मुटुको रोगको उपचारमा डा अनिल भट्टराई एक परिचित नाम हो । उनले नेपालको मुटुरोगसम्बन्धी उपचारमा योगदान दिन थालेको २ दशक भयो । उनले धेरै नेपाली नागरिकलाई नयाँ जिवन प्रदान गरिसकेका छन् । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भट्टराईको नजरमा अझै सम्म नेपालका बालबालिका मुटु सम्बन्धी उपचारबाट बञ्चित छन् ।
नेपालमा ३० वटा मुटु सेन्टर हुनु पर्नेमा अहिलेसम्म मात्रै ४ वटा सेन्टर छन्, त्यो पनि सहरी क्षेत्र केन्द्रीत । नेपालमा बाल मुटु रोगको अवस्था,उपचार, मुटु रोगसम्बन्धी समस्या लगायतका विषयमा केन्द्रित भएर वरिष्ठ डा. भट्टराईसँगको अन्तवार्ताः
नेपालमा बाल मुटुरोगीहरुको अवस्था कस्तो छ ?
संसार भरि करिब १ प्रतिशत बालबालिकामा मुटु रोग हुने गरेको छ । नेपालमा पनि करिब १ प्रतिशत बालबालिकाहरुमा मुटु रोग रहेको तथ्यांक छ । बाल मुटु रोगको विभिन्न प्रकारमध्ये बाथ मुटु रोग धेरै बालबालिकाहरुमा हुने गरेको रोग हो। विशेषगरी ५ देखि १५ वर्षका बालबालिकामा बाथ मुटु रोग लाग्ने गर्छ । बाल मुटु रोगलाई दुई भागमा वर्गीकरण गर्न सकिन्छ । जन्मजात हुने मुटु रोग,पछि हुने मुटु रोग ।
जन्मजात रुपमा बालबालिकामा मुटु रोग देखिने कारणहरु के – के हुन् ?
जन्मजात मुटुमा समस्या देखिनुमा एउटा वंशाणुगत कारण भए । वंशाणुगत भन्नाले कुनै पनि परिवारमा मुटु रोग लागेको थियो त्यो परिवारबाट जन्मिने बच्चाहरुमा मुटुमा प्वाल पर्ने,मुटुको नसाहरु उल्टो बस्नु ,कडा भन्दा कडा खालका मुटुरोग लाग्न सक्ने सम्भावना हुन्छ । गर्भवती महिलालाई कुनै ठूलो रोग लाग्यो, कडा औषधि सेवन गर्नुप¥यो, गर्भावस्थामा सन्तुलित भोजनको कमी, धुम्रपान, मध्यपान गर्ने आमाहरुबाट जन्मने बच्चाहरुमा जन्मजात मुटुको समस्या देखिनसक्छ । ३५ वर्ष उमेरभन्दा माथिका महिलाहरुले बच्चा जन्माएको खण्डमा डाउन सिन्ड्रोम भएको बच्चा जन्मन सक्ने सम्भावना रहन्छ ।
मुटु हाम्रो शरीरमा एउटा मात्रै भएको अंग हो जसमा हाम्रो जीवन निर्भर छ । मुटु स्वास्थ्य नभएसम्म जिन्दगी स्वास्थ र खुशी हुन सक्दैन । त्यसैले त्यो कुरा पाउनको लागि नियमित व्यायम गर्ने, मोटोपन घटाउने, ३५ वर्ष भन्दा माथिको मान्छेले नियमित मुटुरोग विशेषज्ञसँग सल्लाह लिनुभयो भने तपाईको मुटु स्वस्थ रहन्छ ।
जन्मजात रुपमा मुटु रोग लागेका बालबालिकाहरु उपचार पश्चात् पूर्ण रुपमा निको हुन सक्छन् कि सक्दैनन् ?
जन्मजात रुपमा लाग्ने मुटु रोग सामान्यदेखी कडा सम्म हुन्छ । जन्मजात रुपमा मुटु हुने प्वाल ,पिडिए भएका बालबालिकाहरु उपचार पश्चात् पूर्ण रुपमा निको हुन सक्छन् । भने कडा खालका मुटु रोग भएका बालबालिकाहरु भने पूर्ण रुपमा निको हुने सम्भावना न्युन हुन्छ । कतिपयको एक पटक भन्दा बढी शल्यक्रिया गर्नुपर्ने पनि हुन सक्छ । यसो गर्दो हरेक पटकको आथिक भार परिवारलाई पर्ने जान्छ । कडा खालका मुटु रोगका बालबालिकाहरु सामान्य मानिस हुनसक्छन् भनी शत प्रतिशत ढुक्कको अवस्था भने रहदैंन ।
के नेपालमा मुटुसम्बन्धी सबै प्रकारको उपचार सम्भव छ ?
९० देखि ९५ प्रतिशत मुटु रोगहरुको उपचार नेपालमै सम्भव छ । नेपालमा नहुनेमा मुटुको मांशपेसी कमजोर अथवा बुझ्ने भाषामा भन्नुपर्दा मुटुले फेल खायो भने त्यस्तोमा गर्न सकिने भनेको कृत्रिम मुटु राख्न सकिन्छ । त्यो उपचार भारतमा सम्भव छ । त्यो बाहेक मान्छेको मुटुनै फेर्ने यो दुई वटा प्रविधि नेपालमा छैन ।
अन्य सबै मुटुसम्बन्धी उपचारहरु नेपालमै हुँदै आइरहेका छन् । किन भने एउटा कृत्रिम मुटुको कम्तिमा पनि ३० देखि ४० लाख पर्छ । तर त्यो सधैभरी राख्न पनि मिल्दैन । एक दिन प्रत्यारोपण गर्नु नै पर्ने हुन्छ । अहिलेसम्म नेपालमा मुटुको प्रत्यारोपण कानुनी प्रावाधानहरु स्पष्ट रुपमा आइसकेका छैनन् । कानुन स्पष्ट भएको खण्डमा यो काम नेपालमा गर्नलाई गाह्रो छैन ।
बालबालिकामा मुटु रोगको पहिचान कसरी गर्ने ?
सामान्य प्रकारका मुटु रोगहरुको लक्षण नै देखा नपर्न सक्छन् । जन्मजात रुपमा नै मुटु रोग भएका बालबालिकाहरुको उमेर अनुसार तौल नबढ्ने,शरीरका विभिन्न अगंहरु निलो हुने,राम्रोसँग खाना खान नसक्ने तथा आमाको दूध राम्रोसँग चुस्न नसक्ने,रुघाखोकी धेरै लागिरहने जस्ता लक्षणहरु देखिएमा मुटु रोग लागेको पहिचान हुन्छ ।
त्यस्तै मुटुमा प्वाल परेको अवस्थामा मुटुको ढुकढुकी थाहा हुने,स्वाँ–स्वाँ हुने, थोरै काम गर्दो पनि धेरै थकाईको महसुस हुने जस्ता समस्याहरु पनि देखिने गर्छन । कालान्तरमा हृदयघात गराउने मुटु रोग भएमा भने छातीको देब्रे भागमा दुखिरहने गर्छ । हृदयघात नै हुने अवस्थामा भने छातीको देब्रे भागमा असहय पीडा हुने तथा वाकवाकी हुने जस्ता समस्याहरु देखा पर्ने गर्छन् ।