थ्य भनेको एकदमै फराकिलो अवधारणा हो ।
आमसञ्चारसँग कुरा गर्नु, एउटा इन्जिनियरले राम्रो सडक बनाइदिनु, मानसिक तनाव कम गर्नका लागि गीत तथा भजन सुन्नुजस्ता कुराहरू पनि जनस्वास्थ्यसँग सम्बन्धित छन् । जनस्वास्थ्यको सम्बन्ध प्रायः सम्पूर्ण क्षेत्रसँग गाँसिएको हुन्छ । जाडोका वेला कागतीपानी खानेदेखि लिएर बिरामी हुँदा आराम गर्नेसम्म सबै कुरा जनस्वास्थ्यसँग सम्बन्धित छन् । जीवनका हरेक पक्ष जनस्वास्थ्यसँग सम्बन्धित छन् भन्ने मेरो बुझाइ छ ।
तपाई पछिल्लो समय चलाउनु भएको जंकफुडविरुद्धको अभियान कसरी सफल हुन्छु भन्ने विश्वास छ ?
मेरो एजेन्डा यी विषय हुन्, तर यसमा म सफल हुन्छु कि हुन्न, मलाई थाहा छैन । मैले गाउँ–गाउँमा यस्ता अभियान लिएर जानुको प्रमुख उद्देश्य गाउँ–गाउँमै उपलब्ध खाद्यान्नलाई बढावा दिनु पनि हो, जुन मानव स्वास्थ्यका लागि पनि एकदमै हितकर छ ।हाल नेपालमा किशोरकिशोरीमा पनि मधुमेह, उच्च रक्तचापजस्ता समस्या देखापर्न थालेका छन् । किशोरकिशोरीमा यस्ता समस्या देखिनुका धेरै कारणमध्ये जंकफुड पनि एक हो ।
जंकफुडलाई लामो समयसम्म टिकाउन त्यसमा नुन तथा चिनीको मात्रा अत्यधिक राखिएको हुन्छ । जब शरीरमा चिनीको मात्रा बढी हुन्छ, त्यसले मधुमेह गराउँछ भने नुनको मात्रा बढी भएका त्यसले मिर्गौलामा समस्या देखापर्छ ।वैदेशिक रोजगारीमा गएका युवाले पनि व्यस्तताका कारण जंकफुडको बढी प्रयोग गर्ने भएकाले लामो समय वैदेशिक रोजगारीमा बिताएका युवामा पनि मिर्गौलाको समस्या धेरै नै देखिने गरेको छ । विदेशबाट ल्याएको पैसा सबै उपचारमै खर्चिनुपर्ने अवस्था पनि छ । त्यसैले बेरोजगारी पनि जनस्वास्थ्यको एउटा मुद्दा हो ।
बढ्दो सहरी तथा व्यस्त जीवनमा जंकफुडको प्रयोग नगर्न कतिको सम्भव छ साथै कोदो,मकै फापरको प्रयोग कसरी सम्भव छ ?
म नेपालका विभिन्न दुर्गमक्षेत्रमा विभिन्न अभियान लिएर गइ नै रहेकी हुन्छु । त्यतिवेला म केही समय त्यहाँका स्थानीयसँग कुराकानी गरेर बिताउँछु । कुराकानीका क्रममा त्यहाँका मानिसले भन्ने गर्छन्– भात खाने बानीले गर्दा आजकल हामीलाई कोदो, फापर खान मन लाग्दैन ।
उनीहरूलाई भात खाने बानीले यसरी आक्रान्त पारेको छ कि, उनीहरू कोदो, फापरजस्ता अन्नबाली उब्जाउनै चाहँदैनन् । यता काठमाडौंमा कोदो, फापरजस्ता खाद्यान्न प्रतिकेजी २–३ सय रूपैयाँमा किन्नुपर्ने बाध्यता छ भने उता उनीहरू त्यस्ता खानेकुरा खान चाहँदैनन् ।
सेतो चामलको भातले उनीहरूको बानी नै बिग्रिएको छ ।सेतो चामलको भात खान थालेपछि मानिसलाई पर्याप्त मात्रामा पोषकतत्वको अभाव हुन्छ । यसका कारण कुपोषणको समस्या आउँछ । कुपोषणका कारण मानिसले आफ्ना दैनिक गतिविधि राम्रोसँग सञ्चालन गर्न सक्दैन । यसले मानवस्वास्थ्यमा विभिन्नप्रकारका समस्या निम्त्याउँछ । नेपाल सरकार, विश्व खाद्य कार्यक्रमलगायतले देशका दुर्गम क्षेत्रका जनतालाई चामल वितरण गर्ने काम गर्छन् ।
उनीहरूले त्यहाँका जनतालाई कोदो, फापरजस्ता पोषणयुक्त खाद्यान्न वितरण गरेको भए त हुन्थ्यो नि ! पहिलेदेखि नै चलिआएको चामल वितरणको परम्परालाई राजनीतिज्ञले भोट पाउने साधन बनाएका छन् । जुन नेता तथा राजनीतिक दलले बढी चामल वितरण गर्न सक्यो, दुर्गम क्षेत्रका जनताको भोट उसैले पाउने अवस्था सिर्जना भयो । , पछिल्लो समय नेपालीको पोषणको अवस्थामा केही सुधार हुँदै गएको छ । स्वदेशमै उत्पादित खानेकुरालाई बढावा दिने हो भने नेपालीलाई कुपोषण हुनुपर्ने अवस्थै छैन ।
तर, गर्भवती नेपाली महिलामा सन् २००६ मा भन्दा रक्तअल्पता झन् बढेको तथ्यांकले देखाएको छ । त्यसैले कहीँ न कहीँ समस्या भने छ ।
सहरी बसाइमा कोदो, फापरजस्ता खाद्यान्नको प्रयोग कत्तिको सम्भव छ ?
