-डा कृष्ण झा
काठमाण्डौ - चिसोमा छालामा विभिन्न किसिमका समस्याहरु हुने गर्दछ । त्यसमध्ये कत्ले रोग वा सोरायसिस एक समस्या हो ।
छालाबाट सेतो पाप्राहरु निस्कने छाला रातो हुने चिलाउने भएकाले यसलाई कत्ले रोग भनिन्छ । प्रायजसो हात खुट्टा, घुडाँ, कुहिना टाउकोको छाला बाक्लो भएर सेतो पाप्राहरु निस्केर जाने गर्दछ ।
यो बंशानुगत कारणले पनि हुने गर्दछ । बंशानुगत कारणले हुने कत्ले रोगमा जिनमानै (gene) समस्या भइसकेको हुन्छ र त्यस्ता व्यक्ति वातावरणको सम्पर्कमा आईसकेपछि समस्या बढ्न सक्छ । मोटोपना, अत्याधिक धुम्रपान मद्यपान गरेमा र कुनै रोगको औषधि सेवन गरिरहेको भएमा पनि यो समस्या बढ्न सक्छ ।
यो दिर्घकालीन रोग हो । उपचार गरेर केहि समय निको भएपनि पछि गएर फेरी आइरहने सम्भावना रहन्छ । यो मौसम अनुसार बढ्ने गर्छ । जस्तै चिसो महिना यो समस्या बढ्ने गर्दछ । यसले छालामा ठुलो हानी पुर्याउँदैन ।
यसका लक्षणहरु :
यो रोगले मानिसको शरिरको छाला अत्यधिक चिलाउने हुन्छ ।
छाला अत्यधिक सुख्खा भई चिरा पर्ने गर्दछ ।
छालाको पत्र गइरहने गर्दछ ।
उपचार :
सोरायसिस रोगले छाला सुख्खा बनाइराख्ने भएकाले चिकित्सकले दिएको मलमहरु प्रयोग गर्नुपर्दछ । यसले छालालाई चिल्लो बनाइराख्न मद्धत गर्छ । साथै नरिवलको तेल प्रयोग गर्नुपर्दछ ।
सोरायसिस रोग शरीरभरी फैलिएमा मलमका साथै खाने औषधिको पनि प्रयोग गर्नुपर्छ ।
मोटोपना, धुम्रपान र मद्यपान नियन्त्रणमा राख्ने ।
कसैलाई बंशानुगत कारणले यो समस्या भएको छ भने मोटोपनलाई नियन्त्रणमा नराखे रोग बढ्न सक्छ । त्यसैले खानेकुरा खाँदा ध्यान दिनुपर्छ ।
(छाला रोग बिशेषज्ञ डा.कृष्ण झा विराट मेडिकल कलेजमा कार्यरत छन् )