केही दिनदेखि देशैभरि तापक्रम कम हुँदै गएको र तुँवालो लागेको जल तथा मौसम विज्ञान विभागका मौसमविद्हरूले बताएका छन्।
चिकित्सकहरूका अनुसार जाडो महिनामा जन्मिएका बच्चा र सुत्केरी आमाहरूको स्वास्थ्यमा पनि विशेष ध्यान दिनुपर्ने हुन्छ।
नवजात शिशुहरूलाई पनि इन्फ्लूएन्जा हुन सक्ने बताउँछन् काठमाण्डूस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका उपनिर्देशक डा. श्रीप्रसाद अधिकारी।
"आमाको कोखमा ३७ डिग्री सेल्सीअसको तापक्रममा रहेको बच्चालाई जन्मिएपछि चिसोले सताउन सक्छ। बच्चालाई चिसोबाट बचाउन नसक्दा कतिपय अवस्थामा मृत्यु पनि हुन सक्छ। त्यसैले विशेष सतर्कता अपनाउनुपर्छ," उनले भने।
"जाडोका बेला विशेषगरी फ्लू लगाउने भाइरस सक्रिय हुने भएकाले आमा र बच्चालाई त्यसबाट बचाउनु आवश्यक हुन्छ।"
उनले इन्फ्लूएन्जा भाइरसबाट बच्नका लागि खोप लगाउन सकिने बताए।
"नेपाल सरकारले खोपको राष्ट्रिय गाइडलाइनमा नराखेको भए पनि इन्फ्लूएन्जाको खोप उपलब्ध भएकाले विशेषगरी जोखिम समूहका व्यक्तिहरूले लगाउँदा उपयुक्त हुन्छ," उनले भने।
आँखामा सङ्क्रमण
जाडो मौसममा आँखामा पनि विभिन्न खाले सङ्क्रमण हुनसक्ने चिकित्सकहरू बताउँछन्।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जकी सहप्राध्यापक तथा आँखा रोग विशेषज्ञ डा. रञ्जु खरेल सिटौलाका अनुसार जाडोका बेलामा विशेषगरी आँखा सुक्खा हुने, आँखा पाक्ने र आँसु बगिरहने जस्ता समस्या देखा पर्न सक्छन्।
त्यस्तै चस्माको साटो लेन्स लगाउनेलाई जाडो मौसममा असहज हुन सक्छ।
जाडो र वायु प्रदूषण बढेका बेला प्रदूषणको असरका कारण आँखामा गम्भीरखाले असर पनि देखिन सक्ने भएकाले सतर्कता अपनाउनुपर्ने उनको सुझाव छ।
उनले भनिन्, "जाडोमा हामी जीउलाई तातो राख्नका लागि घरैभित्र बस्छौँ र झ्यालढोका लगाएर हीटर बालेर बस्छौँ त्यसले गर्दा घरभित्र सुक्खा अवस्था बन्छ। त्यस कारण हाम्रो आँखा सुक्खा बन्छ।"
"घरबाहिर निस्कँदा पनि मानिसहरूले जाडो महिनामा सनग्लास लगाउने गर्दैनन् तर घाम बादलभित्र भए पनि त्यसको खराब विकिरण आइरहेको हुन्छ। त्यसैले सनग्लास लगाउनु उपयुक्त हुन्छ।"
वातावरण तथा मौसमविद्हरूका अनुसार अहिले नेपालका विभिन्न भेगमा भारततर्फबाट आएको प्रदूषण भित्रिएको अवस्था छ।
यस्तो बेलामा आँखा पाक्ने लगायतका सङ्क्रमण पनि हुन सक्ने उनी बताउँछिन्।
सहप्राध्यापक सिटौलाका अनुसार जाडोमा श्वासप्रश्वासमा सङ्क्रमण गराउने एडिनोभाइरस निकै सक्रिय हुने गर्छ।
उक्त भाइरसले श्वासप्रश्वासमा मात्र होइन आँखा र नाकमा पनि सङ्क्रमण गराउन सक्छ।
उनले भनिन्, "उक्त भाइरसले सतायो भने रुघाखोकी लाग्नुअघि वा लागेपछि आँखा पाक्ने हुन्छ। यो भाइरसले आँखा पाक्यो भने कचेरा बाक्लो नभई पातलो खालको लाग्छ। यो एकदमै चाँडै सर्ने खालको भएकाले एउटा आँखाबाट अर्कोमा सरिहाल्छ। त्यस्तै एक व्यक्तिबाट अर्कोमा पनि चाँडै सर्न सक्छ।"
जाडोमा आँखा पाकेमा वा रुघाखोकी लाग्दा पनि खोक्दा वा हाछ्युँ गरेपछि हातले आँखा नछुन उनी सुझाव दिन्छिन्।
उनी आँखालाई सुक्खा हुनबाट बचाउनका लागि जाडोमा घरभित्र बस्दा हीटर बाले पनि झ्यालढोका पूरै बन्द नगर्न सुझाव दिन्छिन्।
त्यस्तै हीटरमा आँखाले सीधा नहेर्ने, पानी प्रशस्त पिउने, बाहिर निस्कँदा सनग्लास लगाउने लगायतका सुरक्षात्मक उपाय अपनाउन उनी सुझाव दिन्छिन्।