बच्चाहरू बढ्नेक्रममा किशोरावस्थामा पुग्नुको वेग्लै आनन्द तथा अनुभव हुन्छ । यो उमेर जिन्दगीको रमाइलोपनसँग जोडिएको हुन्छ । यात्रा वा घुमघाम गर्नु रमाइलो गर्नुको एउटा महत्वपूर्ण पाटो हो । यो उमेरमा मानिसहरू साइकल, मोटरसाइकल स्कुटर, कार, जिपलगायत यात्रा गर्ने विभिन्न साधन भर्खर–भर्खर सिकेर अनियन्त्रित तथा अत्यधिक गतिमा सवारी चलाएर त्यसको मजा लिने गर्छन्, जुन नसा च्यापिने समस्याको प्रमुख कारण बन्दछ ।
के हो नसा च्यापिनु ?
नसा च्यापिनु भन्नाले मेरुदण्डबाट निस्कने स्पाइनल नसाको जरा विभिन्न कारणले मेरुदण्डवरिपरि भएका हड्डीहरूको बीचबाट निस्कने वेलामा थिचिएर वा सुन्निएर आउने अवस्थालाई बुझिन्छ । यसैलाई रेडिकुलोप्याथी भनिन्छ । यस्ता समस्या प्रायः घाँटी तथा ढाडको भागमा देखिने गर्छ ।
तल्लो ढाडको रेडिकुलोप्याथीलाई सामान्य भाषामा ‘स्याटिका’ भनेर पनि बुझिन्छ । युवा अवस्थामा अत्यधिक गति तथा खाल्डाखुल्डीलाई बेवास्ता गरी सवारी चलाउनाले मेरुदण्डवरिपरिका हड्डीहरूको बीचमा भएको ‘डिस्क’ आफ्नो स्थानबाट पछाडि फुत्केर त्यहाँबाट निस्कने नसाको जरा थिचिने गर्दछ, जसलाई ‘स्लिप डिस्क’ वा ‘डिस्क प्रोल्याप्स’ भनिन्छ । त्यस्तै, अलिक बढी उमेर समूहका मानिसमा मेरुदण्डवरिपरिका हड्डीहरू (भर्टिब्रा) खिएर निस्केको चुच्चो भाग (ओस्टियोफाइट)ले नसाको जरा थिचिने गर्दछ । यी कारणबाहेक केही मानिसमा ढाडको क्षयरोग वा हाडमा फैलिएको क्यान्सरलगायतले पनि नसाको जरा थिचिन पुग्छ ।
लक्षण यदि ढाडको दुखाइ ढाडमै सीमित नभई एउटा वा दुइटै खुट्टातिर सर्छ वा घाँटीपछाडिको दुखाइ हाततिर सर्छ भने यसले नसाको जरा थिचिएको संकेत गर्छ । सँगसँगै त्यही स्थानमा पोल्ने, झमझम गर्ने, विद्युतीय झड्का, लाटोपना तथा कमजोरीको अनुभूति हुने हुन सक्छ ।केही मान्छेमा हिँड्दा दुईवटै खुट्टा दुख्नु वा भारी हुनु र ढाड खुम्चनेबित्तिकै वा मान्छे बस्नेबित्तिकै समस्या हराउँदै जानु पनि नसाको जरा थिचिएको संकेत हो ।
उपचार विधि
यस्ता समस्या भएमा औषधिले दुखाई गर्न केही मात्रामा सघाउ पुर्याउँछ तर त्यसले मात्र यो समस्या निको हुँदैन । यसको लागि फिजियोथेरापी नै आवश्यक पर्छ ।बाहिर निस्किएको नशा कतिवटा ठाउँमा च्यापिएको छ भन्ने कुराले पनि यसको उपचारमा फरक पर्छ । यदि नशा आधामात्र बाहिर निस्किएको अथवा चेपिएको छ भने त्यसलाई फिजियोथेरापीद्वारा निको पारिन्छ । जुन पहिलो तथा दोश्रो चरण अन्तर्गत पर्दछ ।
