काठमाडौं- विश्वको कुनै विकसित देशमा भएको भए डा.राजेन्द्र ज्ञवाली यतिन्जेल ‘सेलिब्रिटी’ भइसक्थे । तर, नेपालजस्तो मुलुकमा न उनको चर्चा भयो, न कामको खोजीनिती । नेपाल सरकारले उनलाई यस वर्षको बिज्ञान पुरस्कार प्रदान ग¥यो ।
एक कार्यक्रममा उनी पुरस्कृत भए । यत्तिमै सकियो । उनको खोज उपयोगी भएको राज्यले स्वीकार्दा पनि जनमानस भने उनको खोजबारे अनभिज्ञ रह्यो । कारण, नेपालीले पनि वैज्ञानिक अनुसन्धान गर्छन् तर त्यसको उपयोग गर्ने बलियो संयन्त्र न राज्यसँग छ, न त निजी क्षेत्र नै त्यो हैसियतमा पुगेको छ ।
के खोजे उनले ?
नेपाल सरकारले उनलाई क्यान्सर हुने सम्भावना न्यूनीकरण गर्ने नेपाली जडीबुटीद्वारा निर्मित औषधि पत्ता लगाएबापत यस वर्षको विज्ञान पुरस्कार प्रदान गरेको हो । उनले नेपाली जनसमाजमै परम्परागत रुपमा प्रयोग हुँदै आएका जडीबुटीको अनुुसन्धान गरेका थिए । उक्त जडीबुटीले रोग निको पार्ने वैज्ञानिक कारणसहित त्यसलाई उपयोग गर्न सकिने नयाँ तरिका पनि उनले पहिचान गरेका छन् ।
विभिन्न जडीबुटीमाथि अनुसन्धान गरेर उनीहरुको प्रयोगबाट क्यान्सर रोग नियन्त्रण गर्न सकिने प्रमाणित गरेका छन् । उनको अनुसन्धानमा आँप ( फल)को बोक्रा (जुस बनाउँदा खेर जाने कुरा)बाट पाठेघरको मुखको क्यान्सर र ग्यास्ट्रिकका कारण हुने पेटको क्यान्सर निको हुनसक्ने तरिका भेटिएको छ । यस्तो जडीबुटीजन्य औषधिले शरीरका कोषिकाभित्र प्रवेश गरेपछि कुन ठाउँमा पुगेर कस्तो जीव–रासायनिक प्रतिक्रिया गर्दा क्यान्सर नियन्त्रण हुने रहेछ भन्ने पत्ता लागेको उनले बताएका छन् ।
यसैगरी, सुन्तलाको बोक्राबाट पनि पाठेघर र पेटको क्यान्सर रोक्ने औषधि बनाउने सकिने उनको अनुसन्धानको निष्कर्ष छ । नेपालको दामन क्षेत्रमा पाइने भैँस भनिने विरुवालाई प्रयोगशालामा जाँच गर्दा यो समेत क्यान्सर रोग निको पार्नका लागि उपयोगी देखिएको छ ।
यी विभिन्न वनस्पतिको रासायनिक तत्वले कसरी क्यान्सर रोक्न भूमिका खेल्छन् भन्ने विषयमा उनले विस्तृत अनुसन्धान गरेका छन् । ‘क्यान्सर भएपछि क्यान्सरका सेल वृद्धि हुन नदिन यी जडीबुटीको रसायनको भूमिका देखिएको छ, यो औषधि आविष्कार गर्ने प्रक्रियाको प्रारम्भिक आधार पूरा भएको अवस्था हो,’ उनले भने ।
हरियो चिया, जौ र अनारको बोक्राको निश्चित मात्राको समिश्रणले स्तन क्यान्सर नियन्त्रण गर्ने उनको अनुसन्धानबाट प्रमाणित भएको छ । यसलाई चियाका रुपमा सेवन गर्न सकिने औषधि पनि तुरुन्तै उत्पादन गर्न सकिने उनी सुनाउँछन् । उनले पुरस्कार पाएको पनि यही खोजबाट हो ।
