काठमाडौं । कोरोना महामारी भन्दा अगाडिसम्म फेसनको रुपमा माक्सको प्रयोग गर्ने प्रचलन थियो । तर कोरोना कहर सुरु भए यता माक्स मानव जीवनको एक अभिन्न अंग नै बनेको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी पश्चात् नेपालमा मात्रै नभई विश्वमा नै माक्सको प्रयोग व्यापक रुपमा भएको छ । एक तथ्यांकअनुसार विश्वमा प्रतिसेकेन्ड नै ५० हजार माक्सको प्रयोग हुने गरेको छ ।
यसरी कोरोना संक्रमणको जोखिमलाई कम गर्नका लागि लगाइने माक्र्सको सनाखत सही रुपमा हुन त्यसले संक्रमणको जोखिम बढाउन सक्ने भन्दै त्यसतर्फ सतर्क हुन विज्ञहरुको सुझाव छ । हामीले प्रयोग पश्चात् फालेको माक्सको सही रुपमा व्यवस्थापन गर्न नसकिएको खण्डमा त्यसले वातावरणमा तथा मानव स्वास्थ्यमा पनि असर पार्छ ।
कोरोना संक्रमण फैलिएसँगै सरकारले मास्कको प्रयोगलाई अनिवार्य गर्दो यो आम मानिसको जीवनशैली बनेको छ । कोरोना महामारी पश्चात् सार्वजनिक सवारी साधन,सभा,सम्मेलन विभिन्न प्रकारका गोष्ठी सेमिनार तथा भिडभाडको क्षेत्रमा मास्कको बढी मात्रामा प्रयोग हुने गरेको छ ।
यसरी प्रयोग हुने मास्क विभिन्न थरीका छन् । आजकाल सर्जिकल मास्कको प्रयोग बढी मात्रामा हुने गरेको पाइएको छ । जसरी आजकाल मानिसहरुमा मास्कको प्रयोगप्रति चेतना बढेको त्यसको विसर्जनको पक्षमा भने मानिस कमजोर नै देखिन्छ।
मास्क सही सनाखत नहुँदा मानव स्वास्थ्यमा पर्ने असर
मानिसले आफ्नो जीवन रक्षाका लागि प्रयोग गर्ने मास्कलाई सही रुपमा विसर्जन नगर्दाे त्यसले स्वास्थ्यमा गम्भीर असर पार्ने देखिन्छ । मास्कको सही रुपमा व्यवस्थापन हुन नसक्दा त्यसको असर वातावरणमा पनि पर्न सक्ने वातावरण विज्ञहरु बताउँछन् ।
मास्कको सही सनाखतको लागि स्वास्थ्य मन्त्रालयले नीतिगत व्यवस्था ल्याए पनि त्यसको सही व्यवस्थापन हुन नसकेको स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता समीर कुमार अधिकारी स्वीकार गर्छन् । उनी भन्छन् हामीले मास्कको सनाखतको लागि निर्देशिका जारी गरे पनि कार्यान्वयनको पाटोमा भने सरकार चुकेको अवश्य नै हो ।
टेकु अस्पतालका भाइरोलोजिष्ट डा. शेरबहादुर पुनका अनुसार जथाभाबी फालिएको मास्कमा भाइरस भए सरसफाई गर्ने व्यक्तिको माध्यमबाट उक्त भाइरस अन्य व्यक्तिमा सर्न सक्छ । प्रयोग भइसकेको मास्क जहाँ पनि फाल्दा भाइरस जीवित छ भने सफाइ गर्ने व्यक्तिलाई उक्त भाइरस सर्ने सम्भावना हुन्छ डा पुनको दाबी छ । उनका अनुसार फालिएको मास्कमा कोरोना भाइरस मात्र नभई अन्य भाइरसहरु पनि हुनसक्छ ।
कोरोना भाइरस मास्कमा ५- ७ दिनसम्म रहन सक्छ भने केही भाइरसहरु यो भन्दा पनि लामो समयसम्म उक्त मास्कमा रहन सक्छन् । टीबीका ब्याक्टेरिया कोरोना भाइरस भन्दा पनि बढी समयसम्म मास्कमा रहन्छन् । विभिन्न प्रकारका संक्रमणबाट जोगिनका लागि प्रयोग हुने मास्कको सही विसर्जन एक चुनौतीका रुपमा देखिएको वातावरण विज्ञहरुको टिप्पणी छ । मास्कको विसर्जन समयमै सही रुपमा गर्न नसके भविष्यमा भाइरस फैलिन सक्ने सम्भावना बढेको विज्ञहरुको तर्क छ ।
सरकारले जारी गरेको निर्देशिकामा के छ
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ महामारीको आपतकालीन अवस्थामा स्वास्थ्यजन्य फोहोरमैलाको व्यवस्थापन सम्बन्धि निर्देशिका बनाएको छ ।
निर्देशिकामा मास्कको बाहिरी सतहमा ७ दिनसम्म भाइरस जीवित नै रहने उल्लेख गरिएको छ । उक्त निर्देशिकाले अस्पताल तथा स्वास्थ्य संस्थाहरुबाट निस्किएको फोहोरमैलालाई उचित रुपमा व्यवस्थापन गर्नका लागि निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्क्ता डा.समीर कुमार अधिकारीका अनुसार स्वास्थ्य संस्थाबाट निस्किएको फोहोरलाई डिसइन्फेक्सन गरेर मात्र विसर्जन गर्ने गरिएको छ ।
मास्कको सही रुपमा विसर्जन कसरी गर्ने
स्वास्थ्य संस्थाहरुबाट निस्कने फोहोरमैला तथा मास्कको विसर्जनलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको निर्देशिकाले समेट्ने भएकोले स्वास्थ्य संस्था फोहोर व्यवस्थापनमा चुनौती नहुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्त्ता समीर कुमार अधिकारी बताउँछन् ।
उनका अनुसार मास्क विसर्जनको पक्षलाई धेरै ख्याल गर्नुपर्ने हुन्छ । प्रयोग गरिसकेको मास्कलाई ५ दिनसम्म थैलोमा हावा नछिर्ने गरी राख्नुपर्ने हुन्छ । मास्कको विसर्जनको पाटोमा हरेक व्यक्तिले ख्याल गरेको खण्डमा त्यसबाट संक्रमण फैलिने डर कम हुने सहप्रवक्ता अधिकारी बताउँछन् ।