काठमाडौं - उपत्यकाको अत्यधिक धुलो–धुवाँका कारण युवाहरूमा चाँडै मुटुको समस्या देखिने चिकित्सकहरुले औंल्याएका छन् । श्वासप्रश्वास विशेषज्ञ डा. अर्जुन कार्कीका अनुसार फोक्सोमा क्यान्सर लाग्ने तथा दम, खोकी र श्वासप्रश्वासको समस्या बढ्दै जाने देखिएको छ ।
पछिल्लो समय काठमाडौंमा धुलोधुवाँ निकै बढी देखिएको छ । यसले मानिसको स्वास्थ्यमा अल्पकालीन र दीर्घकालीन असर के के पार्छ ?
मानिसको अवस्था, उमेर र क्षमताअनुसार धुलोको फरक–फरक प्रभाव पर्न सक्छ । कुनै मान्छेलाई फोक्सो सम्बन्धी, श्वासप्रश्वास सम्बन्धी कुनै रोग पहिलादेखि नै हुन सक्छ, त्यस्ता व्यक्ति धेरै धुलोधुवाँको मारमा परे भने रोगले च्याप्न सक्छ । औषधी नै सेवन गरिरहेका व्यक्तिहरु धुलो धुवाँको मुस्लोमा गए भने झनै बढी समस्या हुन्छ ।
कतिपय बिरामी त अरुबेला नभए पनि डाक्टरलाई देखाउन जाँदा समेत धुलोको प्रकोपमा परेर तिनको समस्या अझ जटिल हुनसक्छ । मानौं, कोटेश्वरबाट बसमा चढेर अस्पताल पुग्नुपर्ने मानिस कुनै कारणवश त्यहाँको प्रदूषित वातावरणमा बीस–पच्चीस मिनेट बस्नुपर्यो भने उसको अवस्था नाजुक हुनसक्छ ।
पहिले सय मिटर हिँड्दा स्वाँस्वाँ गर्ने व्यक्ति दश मिटरमा नै हिँड्नै नसक्ने हुनसक्छ । कोटेश्वर त एउटा उदाहरणात्र हो । काठमाडौंका धेरै स्थानमा प्रदूषणको मात्रा यति धेरै छ कि स्वस्थ व्यक्ति समेत केही बेर यस्तो स्थानमा घुमेर घर फर्किंदा बिरामी पर्छन् ।
धुलो र धुवाँको असर कसरी थाहा पाउने ?
धुलो र धुवाँको तत्कालिन र दीर्घकालीन असर हुन्छन् । तत्कालिन असर पनि मानिस अनुसार फरक फरक हुन सक्छ । जस्तो कसैलाई आँखा अति सुख्खा भएको वा टट्याउने जस्तो हुन्छ । कसैको हकमा भने आँसु आउने हुनसक्छ । यस्ता समस्यामा घाँटी खसखसाउने, खोकी लाग्ने अनेक असर हुनसक्छ ।
कतियिमा यस्ता असर तत्काल नदेखिए पनि दीर्घकालीन असरबाट उसले पनि मुक्ति नपाउन सक्छ । दीर्घकालीन असरको हकमा कुरा गर्दा फोक्सोको क्यान्सर, दम, श्वासनलीमा समस्या, निको नहुने प्रकारले खोकी लाग्नु आदि हुनसक्छ । यस्ता समस्याबाट पीडित व्यक्तिलाई १० देखि १५ वर्षमा हृदयघात पनि हुनसक्छ ।
तत्कालिन असरको कुरा गर्दा कतिपयलाई धुलोको मात्रा, धुवाँको मात्रा आदि धेरैले फरक–फरक असर पार्न सक्छ । कसैलाई धेरै धुलो र धुवाँले पनि खासै असर पर्दैन भने कसैलाई थोरैमा पनि आँखामा आँसु आउने, घाँटी खसखस हुने आदि समस्या देखापर्न सक्छन् । तर दीर्घकालीन असर भने सबैमा देखिन सक्छ ।
काठमाडौंकै नागढुंगा, कोटेश्वर, चावहिल आसपास बसोबास गर्ने मानिसमा कस्तो असर पर्ला ? त्यसैगरी त्यही धुलोमा ड्युटीमा रहेका ट्राफिक प्रहरीको स्वास्थ्यमा के असर पर्ला ?
