नेपाल प्रहरी अस्पतालकी निर्देशक आशा सिंह वर्दिवाला डाक्टर हुन्।जुन समय एमबीबीएसको अध्यन पुरा गरेर उनी काठमाडौं आइन् । त्यति बेला नै उनी स्त्री तथा प्रसूती रोग विशेषज्ञ भइ सकेकी थिईन् ।
त्यतिबेला नाम चलेका सरकारी अस्पतालहरुमा परोपकार प्रसूती तथा स्त्री रोग अस्पताल,थापाथली तथा त्रिवि शिक्षण अस्पताल थियो । उनी भन्छिन् , काठमाडौं आएलगतै मैले त्रिवि शिक्षण अस्पतालमा काम गर्न सुरु गरें । त्यहाँ काम गरेको ५ – महिनामात्रै भएको थियो । नेपाल प्रहरी अस्पतालमा डाक्टरहरुको मागसहितको भ्याकेन्सी खुल्यो ।
तर त्यति बेला नेपाल प्रहरी अस्पतालमा गाइनो विभाग नै थिएन । मेरो एकजना साथी यही अस्पतालमा काम गर्नुहुन्थ्र्यो। मैले उहाँबाट नै नेपाल प्रहरी अस्पतालबारे धेरै कुरा थाहा पाए र मेडिकल अफिसर पदका लागि दरखास्त दिए ।
गाइनो विभाग नै नभएको नेपाल प्रहरी अस्पताल उक्त विभाग स्थापना गरेर चलाउनु मेरो लागि चुनौती नै बन्यो । विभाग स्थापना गरेर चलाउन म धेरै इच्छुक भए पनि त्यो मेरा लागि चुनौती समेत थियो । पितृसतात्मक नेपाली समाजमा महिलाको नेतृत्वमाथि प्रश्न उठाउने गरिन्छ ।
महिलालाई कुनै पनि क्षेत्रको नेतृत्वका गर्नका लागि चुनौती अवश्य नै छ । पहिलो चुनौती घरबाट नै सुरु हुन्छ । शारीरिक रुपमा पनि नेतृत्व तहसम्म पुग्नका लागि चुनौती छन् । जस्तै बिहे गर्नू, बच्चा जन्माउनु तथा घरपरिवारको रेखदेख गर्नुपर्ने लगायतका कुराहरुले नेतृत्व तहमा पुगेका महिलाहरुलाई चुनौती दिएकै छन् । यदि महिलालाई जस्तै घरायसी तथा घरबाहिरका काम पुरुषलाई दिने हो भने पुरुषले दुवै भूमिका निभाउन सक्दैनन् भन्ने मलाई लाग्छ ।
कुनै पनि संस्था समाजकै एक झलक नै त हो । नेतृत्व तहमा पुगेपनि महिलालाई अटेर गर्ने प्रवृति अझै पनि समाजमा छ । कुनै पनि संस्थामा काम गर्ने संख्या पुरुषकै बढी हुन्छ । उनीहरुले महिलालाई भन्दा पनि पुरुषलाई नै साथ दिने गर्छन् ,जुन एक स्वभाविक प्रक्रिया पनि हो । बहुसंख्यक मात्रामा रहेका पुरुष सहकर्मीसँग काम गर्नुपर्दो महिलालाई चुनौती थपिन्छ नै । राम्रो काम गरेपनि महिलालाई वाहवाही नगर्ने तथा पुरुषलाई वाहवाही गर्ने चलन हाम्रो समाजमा छ ।
नेतृत्व तहमा महिला देख्दा पुरुषहरुले यहाँ त पुरुष नै हुनपर्ने भन्ने सोचाइ राख्छन् । त्यसलाई सामाजिक रिफ्लेक्सन भनिन्छ । किनभने बहुसंख्यक पुरुषहरुका श्रीमती गृहणीको रुपमा घरमै बसिरहेका हुन्छन् । उनीहरुले आफ्नो श्रीमती जस्तै महिलालाई हाकिमका रुपमा सजिलै लिन सक्दैनन् । त्यसलाई एउटा चुनौती कै रुपमा लिन सकिन्छ ।
मधेसी समाजमा जन्मे हुर्केकी उनलाई नेपाल प्रहरी अस्पतालको नेतृत्व तहसम्म आइपुग्न धेरै नै चुनौती खेप्नुप¥यो । उनको घरमा पटक पटक बिहेको कुरा चल्यो । पहिलोचोटि बिहेको कुरा चल्दा आशा एसएलसी दिँदै थिइन्।आमाले पटक पटक बिहेको कुरा गरे पनि बुबाले अडानका कारण आज म यो ठाउँमा छु उनले भनिन् ।
छोरीको बिहेलाई लिएर आमाको छटपटी पनि स्वभाविक नै थियो । मधेसी समाजमा जति धेरै छोरीलाई पढायो दाइजोमा पनि त्यति धेरै नै दिनुपर्ने हुन्छ । पढाइमा अब्बल आशाले अमृत साइन्स क्यामपसबाट आइएस्सी पास गरिन्। डाक्टरी पढ्न छात्रवृत्तिमा दिल्ली जाने भइन्।
आइएस्सी पास गरेपछि पनि मेरो बिहेको कुरा चलेको थियो। तर, म कसैको कुरा नसुनी डाक्टरी पढ्न गएँ। बुबाको रहर मलाई डाक्टर बनाउनु थियो, आशाले भनिन्।एमबिबिएस तेस्रो वर्ष पढ्दै गर्दा आशाको बिहे भयो। त्यसपछि पनि उनको पढाइ रोकिएन। उनको परिवारमा सासू ससूराले पनि आफ्ना छोरीहरुलाई पढाएका थिए । उनका श्रीमान् रमेशप्रसाद सिंह हाडजोर्नी डाक्टर हुन्।
नेपाल प्रहरी अस्पतालमा उनी सुत्केरी गराउनेदेखि महिलाका जटिल उपचारमा संलग्न हुने गरेकी छिन् ।विगतका तुलनामा महिलाहरूले अधिकार पाएका छन्, तर त्यो पर्याप्त छैन। पहाडको तुलनामा मधेसका महिला पछाडि पारिएका छन्, समग्रमा भन्ने हो भने महिलाहरू पछाडि नै छन्, उनले भनिन्,महिलाहरू आर्थिक रूपले सम्पन्न भए मात्र समाज परिवर्तन हुन सक्छ । अझै पनि महिलालाई लैंगिक विभेद गरिन्छ। पूर्वाग्रही ढंगले मूल्यांकन हुन्छ। यसमा हामीजस्ता महिला सचेत हुनुपर्छ ।