ओमिक्रोन भेरिअन्टबारे हामीलाई के थाहा छ?
विश्व स्वास्थ्य सङ्गठनले पहिला यो भेरिअन्टलाई बी.१.१.१५९ को सङ्केतबाट चिनाएको थियो। पछि यसको ओमिक्रोन नामकरण गरियो।
यो भेरिअन्ट आश्चर्यजनक रूपमा धेरै उत्परिवर्तित छ।
दक्षिण अफ्रिकास्थित सेन्टर फर एपिडेमिक रेस्पोन्स एन्ड इनभेशनका निर्देशक प्राध्यापक टुलिओ डि ओलिभियराले यसअघि फैलिएका अन्य भेरिअन्टभन्दा यो "धेरै भिन्न" भएको र "उत्परिवर्तनको अस्वाभाविक सङ्ग्रह" देखिएको बताए।
सञ्चारमाध्यमसँग बोल्दै प्राध्यापक ओलिभियराले समग्रमा ५० वटा उत्परिवर्तन भएको र ३० वाटभन्दा बढी स्पाइक प्रोटीन भएको बताए।
धेरै खोपले भाइरसको तहमा हुने काँडाजस्तो देखिने स्पाइक प्रोटीन भनिने अवयवलाई तारो बनाएका हुन्छन्। स्पाइक प्रोटीन मानिसको कोषमा टाँसिने र भित्र छिर्न सघाउने अवयव हो।
उत्परिवर्तनहरू हानिकारक नहुन पनि सक्छन्। ती उत्परिवर्तनले के गरिरहेका छन् भन्ने थाहा पाउनु महत्त्वपूर्ण हो।
तर यो भेरिअन्ट चीनको वुहानमा देखिएको भाइरसभन्दा निकै फरक बनिसकेकाले चिन्ताजनक मानिएको छ। पहिलो प्रकारको भाइरसका आधारमा बनाइएका खोपहरू प्रभावकारी नहोलान् कि भन्ने चिन्ता वैज्ञानिकहरूमा देखिएको छ।
यात्रामा कडाइ,
विभिन्न राष्ट्रहरूले दक्षिण अफ्रिकाबाट हुने यात्रामा प्रतिबन्ध लगाएपछि त्यहाँको विदेश मन्त्रालयले यस्तो प्रतिक्रिया व्यक्त गरेको हो।
प्रारम्भिक प्रमाणहरूका अनुसार ओमिक्रोनबाट सङ्क्रमण फैलिन सक्ने सम्भावना उच्च छ।
विश्व स्वास्थ्य सङ्गठनले शुक्रवार यो नयाँ भेरिअन्टलाई "भेरिअन्ट अफ कन्सर्न" का रूपमा वर्गीकरण गरेको थियो।
कोभिड-१९ को यो नयाँ भेरिअन्ट यूके, जर्मनी, बेल्जियम र इटलीमा पनि फेला परेको छ भने चेक रिपब्लिकमा पनि यो भेरिअन्ट पुगेको आशङ्का गरिएको छ।
ओमिक्रोन भेरिअन्ट पुष्टि भएको इजरेलले आइतवार मध्यरातबाट विदेशीहरूलाई आफ्नो मुलुक प्रवेशमा रोक लगाएको छ। टाइम्स अफ इजरेलका अनुसार यो प्रावधान १४ दिनसम्म लागु हुनेछ।
ओमिक्रोन भेरिअन्ट बोत्स्वाना र हङ्कङ पनि पाइएको छ।
दक्षिण अफ्रिकाबाट नेदरल्यान्ड्स आइपुगेका सयौँ यात्रुहरूको परीक्षण गरिराखिएको छ।
वायुसेवा कम्पनी केएलएमका दुईवटा उडानमा झन्डै ६१ जना यात्रुहरूमा कोभिड पुष्टि भएको छ र उनीहरूलाई आम्स्टर्डामको शिपल विमानस्थलनजिकै एउटा होटलमा क्वारन्टीनमा राखिएको छ।
नोभेम्बर २४ तारिखमा पहिलो पटक दक्षिण अफ्रिकाले यो भेरिअन्टबारे विश्व स्वास्थ्य सङ्गठनलाई जानकारी गराएको थियो।