यी क्षेत्रमा बसोबास गर्ने मानिसमा धैरै नै असर पर्ने जो कसैले पनि अनुमान गर्नसक्ने कुरा हो । धेरै सवारीसाधन चल्ने स्थानमा धुलोको कणमा मोटरको टायर खिइएर बनेको धुलो पनि बढी नै मिसिने हुन्छ । यस्तो धुलो स्वास्थ्यका लागि अतिनै हानीकारक हुन्छ । ट्राफिक प्रहरी बाहेक यस्तो स्थानमा पसल राख्ने, घरमा बस्ने, अफिस चलाउने सबैमा स्वासप्रस्वासको समस्या बढेर जाने अवस्था छ ।
अझ, माथि भनेझैं हृदयघात हुने समस्या पनि त्यतिकै बढी हुन्छ । तर, हामी आफैं पनि सचेत छैनौं । पुराना गाडी चलिरहेका छन्, हामीमध्ये कतिपयले त्यसको दुष्प्रभावको विषयमा जान्दा जान्दै पनि आफ्नो सानो स्वार्थका लागि आफूलगायत सबैलाई बिरामी पारिरहेका छौं ।
कतिपय रातो स्टिकर पाएर सडकमा चल्नै नहुने मोटर पनि हरियो स्टिकर लगाएरै बाटोमा गुडिरहेका देखिन्छन् । यस्तोमा त्यस्तो स्टिकर लिने, त्यस्तो स्टिकर दिने सबै जिम्मेवार छन् । अझ, त्यो समस्या थाहा पाएर पनि समाधान गर्न बेवास्ता गर्ने सरकार झनै जिम्मेवार छ । हामी जनता पनि त्यस्ता समस्याको समाधानका लागि अघि नबढ्नुले समस्याको आयतन बढाएरै लगेको देखिन्छ ।
एक विशेषज्ञ डाक्टरको नाताले तपाईंकहाँ अहिले कस्तो प्रकारका बिरामी बढी आउँछन्, धुवाँले बढी असर पारेका कि धुलोको समस्याले ग्रसित ?
काठमाडौंमा धुलो र धुवाँ मिसिएर ठूलै समस्या पैदा गरेका छन् । कुनै स्थानमा धुलोले मात्र र कतै धुवाँले मात्र धेरै असर गरेको छ भन्न सकिने अवस्था छैन । त्यसैले बिरामीमा पनि कुन बिरामीलाई धुलोले समस्या दिएको र कसलाई धुवाँले बढी समस्या पार्यो भनेर छुट्याएर भन्न सकिन्न । तर धुवाँ वा धुलो कुनै एकमात्र भए पनि मानिसमा स्वासप्रस्वासको समस्या बढाउन र अन्ततः मुटु र फोक्सोको बिरामी बनाउन पर्याप्त हुन्छन् ।
यस्ता बिरामी कति बढेका छन् ?
नेपालमा तथ्यांकको साह्रै कमी छ । पाँच वर्षअघि कति व्यक्ति श्वास–प्रश्वासको समस्या लिएर आउँथे र अहिले कति आएका छन् भन्ने कुनै गणना छैन । तर पनि यस पेसामा लागेका डाक्टर र विशेषज्ञका अनुभवमा फोक्सोजन्य रोग लिएर आउने बिरामीको संख्या क्रमशः बढेर गएको छ । तर यस्तो बिरामी बढेर गयो भनेर यसका दोषीलाई कारवाही हुन सक्दैन ।
यस्ता समस्याको अध्ययन र रिसर्च हुनु अत्यन्त जरुरी छ । जस्तो– चीनमा एउटा अध्ययन गरियो फोक्सोको क्यान्सर कति मान्छेमा हुँदैछ भनेर । १० वर्षमा फोक्सोको क्यान्सर करिब ५० प्रतिशतले बढेको देखियो । अब त्यो तथ्यांकले सरकारलाई सचेत बनाउँछ, झस्काउँछ र नियम कानुन बनाएर समस्या समाधान गर्न दबाब दिन्छ । तर हाम्रो देशमा यस्ता अध्ययन छैनन्, कुनै समस्याको समाधान पनि सहजै निस्कन्न ।
धुवाँधुलोबाट पछिल्लो समय कत्तिको बिरामी बढिरहेको छन् त ?
मैले अघि पनि भनें, भरपदो तथ्यांक भने छैन । तर सबैको सामान्य मत के छ भने क्रमिक रुपमा फोक्सोजन्य रोगबाट अथवा धुवाँधुलोबाट उत्पन्न हुने रोगहरु बढिरहेको भने छ ।
चीनमा एउटा अनुसन्धान गर्दा १० वर्षपछिको अन्तरालमा जतिजना मान्छेमा फोक्सो क्यान्सर देखापर्यो, त्यसको १० वर्षपछि अनुसन्धान गर्दा ५० प्रतिशतले वृद्धि भएको पाइएको थियो । पहिला १ हजारमा लागेको थियो भने अहिले १५ सयलाई लाग्यो । बेलैमा सचेत हुनलाई सबै सचेत हुनुपर्यो र सरकारलाई दबाब दिनुपर्यो ।
गर्मीमा भन्दा जाडोमा यस्ता बिरामी बढ्ने हुन् ?
