काठमाडौं - बच्चाहरुले राती नचाहेर पिसाब फेर्ने समस्या (नक्चुरनल एन्युरेसिस) यो उनीहरुमा देखीने सबैभन्दा प्रमुख समस्याहरु मध्ये एक हो । पाँच बर्ष माथिका बच्चाहरुले राती ओछ्यानमा र दिउँसो लुगा भिजाउने गरी हप्तामा कमसेकम दुई पटक पिसाब गर्दछन् भने यसलाई नचाहेर पिसाब गर्ने समस्या (नक्चुरनल एन्युरेसिस) भएको मानिन्छ ।
बच्चाहरुमा देखिने यो समस्याले एकातर्फ परिवार र आफन्तलाई नकारात्मक प्रभाव पार्नुका साथै बालबालिकाको आत्म बिश्वासलाई समेत कम गराउने र लजाउने जस्ता मनोबैज्ञानिक असरहरु पनि पर्न सक्छ ।
अर्कोतर्फ समाजमा यसका बारेमा ज्ञान नभएर बालबालिकाहरुको मनोबिज्ञान सँग समबन्धित बिभिन्न समस्याहरु उत्पन्न हुनसक्छ । बच्चाहरुलाई तर्साउने, धम्क्याउने तथा दण्डदिने जस्ता कृयाकलापहरुले आजिवन नबिर्सने किसिमको असर पर्नसक्छ ।
पाँचबर्ष माथिका बच्चाहरुमा १५ देखी २५ प्रतिशतमा यो समस्या देखिएको छ । बालिकाहरुको तुलनामा बालकहरुमा यो समस्या दुईगुणा बढी छ ।
यसका कारणहरुः
• जेनेटिक्स (बंशाणुगत): नचाहेर ओछ्यानमा राती पिसाब फेर्नुको कारण मध्ये बंशाणुगत कारण प्रथम स्थानमा आँउदछ । आमा बाबुको बाल्य अवस्थामा यो समस्या थियो भने बच्चाहरुमा यो समस्या हुने संभावना ५० देखी ७७ प्रतिशत निश्चित हुन्छ ।
• साइकोलोजिकल (मनोबैज्ञानिक): शौचालय शिक्षा (दिसा पिसाव गर्ने आदत बारे बालबालिकालाई शिक्षित गर्ने ) समयभन्दा पहिले शुरु गर्नु , यसबारे कडा नियमहरु लगाउनु , घरमा नयाँ बच्चाको जन्म तथा आगमन हुनु , नयाँ घर सर्नु , धेरै मायाँ गर्नु , धेरै हेला र घृणा गर्नु लगायतका कारणहरुले यो समस्या उत्पन्न गर्न सक्छ ।
• सुत्ने समस्याहरु : मानसिक बिकास उचित रुपमा नभएको कारणले बच्चाहरु गहिरो निन्द्रामा सुत्ने भएकाले पनि यो समस्या देखा पर्दछ ।
• पिसाबको थैलीको समस्या : पिसाब जम्माहुने थैलीको क्षमता कम भएको खण्डमा पनि यो समस्या देखा पर्दछ ।
• पिसाबको संक्रमण, परजिबीहरुको संक्रमण, स्नायु समबन्धि (न्युरोलोजिकल) समस्याहरु, स्वास प्रश्वासमा अवरोध लगायतका बिभिन्न कारणले गर्दापनि यो समस्या देखा पर्दछ ।
• खानपिनको कारण : राती धेरै खाना खाने तथा पानी पिउने बच्चाहरुमा पनि यव समस्या देखिन्छ ।
उपचार
यसको उपचारमा सबैभन्दा महत्वपूर्ण कुरो लाज र डरको अनुभूतिलाई कम गराउने, परिवार तथा नजिकका आफन्तहरुले बच्चाहरुसँग आफ्ना अनुभवहरु सुनाउने, बच्चालाई ढाडस दिने र उनीहरुको आत्मबल बढाइदिने लगायतका कामहरु गर्नुपर्ने हुन्छ ।
• बानिजन्य उत्प्रेरणा (बिहेभियरल मोटिभेसन) : बच्चालाई जहिलेपनि सकारात्मक प्रतिकृया दिनुपर्छ । बच्चा राती सुत्नु अघि र सुतसुकेको दुइघण्टापछि पिसाब फेराउने । बिहान स्कुल जानुअघि, स्कुलमा र स्कुलबाट फर्केपछि फेरन लगाउनुपर्छ ।
बच्चाको साँझको खाना र खनापछि पानी कम पिउन दिनुपर्छ । चिया कफी र क्याफिनयुक्त खानेकुराहरु बढी नुन बढी चिनी भएका खानेकुराहरु खान दिनु हुँदैन । कब्जियतको समस्या छ भने त्यसको निदान तथा उपचार गर्नुपर्छ ।
धेरै समय टिभि तथा कम्प्युटरमा बसेर खेल्न दिनु हुँदैन । पिसाब गर्दा बच्चाहरुको गोडाले भुँइमा छोएको हुनुपर्छ । राति पिसाब फेर्न जाँदा सजिलो बनाइदिनका लागि बत्ति चप्पत लगायतका ब्यवस्था गरिदिनुपर्छ ।
घरमा पारिवारिक कलह बच्चाको अगाडी नगर्ने ठूलो स्वरमा बोल्नु हुँदैन । पिसाब फेरेकै कारण बच्चालाई दोष लगाउनु हुँदैन । बच्चालाई सजाय दिनु हुँदैन । यसो गर्दा उसको समस्या थप बिग्रेर जान सक्दछ ।
टिभिको भोल्युम कम गर्नु पर्दछ । बच्चालाई उमेर। अनुसारको फिल्म हेर्न दिनु पर्दछ । बच्चा घरमा हुँदा हरर मुभि तथा बार मुभि हेर्नु हुँदैन । राति पिसाब गरेमा पानी परेको फोटो वा स्टिकर भित्ताम टाँसिदिने र पिसाब नफेरेमा घमाइलो दिन वा स्माइलिङ फेसको स्टिकर हरेकदिन टाँसिदिनुपर्छ । पिसाब फेरेको ओछ्यानलाई सर सफाइ गर्न बच्चालाई पनि सहभागि गराउदा उसलाई राम्रो अनुभुति हुन्छ ।
• अलार्म उपचार: पिसाब फेर्नु भन्दा पहिले अलार्म बजाउने बिधिबाट पनि उपचार गर्न सकिन्छ ।
• पिसाबलाई नियन्त्रण गर्ने बिभिन्न अभ्यासहरुबाट पनि उपचार गराउन सकिन्छ ।
यि बिधिहरु अपनाएमा यस रोगको निदान हुने संभावना ७० प्रतिशत भन्दा बढी रहेको छ । यदि यि बिधिहरु अपनाउँदा पनि समाधान भएनभने मेडिकल उपचारकालागि बालरोग बिशेषज्ञसँग सल्लाह गर्नुपर्ने हुन्छ ।
बच्चाले नचाहेर पनि राति पिसाब फेर्नु कुनै दोष हैन यो साधारण समस्या हो जसलाई बच्चा परिवार समाज र परेमा डाक्टर समेत मिलेर समाधान गर्न सकिन्छ ।
(बालरोग बिशेषज्ञ डा. साह टर्कीको आंकारा स्थित लोकमान हेकिम अस्पतालको बालरोग बिभाग प्रमुख हुन।)