शुक्रवार र शनिवार कैयौँ राष्ट्रहरूले नयाँ व्यवस्थाहरूको घोषणा गरेका थिए।
- युरोपियन सङ्घअन्तर्गत रहेका राष्ट्र र स्विट्जरल्यान्डले सोमवारबाट अधिकांश दक्षिण अफ्रिकी मुलुकबाट हुने उडानमा रोक लगाउने निर्णय गरिसकेका छन्। दक्षिण अफ्रिका, जिम्बाब्वे, बोत्स्वाना, लसूटू र एस्वाटिनीबाट आउने यूके वा आयरल्यान्डका नागरिक वा यूकेका बासिन्दाबाहेक अरू यात्रुलाई प्रवेशमा रोक लगाइएको छ।
- अमेरिकाले पनि सोमवारबाट लागु हुनेगरी दक्षिण अफ्रिकासहित आठ देशबाट आउने आफ्ना नागरिकबाहेक अरू यात्रुलाई प्रतिबन्ध लगाएको छ।
- अस्ट्रेलियाले अफ्रिकी देशहरूसँगको उडान १४ दिनका लागि बन्द गरेको छ।
- जापानले अधिकांश दक्षिण अफ्रिकी देशहरूबाट आउने यात्रुलाई अनिवार्य १० दिन क्वारन्टीनमा राख्ने निर्णय गरेको छ। सो अवधिमा समयमा उनीहरूले चारवटा परीक्षण गराउनुपर्नेछ।
- भारतले दक्षिण अफ्रिका, बोत्स्वाना र हङ्कङ सहितका देशबाट आउने यात्रुहरूमाथि निगरानी बढाउन र परीक्षण गर्न निर्देशन दिएको छ।
- इरानले छवटा दक्षिण अफ्रिकी देशहरूबाट आउने यात्रुहरूलाई प्रतिबन्ध लगाएको छ।
- ब्रजिलले पनि छवटा दक्षिण अफ्रिकी देशबाट आफ्नो देशमा हुने यात्रामा प्रतिबन्ध लगाएको जनाएको छ।
- क्यानडाले दक्षिण अफ्रिकी देशहरूमा विगत १४ दिनको अवधिमा यात्रा गरेका विदेशीहरूलाई प्रवेशमा रोक लगाएको छ।
- थाईल्यान्डले आठवटा दक्षिण अफ्रिकी देशहरूबाट आउने यात्रुहरूलाई प्रतिबन्ध लगाएको छ।
- नेपालले दक्षिण अफ्रिका क्षेत्र भएर आउने हवाईयात्रुलाई यात्रुहरूलाई प्रतिबन्ध लगाएको छ।
नेपालको दक्षिण अफ्रिकी क्षेत्रमा सीधा हवाई उडान सम्पर्क नभए पनि त्यस क्षेत्रबाट आउने र त्यस क्षेत्रलाई ट्रान्जिट पारेर आउने यात्रुलाई प्रतिबन्ध लगाएको छ।
नयाँ भेरिअन्ट कस्तो छ?
विश्व स्वास्थ्य सङ्गठनले दक्षिण अफ्रिकाका सबै प्रान्तमा यो भेरिअन्टबाट सङ्क्रमित मानिसको सङ्ख्या बढेको देखिएको जनाएको छ।
शुक्रवार एउटा विज्ञप्ति प्रकाशित गर्दै उसले उक्त भेरिअन्टमा धेरै उत्परिवर्तनहरू र तीमध्ये केही चिन्ताकारक भएको जनाएको थियो
यो भेरिअन्ट नोभेम्बर ९ मा सङ्कलित नमुनामा पहिलो पटक फेला परेको हो।
पहिलाका उत्परिवर्तनभन्दा अहिले पुष्टि भएकाले उत्परिवर्तनहरू थप घातक छन् कि छैनन् भन्ने स्पष्ट भइसकेको छैन।
नयाँ भेरिअन्ट देखिएको अवस्था अहिले सुरुकै चरणमा रहेको र अहिलेसम्म धेरै बिरामीहरू दक्षिण अफ्रिकाको एउटा प्रान्तमा केन्द्रित रहेको बताइएको छ। तर यसको सङ्क्रमण अन्यत्र पनि फैलिएको सङ्केतहरू देखा परेका छन्।
श्रोत : बिबिसी