तर यदि नशा पुरै बाहिर निस्किएको छ भने त्यसलाई अपरेशनमार्फत भित्र हाल्नुपर्छ । जुन तेश्रो र चौथो चरण हो । अर्थात ६० प्रतिशत भन्दा कम समस्या छ भने त्यसलाई फिजियोथेरापीले उपचार हुन्छ भने सोभन्दा बढीको लागि अपरेशन एकमात्र विकल्प हो ।पहिलो तथा दोश्रो चरण फिजियोथेरापीमार्फत विरामीको उपचार गर्दा सबैभन्दा पहिले दुखाई कम गर्न उसलाई इन्जेक्सन दिइने गरिन्छ । त्यसैगरी, मेसिनद्वारा पनि विरामीको उपचार गरिन्छ । त्यसका लागि फिजियोथेरापिस्टले दुखाई कन्ट्रोल गर्ने मेसिनको प्रयोग गर्छन् ।
निश्चित एक्सरसाइजमार्फत नशा च्यापिएको ठाउँमा नकारात्मक दबाव सिर्जना गरेर पनि विरामीको उपचार गर्न सकिन्छ । त्यसरी उपचार गर्दा समस्या भएको ठाउँमा दबाव सिर्जना गर्दा त्यसको असर कम दबाव भएको ठाउँमा पर्छ । परिणामस्वरुप उक्त तरल पदार्थ बाहिर निस्किएर बीचमा गएर बस्दछ र नशालाई भित्र हाल्न मद्दत गर्छ ।
त्यसैगरी, ट्राक्सन लगाएर पनि विरामीको उपचार गर्न सकिन्छ । ट्राक्सन भनेको कम्मर तान्ने एक प्रकारको मेसिन हो ।कहिलेकाहीँ ढाडको हड्डी खुकुलो भएर पनि नशा च्यापिने गर्छ । यो अवस्थामा ट्राक्सनको प्रयोगमार्फत दुईवटा हड्डीलाई दुईतिरबाट तानेर उक्त भागलाई खुकुलो बनाई तरल पदार्थलाई भित्र पठाउने काम गरिन्छ ।
त्यस्तै, हड्डी कसिएर समस्या भएमा त्यसलाई खुकुलो बनाई पुनः कसेर पनि त्यसको उपचार गर्ने गरिन्छ ।सामान्यतयाः यो पद्दतिबाट विरामीको उपचार गर्दा त्यसलाई निको हुन कम्तीमा चार हप्ताको समय लाग्छ । कसैलाई राम्रो भएमा डेढ हप्तामा पनि निको हुन सक्छ । त्यो विरामीमा भर पर्छ ।तर यदि विरामी राम्रोसित निको हुन चाहन्छ भने उसले चार हप्तासम्मको उपचार लिनु नै बुद्धमानी हुन्छ ।
यदि कुनै विरामी बेलुकी फिजियोथेरापी गर्छ तर भोलिपल्ट बिहान अफिस गएर १० देखि ५ बजेसम्म कुर्सीमा बसेर एकोहोरो काम गर्छ भने उसलाई निको हुन चार महिना पनि लाग्छ । त्यसमा उसको बसाइले पनि फरक पार्छ ।यसबाहेक, नशा धेरै नै बाहिर आएको खण्डमा विरामीको अपरेशन नै पनि गर्नुपर्ने हुनसक्छ । तर अपरेशन गरिएका विरामीले अपरेशन पश्चात त्यसलाई सही अवस्थामा ल्याउन फिजियोथेरापी गर्न आवश्यक छ ।
अपरेशन पश्चात शरीरका मांसपेशी सुस्त हुनुका साथै नशा खुम्चन थाल्छ । जसले गर्दा हल्का काम गर्दा पनि पिढुला देख्ने, मांसपेशी दुख्ने लगायतका समस्या उब्जन्छ । त्यसबाट बच्नका लागि पनि फिजियोथेरापी आवश्यक पर्दछ ।
नशा च्यापिएको अवस्थामा प्रयोग हुने औषधिहरु
नशा च्यापिएको अवस्थामा विभिन्न प्रकारका औषधिहरुको प्रयोग गरिन्छ । जसमा दशमूत्य चूर्ण,अश्वगन्धा चूर्ण,प्रवालापिष्टी,गूगुल आदि ।
त्यस्तै नशा च्यापिदाँ गरिने पञ्चकर्ममा नाडीस्वेदन,कटिवस्ति,मात्रा वस्ति,अनुवासन वस्ति,आस्थापन वस्ति साथै अग्निी कर्म गरिन्छ । औषधि पञ्चकर्म तथा अग्निीकर्मद्वारा नशा च्यापिएको समस्याको सफल उपचार गरिन्छ ।