काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले मन्त्रीस्तरीय निर्णय गर्दै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. अनुप वास्तोलाई सार्क क्षयरोग केन्द्रको प्रमुखको जिम्मेवारी दिने निर्णय गरेसँगै मन्त्री खतिवडाको उक्त निर्णयको चौतर्फी रुपमा विरोध हुन थालेको छ ।
मन्त्रालयकै कतिपय कर्मचारीहरुले मन्त्री खतिवडाको उक्त निर्णयको विरोध गरेका छन् । पहिलो र दोस्रो लहर आउँदा संक्रमितहरुको उपचारमा दिनरात नभनी खटिएका डा.वास्तोलाको सरुवा गर्ने निर्णयले उनीमाथि अन्याय भएको कतिपयको बुझाइ छ । डा.वास्तोलाले टेकु अस्पतालको निर्देशकको जिम्मेवारी पाएको ४ महिना मात्रै भएको छ । अस्पतालका तत्कालीन निर्देशक डा सागरराज भण्डारीको अवकाश पछि उनले निर्देशकको जिम्मेवारी पाएका हुन् ।
चार महिनाको अवधिमा डा. बाँस्तोलाले अस्पतालको संरचनादेखि व्यवस्थापनमा ठूलो परिर्वतन ल्याए। अहिले पनि कोरोना संक्रमण नियन्त्रणमा आइसकेको छैन। दक्षिण अफ्रिकामा भेटिएको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ ले अरु देशसँगै नेपाल पनि जोखिममा परेको छ।यस्तो अवस्थामा सरकारले उनको सरुवाको निर्णय गर्नु जायज होइन मन्त्रालयका एक कर्मचारीले बने ।
के भन्छन् मन्त्री खतिवडा ?
सरुवाको विषय निरन्तरको प्रक्रिया भएको स्वास्थ्यमन्त्री खतिवडाले प्रतिक्रिया दिएका छन्। डा. बाँस्तोलाले राम्रो काम गरेका कारण सरुवा गरिएको खतिवडाको सचिवालयले जनाएको छ।
‘सार्क क्षयरोग केन्द्रमा सुधार गर्न जरुरी छ। राम्रो काम गर्ने क्षमता सबै ठाँउमा प्रयोग गनुपर्यो नि,’ सचिवालयलका एक कर्मचारीले मन्त्रीको भनाई उदृत गर्दै भने, ‘चाहिएको खण्डमा डा. बाँस्तोलाई पुनः फर्काउन सकिनेछ।’
कोभिडको अर्को लहर आएको खण्डमा पुन डा. बास्तोलालाई टेकुमा फर्काउन मन्त्री सकारात्मक रहेका छन्। कतिपयले सरुवामा राजनीतिक पूर्वाग्रहसँगै आर्थिक चलखेलसमेत भएको आशंका गरेका छन्।
डा. बाँस्तोलाले अस्पतालको सुधारको लागि काम सुरु गरिसकेका थिए। ओपिडी विस्तार, फार्मेसी, बिरामी, अक्सिजन ग्यास, स्टोर, आइसियु बेड, ३०० शय्याको सरुवारोग अस्पताल निर्माणलगायत क्षेत्रमा काम अगाडि बढाएका थिए। तर, अस्पतालभित्र हुने खरिदमा पारदर्शिता देखाउँदा त्यहाँका केही कर्मचारी रुष्ट भएका कारण सरुवा गर्न मन्त्रीमाथि दबाब परेको मन्त्रालयका अधिकारीको भनाई छ।