काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएपछि विश्वका कतिपय मुलुकहरुले दक्षिण अफ्रिकी मुलुकका नागरिकहरुलाई आवागमनमा प्रतिबन्ध लगाइसकेका छन्। बेलायतले दक्षिण अफ्रिकी मुलुकका नागरिकलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाइसकेको छ।
विश्व स्वास्थ्य संगठनले शुक्रबार दक्षिण अफ्रिकामा कोभिड - १९ को नयाँ संस्करण वर्गीकृत भएपछि खतराको घण्टी बजाएको स्विस फेडरल अफिस अफ पब्लिक हेल्थ (एफओपीएच) ले जनाएको छ।
अष्ट्रेलियाले दक्षिण अफ्रिकामा देखिएको कोरोनाभाइरसको नयाँ संस्करण भित्रिन नदिनका लागि नाकाबन्दी गर्न सक्ने जनाइसकेको छ । त्यहाँका स्वास्थ्य मन्त्री जर्ज हन्टले नयाँ संस्करणको कोरोनाभाइरसको बारेमा अध्ययन भइरहेको र विज्ञ तथा सरोकारवालाहरुको सुझावका आधारमा सिमानामा आवात जावतका बारेमा निर्णय गरिने स्पष्ट पारे।
अमेरिकाले पनि सोमबारबाट दक्षिण अफ्रिकी मुलुकका नागरिकलाई प्रवेशमा प्रतिबन्ध लगाएको छ। स्वीजरल्याण्डले समेत दक्षिण अफ्रिकी मुलकसँगको हवाई सेवा तत्कालका स्थगित गर्ने निर्णय गरेको छ। ब्राजिलले समेत दक्षिण अफ्रिकी मुलुकका नागरिकलाई आवागमनमा प्रतिबन्ध लगाएका छन्।
ओमिक्रोन भाइरस दक्षिण अफ्रिकी मुलुकलगायत हङकङ, इजराइल, बोत्सवाना, बेल्जियममा समेत ओमिक्रोन भाइरसको संक्रमण फैलिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । गत नोभेम्बर २४ पहिलो पटक दक्षिण अफ्रिकामा उत्परिवर्तित भाइरस देखिएको थियो।
दक्षिण अफ्रिकामा कोभिड–१९ को नयाँ ‘भेरिएन्ट ओमिक्रोन’ देखापरेपछि भारतमा पनि उच्च सतर्कता अपनाउन थालिएको छ ।प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार सम्बन्धित अधिकारीहरूको आपतकालिन बैठक बोलाएर अन्तर्राष्ट्रिय यात्रामा छुट दिने नीतिको समीक्षा गर्न निर्देशन दिएका थिए ।
नेपालमा के छ जोखिम ?
नेपालमा पनि नयाँ भेरियन्ट भित्रिनसक्ने भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन्।
दक्षिण अफ्रिकामा भेटिएको नयाँ भेरियन्ट–अन्य मुलुकहरुमा पनि देखिन थालेकाले नेपाल सतर्क हुनुपर्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका डा. शेरबहादुर पुन बताउँछन्।
नयाँ भेरियन्टमा प्रयोगमा आइरहेको खोपलाई समेत छल्ने क्षमता पाइए अर्को ठूलो समस्या ल्याउने सक्ने उनी बताउँछन्।‘अहिले नेपालमा हवाई पनि खुल्ला भइसकेको छ। नयाँ भेरियन्ट भेटिएको मुलुकसँग सिधै हवाई सम्पर्क नभएपनि अन्य मुलुक भएर त्यहाँका नागरिकहरु नेपाल आउन सक्छन्। जसले थप जोखिममा निम्ताउन सक्छ,’ डा. पुन भन्छन्।
भारतसँगको खुला सीमा, विभिन्न मुलुकसँगको सिधा हवाई सम्पर्कका कारण नयाँ भेरियन्ट नेपाल भित्रिन उनको तर्क छ ।‘डा. पुन भन्छन्, ‘यसभन्दाको अगाडीको अनुभवले पनि भारत फैलिएपछि नेपालमा कन्ट्रोल गर्न गाहो देखिएको छ।’
के छ नेपालको तयारी ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा .समीर अधिकारीले नयाँ भेरियन्ट नेपाल भित्रिने सम्भावना रहेको स्वीकार्छन्।तर, यसको लागि उच्च सकर्तता अपानाउन थालिएको उनले बताए।
‘बाहिरबाट आउने मानिसको निगरानी तथा परीक्षण गर्ने काम भइरहेको छ,’ डा. अधिकारले भने, ‘परिक्षण गरिएको मध्येबाट जिन सिक्वेन्सिङ गर्ने काम भइरहेको छ।’
सरकारले निगरानी प्रणालीलाई अलर्ट बनाइसकेको डा. अधिकारीले बताए। नयाँ भेरियन्ट भेटिएको मुलुकबाट आउनेलाई विमानस्थलमै हेल्थ डेक्स राखेर टेस्ट गर्ने र क्वारेन्टिनमा राख्न काम भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।