रजनोवृति परिचय
महिलाहरुमा किशोर अवस्थामा प्राकृतिक रुपमा महिनावारी प्रक्रियाको सुरुवात हुन्छ,विवाह पश्चात् महिनावारीको प्रक्रिया रहेसम्म महिलाहरुमा बच्चा पाउन सक्ने क्षमता भइरहन्छ ।
सामान्यतया ४५ –५० वर्षको उमेरसम्म महिलाहरुमा महिनावारीको प्रक्रिया सुक्ने गर्छ त्यो प्राकृतिक प्रक्रिया हो त्यसैले यो रोग होइन । महिलाको शरीरमा रहेको विशेष प्रकारको हर्मोनको कारणले महिलाहरुमा महिनावारी प्रक्रिया चल्ने गर्छ । जब उमेर ढल्कदैं जान्छ उनीहरुले शरीरले विशेष प्रकारको हर्मोन उत्पादन गर्ने प्रक्रिया पनि कम हुँदै जान्छ ।
हर्मोन उत्पादन नहुनाका कारण निरन्तररुपमा एक वर्षसम्म कुनै महिलामा महिनावारी भएन भने रजोनवृतिको प्रक्रिया भएको मानिन्छ । रजोनोवृति भइसकेका महिलाहरुमा बच्चा उत्पादन गर्ने प्राकृतिक क्षमता रहदैंन । तर कतिपय देशहरुमा महिनावारीको प्रक्रिया सकिएपनि महिलाहरुले बच्चा जन्माएको कुराहरु हामीले विभिन्न सञ्चार माध्यमहरुबाट सुनिरहेका छौं ।
महिनावारी सुकिसकेपछि पनि कृत्रिम रुपमा विभिन्न प्रकारका हर्मोनहरुको उत्पादन गराएर कुनै पनि महिलालाई गर्भवती बनाइनु महिलाको शरीरलाई दुरुपयोग गर्नु हो । यद्यपि यो मेरो व्यक्तिगत विचार हो यसका सबै जना सहमत हुनपर्छ भन्ने छैन ।
रजनोवृति पश्चात् आउन सक्छ समस्या
अहिलेसम्मको अध्ययन अनुसार ९८ प्रतिशत महिलाहरुले महिनावारीको चक्र अन्त्य भएपछि बच्चा पाउँदैनन् । त्यस्तै धेरै महिलाहरुलाई रजनोवृति पश्चात् खासै समस्या देखा पर्दैन ।
महिनावारीको समयमा धेरै जसो महिलाहरुलाई जीउ दुख्ने,ढाड दुख्ने,पेट दुख्ने लगायतका विभिन्न स्वास्थ्य समस्याहरु देखा पर्ने गर्छन् । रजनोवृति हुँदाको समयमा पनि कतिपय महिलाहरुलाई ढाड दुख्ने,जीउ दुख्ने,दिक्क लाग्ने जस्ता विभिन्न समस्याहरु देखा पर्ने गर्छन् । रजनोवृति पश्चात् खासै केही पनि समस्या नभएका मेरा धेरै साथीहरु छन् । म आफैलाई पनि महिनावारी सुकेपछि खासै केही समस्या नै आएन । तर कतिपय मानिसहरुलाई भने रजनोवृति पछि एकै छिनमा शरीर तातो हुने , चिसो हुने,छाला ख्रसो हुने,यौन अंगहरु एकदमै चिलाउने जस्ता समस्याहरु हुने गर्छन् जुन साधारण किसिमका समस्या हुन् । तर थौरै मानिसहरुमा भने रातभरी निन्द्रा नलाग्ने,छिनछिनमै एकदमै तातो तथा चिसो हुने जस्ता समस्याहरु देखा पर्ने गर्छन् ।
कस्तो हुनुपर्छ जीवनशैली ?
एकदमै सक्रिय जीवन भएका तथा स्वस्थकर खानेकुरा मात्रै खाने महिलाहरुमा भने यस्तो समस्या थोरै मात्र देखिएको छ । यसको उदाहरणका लागि भने हो भने अमेरिकाका ६५ प्रतिशत महिलाहरुमा रजनोवृति पछि विभिन्न स्वास्थ्य समस्याहरु देखा पर्छन् भने जापानका ६ प्रतिशत महिलाहरुमा मात्रै रजनोवृति पश्चात् स्वास्थ्य समस्या देखिने गरेको तथ्यांक छ ।
जापानी महिलाहरुको जीवन सक्रिय हुनु र उनीहरुको खानेकुरा स्वस्थ्थकर हुनु नै यसको कारण हो । यदि कुनै पनि महिलाले रजनोवृतिलाई स्वस्थकर बनाउने हो भने युवा अवस्था आफ्नो जीवनशैलीलाई स्वस्थ्यकर बनाउनु पर्ने हुन्छ । आजकाल रजोनोवृतिलाई पनि रोग ठानेर विभिन्न प्रकारको हर्मोन थेरापी दिने चलन चलेको छ त्यो स्वास्थ्यका लागि राम्रो होइन ।
म त्यसको विरोध गर्छु । रजनोवृतिको सुरुवात भएपछि यसलाई सामान्य रुपमा लिएर दैनिक कामकाजहरु गर्न सकिन्छ । रजनोवृतिपछि सौन्दर्य बिग्रने भन्दै कतिपयले विभिन्न प्रकारको हर्मोन थेरापी दिने गलत चलन पनि रहेको छ । त्यसले स्वास्थ्यमा नकारात्मक असर गरिरहेको हुन्छ ।