काठमाडौं । बिरामीलाई विभिन्न रोग लागेपछि हुने संक्रमणबाट बच्नका लागि चिकित्सकको सल्लाहमा एन्टीबायोटिकको प्रयोग गरिन्छ । विभिन्न प्रकार संक्रामक रोगहरुबाट बच्नका लागि एन्टीबायोटिकको प्रयोग फाइदाजनक छ । तर पछिल्लो समय एन्टीबायोटिकको प्रयोग जथाभाबी रुपमा हुन थालेको छ ।जसले मानव स्वास्थ्यमा गम्भीर असर पारिरहेको छ ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका फिजिसियन डाक्टर सिताराम श्रेष्ठका अनुसार,पछिल्लो समय बिरामीले चिकित्सकको सिफारिस बिना नै एन्टीबायोटिकको प्रयोग गर्ने गलत परम्परा बढ्दै गएको छ ।
उनका अनुसार कतिपयले विज्ञको सल्लाह नै नलिई साथीभाईको लहैलहैमा लागेर एन्टीबायोटिकको प्रयोग गर्ने मानिसहरुको जमात ठूलो छ । उनका अनुसार एन्टीबायोटिकको गलत रुपमा जथाभाबी प्रयोग गर्नाेले पछिल्लो समय यसले काम नै गर्न छोडिसकेको छ ।
सामान्य रुघाखोकीमा होस् या टाउको दुख्दा औषधि पसलमा गएर एन्टीबायोटिक किनेर खाने प्रचलन छ जसले मानव स्वास्थ्यमा गम्भीर समस्या आउने स्थितीको परिकल्पना गरिएको छ । औषधि पसलले बढी बढी व्यापार गर्ने लक्ष्यका साथ जभाबाभी एन्टीबायोटिक बेच्ने गरेको डा. श्रेष्ठ बताउँछन् । उनका अनुसार गलत रुपमा एन्टीबायोटिकको प्रयोगका कारण संक्रामक रोगमा यसको प्रभाव न्यून देखिएको छ ।
औषधि व्यवस्था विभागका महानिर्देशक डा.नारायण ढकालका अनुसार जथाभाबी रुपमा एन्टीबायोटिकको प्रयोग वर्तमान समयमा गम्भीर समस्याका रुपमा देखा परेको छ । उनका अनुसार जथाभाबी रुपमा एन्टीबायोटिकको प्रयोगलाई हटाउनका लागि विभागले गम्भीर रुपमा काम गरिरहेको छ ।
विभागले एन्टीबायोटिकको प्रयोगलाई तीन तहमा वर्गीकरण गरेको छ । जसमध्ये कुनै पनि औषधि चिकित्सकले सिफारिस नगरेसम्म खान मिल्दैन ।चिकित्सकले पहिलो वगीृकरणले काम नगरेपछि मात्रै दोस्रो वर्गीकरणको सिफारिस गर्ने व्यवस्था रहेको छ । दोस्रोले पनि काम नगरेको अवस्थामा मात्रै तेस्रो औषधि सिफारिस गर्ने व्यवस्था रहेको छ ।
घाँटी ,निमोनिया,पिसाबबाट हुने संक्रमणको अवस्थामा एन्टीबायोटिकको प्रयोग गर्ने प्रचलन रहेको छ । त्यसमा पनि संक्रमणको किसिम र अवस्था हेरेर चिकित्सकले एन्टीबायोटिक प्रयोगका लागि सिफारिस गर्न पाउने कानुनी व्यवस्था रहेको ढकालको भनाइ छ ।
के हो एन्टीबायोटिक रेसिस्टेन्स ?
ब्याक्टेरियाहरूको संक्रमण रोक्न प्रयोग गरिने औषधिलाई एन्टिबायोटिक भनिन्छ । औषधि प्रयोग गर्दा पनि ब्याक्टेरियामा आएको परिवर्तनको कारणले औषधिको असर नदेखिए त्यस्तो अवस्थालाई एन्टिबायोटिक रेसिस्टेन्स भनिन्छ ।
रेसिस्टेन्ट ब्याक्टेरियाले संक्रमण गरेमा सामान्य अवस्थाभन्दा कडा एन्टिबायोटिक आवश्यक पर्ने, लामो समय अस्पताल बस्नु पर्ने र मृत्युदर पनि बढ्ने हुन्छ । एन्टिबायोटिक रेसिस्टेन्स विश्व स्वास्थ्य, खाद्य सुरक्षा र विकासको निम्ति ठूलो चुनौतीको रुपमा देखा परेको छ ।
क्षयरोग, निमोनिया, टाइफाइड लगायतका संक्रमणलाई एन्टिबायोटिक रेसिस्टेन्सको कारण उपचार गर्न कठिन हुँदै गइरहेको छ ।
यसकारण बढ्दैछ एन्टिबायोटिक रेसिस्टेन्स ?
लामो समयको अन्तरालमा ब्याक्टेरिया एन्टिबायोटिकबाट बँच्न आफै रुप परिवर्तन गर्छ । एन्टिबायोटिकको अनुचित प्रयोगले यो प्रक्रियालाई थप सहयोग गर्छ र रेसिस्टेन्सको विकास चाँडो हुने गर्छ । एन्टिबायोटिकको प्रयोगमा निम्न तीन कुरामा ध्यान नपु¥याउँदा रेसिस्टेन्स चाँडो बढ्छ :
– एन्टिबायोटिक प्रयोग गर्नु नपर्ने रोगहरूमा पनि त्यसको प्रयोग गरिएमा ।
–एन्टिबायोटिकको पुरै कोर्स प्रयोग नगरेमा ।
–रोग र ब्याक्टेरिया अनुसार उपयुक्त एन्टिबायोटिक प्रयोग नगरेमा ।
हाम्रो जस्तै अविकसित देशहरूका मानिसमा शिक्षा तथा जनचेतनाको कमी र स्वास्थ्य संस्थामा सबै नागरिकको पहुँच पुगेको छैन । त्यसको कारणले जताभावी एन्टिबायोटिक किनेर प्रयोग गर्दा रेसिस्टेन्सको क्रम बढ्दो छ ।