सामान्यतया प्रदूषणबाट उत्पन्न हुने स्वासप्रश्वासको समस्याले मौसम हेर्दैन । तर पनि जाडोमा दमका रोगीहरुलाई अलि बढी नै च्याप्छ । जाडोमा प्रदूषण उडेर माथि जाने क्रम अलि कम हुने भएकाले पनि यस्तो भएको हो । तर काठमाडौंमा जुन प्रकारले धुलो उडिरहेको छ र जसरी सवारी साधन जथाभावी धुवाँ उडाउँदै गुडिरहेका छन्, यस्तोमा मौसमले पार्ने प्रभाव खासै ठूलो हुँदैन ।
यस्तो समस्याले युवा र वयष्कलाई भन्दा बालबालिका र वृद्धलाई धेरै समस्या पार्ने गरेको देखिएको छ । उनीहरूमा रोग प्रतिरोधात्मक क्षमता कम हुने कारणले पनि यस्तो समस्या देखिएको हो ।
वास्तवमा मौसमभन्दा पनि गरिबी यस्तो समस्याको जड हो जस्तो लाग्छ मलाई । धेरै मान्छेलाई धुलो र धुवाँको जिन्दगीबाट मुक्ति छैन । कुनै एक ठाउँमा धुलो र धुवाँ बढी भयो भनेर अर्को स्थानमा सर्न वा जागिर छाडेर अर्को जागिर खोज्ने अवस्था छैन । बिहान सडक बढार्न आउने व्यक्ति आफैंले राम्ररी मास्क लगाएको हुँदैन, अझ कतिले त बच्चा पनि बोकेर आउँछन् ।
तिनका सन्तानलाई घरमा हेरिदिने कोही हुँदैनन्, अनि महँगो मास्क पनि किनेर लगाउन सक्दैनन् । त्यसैले मौसमभन्दा आर्थिक अवस्था सुधार्न बढी ध्यान दिनुपर्छ । जाडोमा न्यानो कपडा लगाएर, न्यानोमा बस्न पाए मौसमको प्रभाव खासै पर्दैन ।
धुलो र धुवाँबाट बच्न कस्तो उपाय अपनाउनुपर्छ ?
धुलो र धुवाँबाट बच्ने उपायका लागि कसको के जिम्मेवारी भन्ने कुरा पनि आउँछ । साधारण जनताको तहमा कुरा गर्ने हो भने सकेसम्म बढी प्रदूषण भएको समयमा घरबाट जरुरी नभई बाहिर ननिस्कने । सार्वजनिक सवारी साधनमा पनि सिसा बन्द गर्न लगाउने । सकभर बाहिरको धुलो सिधै मुख र नाकभित्र पर्नबाट बच्ने । बाटोमा सकभर उत्कृष्ट प्रकारको मास्क प्रयोग गर्ने ।
मास्क नलाएको अवस्थामा पनि रुमालले मुख ढाकेर हिँड्ने । धेरै व्यक्ति साधारण प्रकारको कागजको मास्क लगाएर आफूलाई धुलो र धुवाँबाट बचाएको भन्ने ठान्छन्, तर त्यसले खासै काम गर्दैन । बजारमा निस्किएका धेरै प्रकारका मास्क प्रभावकारी छैनन् । डाक्टरले अपरेसन गर्दा वा बिरामीसँग अगाडि पर्दा लगाउने मास्क हुन्छन्, त्यस्ता मास्क धेरै प्रभावकारी हुन्छन् ।
मास्कको प्रकारमा कुरा गर्दा एन ९५ मास्क राम्रा र प्रभावकारी मानिन्छन् । यस्तो मास्क महँगो हुने हुनाले बाटोमा प्रयोग भएको देखिँदैन । तर सकेसम्म महँगो मास्क किनेर लगाउँदा पछि उपचारमा खर्च हुने समय र पैसाको बचत हुन्छ ।
घर–घरमा फोहोर जलाउँदा बिहानै जलाउने पनि गर्नु हुँदैन । टायर, दाउरा बालेर न्यानो हुन खोज्दा पनि वातावरणमा निकै समस्या पर्छ । फोहोरमा आगो लगाउने हो भने पनि ३ बजेतिर गर्नु ठिक हुन्छ । त्यसबेला काठमाडौंको खाल्डोको हावा सिधै माथि जाने सम्भावना बढी हुन्छ ।