डा.शेरबहादुर पुन (भाइरोलोजिष्ट)
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माक्सको सही रुपमा व्यवस्थापन गर्नका लागि निर्देशिका पनि बनाइसकेको छ । तर त्यसको कार्यान्वयनको पाटो भने निकै नै कमजोर देखिएको छ।
कोरोना संक्रमणको जोखिमलाई कम गर्नका लागि लगाइने माक्र्सको सनाखत सही रुपमा गर्न नसकेको खण्डमा यसले मानव स्वास्थ्य गम्भीर प्रभाव पार्न सक्छ । हामीले प्रयोग पश्चात् फालेको माक्सको सही रुपमा व्यवस्थापन गर्न नसकिएको खण्डमा त्यसले वातावरणमा तथा मानव स्वास्थ्यमा पनि असर पार्छ ।
माक्सको प्रयोगका सम्बन्धमा विभिन्न लेखहरु प्रकाशन भइरहेका छन् । तर माक्सको सही सनाखतको विषय भने त्यति चर्चामा आउने गरेको छैन । हामीले प्रयोग गरेको माक्सको सही रुपमा सनाखत गर्न नसकेको अवस्थामा त्यसबाट कोही न कोही व्यक्ति विभिन्न प्रकारका भाइरसहरुको संक्रमणको जोखिम रहन्छन् । विशेष गरी यसको जोखिम वर्गमा सरसफाइमा काम गर्ने व्यक्ति पर्छन । सही रुपमा माक्सको सनाखत हुन नसकेमा त्यसको दीर्घकाली न असर देखा पर्न सक्छ ।
विश्वमा ५० हजार माक्र्स प्रति सेकेन्ड प्रयोग हुने गरेको तथ्यांक छ । त्यसैले सही रुपमा माक्सको सनाखत गर्न नसक्नु हाल विश्वव्यापी रुपमा नै रहेको समस्या हो । सर्जिकल माक्स प्रयोग गरिसकेपछि पुन प्रयोग मिल्दैन । धेरै जस्तो मानिसहरुले बाटोमा नै जथाभाबी रुपमा माक्र्स फालिरहेको देखिन्छ । यसले दीर्घकालीन रुपमा स्वास्थ्य तथा वातावरण दुवैमा गम्भीर समस्या ल्याउने देखिएको छ । एक पटक लगाइसकेपछि पुन प्रयोग गर्न नमिल्ने तथा फाल्न सजिलो हुने भएकाले सर्जिकल माक्स धेरैको रोजाइमा पर्छ । तर जसको आर्थिक अवस्था कमजोर छ ती व्यक्तिहरुले भने कपडाको माक्स प्रयोग गर्ने गरेको पाइन्छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माक्सको सही रुपमा व्यवस्थापन गर्नका लागि निर्देशिका पनि बनाइसकेको छ । तर त्यसको कार्यान्वयनको पाटो भने निकै नै कमजोर देखिएको छ । माक्सको प्रयोगका बारेमा मात्रै हामीले व्यापक रुपमा जनचेतना फैलायौं । तर प्रयोग पश्चात् त्यसलाई सही रुपमा कसरी सनाखत गर्न सकिन्छ भन्ने बारे मौन रह्यौ । त्यसकारण यसले भविव्यमा जनस्वास्थ्यमा गम्भीर प्रकारको समस्या अवश्य नै निम्याउने छ । माक्सको सही रुपमा सनाखत गर्ने कार्यमा नेपाल मात्र नभई विश्व नै पछाडी छ ।
कुनै व्यक्ति प्रयोग गरेको माक्समा उसको शरीरमा रहेको भाइरस ४८ घन्टासम्म रहन्छ भन्ने अनुसन्धानबाट पत्ता लागेको छ । जथाभाबी रुपमा फालिएको माक्सबाट कोही कोही अवश्य संक्रमित हुने अवस्था छ । माक्सको सही सनाखतका लागि जनचेतना अभियान नै सञ्चालन गर्नुपर्ने हुन्छ । हामीले संक्रमणबाट बच्नका लागि माक्सको प्रयोग आवश्यक छ भनिरहँदा यसको सनाखतको पक्ष बिर्सिएकाले हामीले अहिलेसम्म आधा काम मात्रै गरिरहेका छौ ।
माक्सको सही सनाखतका लागि भिन्नै ठाउँ बनाएर अरुले नभेटाउने गरी राख्न जरुरी छ । माक्स सही रुपमा व्यवस्थापनका लागि अभियानै चलाउनु आवश्यक देखिन्छ । त्यसका लागि सम्बन्धि निकायले नै अभियान चलाएमा त्यसको प्रभावकारिता बढ्ने थियो । आगामी दिनमा त्यसका लागि व्यक्ति आफैं सचेत हुनु आवश्यक देखिएको छ । साथै प्रत्येक स्थानीय निकायले फोहोरमैला व्यवस्थापनका लागि तालिम दिनु आवश्यक छ ।