गर्भावस्था भनेको शिशुको जीवन शुरुवात भएदेखि जन्महुनुपूर्वको अवधि हो । यो अवधि कुल २७० दिन अथवा चालिस हप्ता वा नौ महिना सात दिन भन्ने बुझिन्छ । यो अवधिमा शिशुको शारीरिक (जस्तै: आँखा, कान, मुटु, कलेजो, लिङ्ग आदिको) वृद्धि र विकास हुन्छ ।
गर्भावस्थामा शिशुले हातखुट्टा चलाउने, जिउ तन्काउने, निदाउने, हाइ काढ्ने गर्दछ । आफू वरिपरि हुने अधिकांश क्रियाकलापहरू शिशुले आमाको पेटभित्र भएपनि सुन्छ र अनुभूति पनि गर्छ । शिशुले वातावरण अनुसार प्रतित्रिया जनाउँछ । जस्तै: ठूलो ध्वनिमा तर्सिन्छ, मधुर संगीतमा चलमलाउँछ, मुस्कुराउँछ, मुखमा औला हाल्छ आदि ।
सानो उमेरमा हुने गर्भधारण आमा र शिशु दुवैका लागि खतरापूर्ण हुन्छ ।
नेपाल सरकार स्वास्थ्य मन्त्रालयका अनुसार पहिलो पटक गर्भवती हुन २० देखि ३० वर्षको उमेर उपयूक्त हुन्छ । कानूनी रुपमा, विवाह गर्न महिला र पुरुष दुवैले कम्तीमा २० वर्ष नाघेको हुनुपर्दछ ।
गर्भावस्थामा कुपोषण र अन्य कारणले शिशुमा अपाङ्गता हुन सक्छ । गर्भावस्थामा नै शिशुको अपाङ्गता पहिचान गर्न सकिन्छ । गर्भावस्थामा पहिचान गर्न सकिने केही अपाङ्गताहरू डाउनसिन्ड्रोम, पैताला / हात बाँगिनु, बहिरोपन, मोतीविन्दु, ओठ काटिएको, मुटु सम्बन्धि समस्या हुन् । यस्ता अपाङ्गता पहिचान भई तुरुन्तै उपचार गरेर जटिल समस्या हुनबाट रोकथामका साथै उपचार गर्न सकिन्छ ।
गर्भावस्थामा हेरचाह र प्रसवको लागि तयारी
सबै दम्पतीले गर्भावस्थामा शिशुको स्वास्थ्य अवस्थाको बारेमा स्वास्थ्य संस्थामा गएर जानकारी लिनु पर्दछ । गर्भावस्थामा, शिशु जन्मने बेला वा जन्मेपछिको आवश्यक सेवाहरूलाई समयमै पुर्याउन र आउन सक्ने समस्याबाट जोगिन नजिकैको स्वास्थ्य संस्थाबारे पूर्वजानकारी राख्नु पर्छ । शिशुको जन्म पूर्वनै योजना बनाउनुपर्छ र शिशुलाई चाहिने लुगा, कपडा (ओड्ने, बिछौना), पैसाको जोहो गर्नुपर्छ । प्रसूतिकालागि गर्भवती महिलालाई स्वास्थ्य संस्थामा लैजानु पर्छ ।
स्वास्थ्य संस्थासम्म जाने सवारीको पहिचान र व्यवस्था, रगतको खाँचो परेमा रगत दिने तीनजना स्वस्थ व्यक्तिको व्यवस्था गर्नु पर्दछ ।
नियमित स्वास्थ्य परीक्षण (कम्तीमा चारपटक) गराउनुपर्दछ:
– पहिलो परीक्षण: चौथो महिना
– दोस्रो परीक्षण: छैठौं महिना
– तेस्रो परीक्षण: आठौं महिना
– चौथो परीक्षण: नवौं महिना
माथि उल्लेखित परीक्षणका अतिरिक्त स्वास्थ्य सम्बन्धी कुनै समस्या/जटिलता भएमा गर्भवती महिलाले नजिकको स्वास्थ्य संस्थामा परीक्षण गराउनुपर्दछ ।
ध्यान दिनुपर्ने कुराहरू:
- स्वास्थ्य संस्थाका विज्ञले सीफारिस गरेबमोजिम आइरन–फोलिक एसिड चक्की र जुका मार्ने चक्की खानु पर्दछ ।
- खाना पकाउँदा दुई बालबालिकासहितको लोगो भएको आयोडिनयूक्त नुन राखेको खाना खानु पर्दछ ।
- टिटि खोप पहिलो र दोश्रो लिनु पर्दछ ।
- औलो लाग्ने जिल्लाहरूमा गर्भवती महिलाले कीटनाशक औषधिले उपचार गरीएको झूलभित्र सुत्नु पर्दछ ।
- दादुरा, ठेउला, एचआइभी/एड्स र हेपटाइटिस संक्रमणबाट जोगिनु पर्दछ ।
- आमाबाट शिशुमा हुन सक्ने संक्रमण रोकथाम गर्न गर्भवती महिलाले एचआइभी/एड्स परीक्षण गराउनु पर्दछ ।
- स्वास्थकर्मीको सल्लाहबमोजीम नियमित रुपमा व्यायाम गर्ने र तौल वृद्धिमा विचार राख्नु पर्दछ ।
- चिया, कफी र सोडायुक्त पेय पदार्थ सेवन नगर्नू बेश हुन्छ ।
गर्भावस्थामा निम्न खतरापूर्ण सङ्केत देखिएमा नजिकैको स्वास्थ्य संस्थामा शीघ्र परामर्श र उपचार गर्नु पर्दछ:
- टाउको साह्रै दुखेमा
- हातखुट्टा अररो भइ काम्ने वा मूर्छा परेमा
- आँखा तिरमिराएर धमिलो देख्ने भएमा
- अनुहार वा हात सुन्निएमा
- कडा रुपमा तल्लो पेट दुखेमा
- योनीबाट अलिकति पनि रगत बगेमा
गर्भवती महिला र शिशुको लागि अत्यन्त खतरा हुने निम्न क्रियाकलाप गर्नु हुँदैन:
- लागुपदार्थ, रक्सी, चुरोट आदि सेवन ।
- जथाभावी औषधि सेवन ।
- झैझगडा, तनाव, रिस, आवेग, डर, चिन्ता ।
- रेडियो विकिरण (एक्स रे) ।
- विषादि प्रयोग गर्ने काम ।