क्यान्सर नियन्त्रणका लागि गरिएको खोजबाट पुरस्कृत भए पनि अन्य रोगमा समेत उनले अनुसन्धान गरेका छन् । दुधेझारलाई रक्त क्यान्सर (ल्युकेमिया) निको पार्न प्रयोग गर्न सकिने पनि उनले पत्ता लगाएका छन् । सिप्लीगान, निम र जिनेसेनको समिश्रणबाट बनाइएको औषधिले मधुमेह नियन्त्रणका लागि प्रभावकारी भूमिका खेलेको उनले बताए । जामुनको दाना, गुणमार र सिस्नोको पातको निश्चित मात्राको मिसावटबाट पनि मधुमेहका बिरामीलाई लाभ पुग्ने उनको अनुसन्धानले पुष्टि गरेको छ ।
अम्बाको पातलाई परम्परागत रुपमै ‘एन्टी–डाइबेटिक’ भनिन्छ । यसमा गरिएको वैज्ञानिक अनुसन्धानको नतिजा पनि सन्तोषजनक आएको उनले बताए । परम्परागत रुपमा घाउ, खटिरा, चोटपटक आदिमा प्रयोग हुँदै आएका १२ वटा जडीबुटीको प्रारम्भिक मूल्यांकन गरी औषधिजन्य तीनवटा छनोट गरेर मलहम आविष्कार गरेर त्यसको सफल परीक्षण भइसकेको उनको भनाइ छ । काफल, कोइरालो र गुराँसको बोक्राबाट मल्हम बनाउन सकिन्छ । ‘हामीले मुसामा समेत परीक्षण गरेका थियौँ, बजारमा पाइने मल्हमभन्दा बढी असरदार प्रमाणित भइसकेको छ,’ उनले भने । पखाला लाग्दा प्रयोग हुने ठूलो ओखती, घसिङ्ग्रेबाट आइडेक्स मलहम, चिउरीको घिउबाट दुखाइको जडीबुटीजन्य औषधि व्यावसायिक रुपमै उत्पादन गर्न सकिने सूत्र तयार गरी प्रयोगशालामा जाँच समेत भइसकेको छ ।
जडीबुटी मोह
त्रिभुवन विश्वविद्यालयबाट वनस्पतिशास्त्रमा एमएस्सी गर्दा जडीबुटीप्रति उनको मोह पलाएको थियो । नेपालमा परम्परागत रुपमा प्रयोग हुँदै आएका जडीबुटीमाथि केही अनुसन्धान गरी पहिलोपल्ट सन् १९९८ मा उनले जर्नलमा लेख प्रकाशित गरेका थिए । त्यसपछि केही समय त्रिभुवन विश्वविद्यालयमै अध्यापन गराएका उनले सरकारी छात्रवृत्तिमा दक्षिण कोरिया गएर पिएचडी गर्ने अवसर पाए ।
त्यहाँ पनि उनको खोज भने नेपाली बनस्पतिको औषधिजन्य महत्वमाथि नै रह्यो । उनले थपे, ‘सुपरभाइजरले मेरो प्रस्ताव स्वीकारेपछि नेपाल आएर ४७ प्रकारका जडीबुटी संकलन गरेँ । त्यहाँको प्रयोगशालामा पु¥याएर त्यसको प्रभावकारिता जाँच गरियो । धेरै सकारात्मक नतिजा हासिल भए ।’
चोसुन युनिभर्सिटीमा उनले नेपाली जडीबुटीको प्रभावकारितामाथि पिएचडी गरेका हुन् । पिएचडीमा उनको शोधपत्र नै ‘वनस्पतिको औषधिजन्य गुण तथा गुणस्तर निर्धारणका लागि अपनाउन सकिने प्रविधिको खोजी’मा आधारित छ । पछिल्लो समय क्यान्सरमा जडीबुटीको असरमाथि खोज गर्न भने उनको पोस्ट डक्टरेटको पढाइले भूमिका खेलेको छ । ‘पोस्ट डक्टरेट गर्दा क्यान्सर कोषिकाहरु अध्ययन र अनुसन्धान गर्ने अवसर पाएपछि मलाई क्यान्सरमा नेपाली जडीबुटीको प्रभावकारिता खोज्न धेरै सहज भएको हो,’ उनले भने ।