एकदमै सम्भव छ । म आफैँ पनि हप्ताको ३ पटकसम्म यस्ता खाद्यान्नको सेवन गर्छु । यस्ता खाद्यान्न पकाउन पनि धेरै नै सजिला छन् । यसलाई अन्य खाद्यान्नसँग मिलाएर पनि पकाउन सकिन्छ । असम्भव भन्ने छँदै छैन । पहिले–पहिले कोदो तथा फापरजस्ता खानेकुरालाई कुअन्न हुन्, गरिबले मात्र खाने अन्न हुन् भन्ने गलत धारणा थियो । अहिले ठूला–ठूला डिपार्टभेन्टल स्टोरहरूमा यस्ता खाद्यान्न किन्नेको भिड लाग्ने गरेको छ ।
उच्च आर्थिक अवस्थाका व्यक्तिहरू हाल डायबिटिज, सुगरजस्ता समस्याले पीडित भएका कारण उनीहरूको रोजाइमा यस्ता खाद्यान्न पर्ने गरेका छन् । कोदो, फापरजस्ता खाद्यान्नमा हुने रेसादार पदार्थ मधुमेहपीडितका लागि स्वस्थकर खानेकुरा मानिन्छन् । कर्णालीका मानिसले कोदो, फापरजस्ता खाद्यान्नको प्रयोग नगर्नु तर काठमाडौंका मानिसले भने यसको प्रयोग गर्नु पनि त जनस्वास्थ्यको एउटा मुद्दा हो नि ! त्यस्तै, सेतो अस्वस्थकर चामल कर्णालीका मानिसलाई वितरण गर्नु पनि जनस्वास्थ्यको एक एउटा मुद्दा हो । पोषणतत्वका हिसाबले सेतो चामलमा पोषणको अवस्था शून्य हुन्छ । यसको विकल्पका रूपमा ब्राउन राइसको प्रयोग भने गर्न सकिन्छ ।
नेपालमा प्रचलनमा रहेको दाल, भात, दूध, दहीजस्ता खानेकुरा स्वास्थ्यका दृष्टिले एकदमै उपयुक्त खाना हुन् । यसलाई सजिलै बिर्सिएर तयारी अवस्थामा पाइने केक, चाउचाउजस्ता खानेकुराको प्रयोग व्यापक बन्दै गएको छ । चाउचाउ कम्पनीमा काम गर्ने एकजना इन्जिनियरसँगको भेटमा उनले आफ्नो घरमा चाउचाउ कहिल्यै लान नदिने बताएका थिए । उनका अनुसार चाउचाउ बनाउँदा प्रयोग हुने पिठो एकदमै कमसलखालको हुन्छ । चाउचाउ तयार गर्नेक्रममा एउटै तेलको प्रयोग बारम्बार गर्ने गरिन्छ भन्ने जानकारी मैले उनीमार्फत पाएकी थिएँ ।
त्यसमा पोषणको मात्रा नहुनु त छँदै छ, उल्टै मानव स्वास्थ्यमा गम्भीर प्रकारको समस्या उत्पन्न गराउँछ । चाउचाउका विज्ञापन छ्याप्छ्याप्ती आउँछन्, भटमास, कोदो, मकै, फापरजस्ता खाद्यान्नको विज्ञापन कहीँ–कतै पनि आउँदैनन् नि १ जुन कुराको जति धेरै विज्ञापन आउँछ, त्यो त्यति नै काम नलाग्ने रहेछ भनेर स्पष्ट हुन म सर्वसाधारणमा अनुरोध गर्छु । राम्रो कुराको त विज्ञापन नै आवश्यक हुँदैन नि !
समग्र नेपालीको पोषणको अवस्था कस्तो छ ?
पछिल्लो समय नेपालीको पोषणको अवस्थामा केही सुधार हुँदै गएको छ । स्वदेशमै उत्पादित खानेकुरालाई बढावा दिने हो भने नेपालीलाई कुपोषण हुनुपर्ने अवस्थै छैन । तर, गर्भवती नेपाली महिलामा सन् २००६ मा भन्दा रक्तअल्पता झन् बढेको तथ्यांकले देखाएको छ । त्यसैले कहीँ न कहीँ समस्या भने छ । नेपाल सरकारले गर्भवती महिलालाई निरन्तर आइरनचक्की वितरण गर्दै आएको छ ।
स्वास्थ्य मन्त्रालयले नेपाली महिलामा भिटामिन बी १२ को कमी भएको पत्ता लगाइसकेको छ । नेपाल सरकारले आगामी दिनमा भिटामिन बी१२ वितरण गर्ने योजना बनाएको छ, जुन एउटा मूर्खतापूर्ण कुरा हो । किनभने महिला स्वास्थ्यमा सुधार ल्याउनका लागि खालि औषधिको प्रयोग गर्नुपर्छ भन्ने होइन । कतिपय हाम्रा सांस्कृतिक पक्षहरू पनि स्वास्थ्यका लागि हितकर छन्, जस्तै, क्वाँटी खाने चलन, फलामको भाँडोमा पकाउने चलन । क्वाँटी खाने प्रचलनले रक्तअल्पता हटाउनमा एकदमै मद्दत गर्छ ।