हरेक रोग नियन्त्रण
लामो समयदेखि अनुसन्धानरत उनलाई लाग्छ, नेपालमा भएका जडीबुटीबाट निदान गर्न नसकिने कुनै रोग छैन । उनी भन्छन्, ‘नेपालमा पहिलेदेखि जुन रोगका लागि ती जडीबुटीको प्रयोग भइरहेको छ, त्यसैमा प्रभावकारिता जाँच्दा नतिजा सकारात्मक प्राप्त भएको छ । यसमा म भाग्यमानी भएर होइन, नेपाली वनस्पति नै रोगको निदानका लागि उपयोगी छन् ।’
नेपाली उद्योगहरु अगाडि बढ्न चाहेका खण्डमा नेपालमै थुप्रै प्रकारका औषधि बनाउन सकिने सम्भावना उनले औँल्याएका छन् । नेपालमा आयुर्वेदिक औषधिको खपत र उत्पादन हेर्ने हो भने पनि उनी ठूलो सम्भावना देख्छन् । ‘अहिले नेपालका आयुर्वेदिक उद्योगले कुल मागमध्ये १५ प्रतिशत औषधि मात्रै पूरा गर्न सकेका छन् । नेपालका ८५ प्रतिशत जडीबुटी भने कच्चा रुपमै विदेश निर्यात भइरहेका छन् ।’
नेपालमै औषधि उत्पादन गर्न सकिने सम्भावना उनले देखेका छन् । उनले भने, ‘यसका लागि नेपालका औषधि उद्योग अघि सर्नुपर्छ, हामी सहयोग गर्न तयार छौँ ।’ उनले नेपाली वनस्पतिमा रहेको औषधीय गुणको प्रचारप्रसार र व्यापार विस्तारको अझै अभाव रहेको समेत औँल्याए ।
अन्तर्राष्ट्रिय स्तरमा यसको महत्व दर्शाउन सकियो भने नेपालको वनस्पति क्षेत्रका महत्व अझै बढ्ने उनले देखेका छन् । उनी भन्छन्, ‘हिमालयन जडीबुटीको प्रयोग गरेर हरेक रोगको निदान गर्न सकिन्छ भन्ने कुरामा म विश्वस्त भइसकेको छु ।’ पहिल्यैदेखि उपचारको अभ्यास भइसकेकाले पनि अनुसन्धान गरी औषधीय गुण पत्ता लगाउन सहज रहेको उनको भनाइ छ ।
गुणस्तरको सूत्र
जडीबुटीको अन्तर्राष्ट्रिय बजार विस्तारका लागि गुणस्तरमा प्रश्न उठ्ने गरेको छ । नेपालका जडीबुटी अन्तर्राष्ट्रिय बजारमा पठाउनका लागि गुणस्तर निर्धारण गर्न सकिने उपाय पनि उनले पत्ता लगाएका छन् । जडीबुटीजन्य औषधिको गुणस्तर सुधारका लागि नयाँ प्रविधिको विकास गरेबापत उनले सन् २००८ मै टिडब्लुएएस अवार्डसमेत प्राप्त गरेका थिए । ‘जडीबुटी माटोजन्य स्रोतबाट उत्पादन हुने भएकाले त्यसमा रहेको जीवाणुको संक्रमण हुन्छ नै । त्यसैले गुणस्तरीय पनि मानिँदैन । यो पनि एउटा विकिरणबाट नियन्त्रण गर्न सकिन्छ,’ उनी भन्छन् ।
उक्त प्रयोग समेत उनले गरिसकेका छन् । जठीमधु नामक जडीबुटीमा गरिएको प्रयोगले गुणस्तरमा ब्यापक सुधार हुने उनको अनुभव छ । उनी भन्छन्, ‘एउटा विकिरणको माध्यमबाट खराब जीवाणु नष्ट गर्न सकिने र लामा समय भण्डारण गर्न सकिने प्रमाणित भइसकेको छ ।’