– छिटो छिटो सास फेरेमा (प्रति मिनेट ६० पटक वा सोभन्दा बढी)
– कडा कोखा हानेमा
– सुस्त वा बेहोस् वा कम चलाइ भएमा
– आमाको दूध राम्ररी चुस्न नसकेमा
– शीता· अथवा हात र खुट्टा छाम्दा चिसो भएमा
– ज्वरो आएमा, निधार, काखी र पेट छाम्दा तातो भएमा
– नाइटो पाकेको वा छालामा पीप भरिएका फोकाहरू भएमा
सुत्केरी र नवजात शिशुको स्याहारमा परिवारको भूमिका
यस समयमा सुत्केरी आमालाई श्रीमान् र परिवारको समर्थन र सहयोगको अवश्यकता पर्दछ । नवजात शिशुलाई स्तनपान गराउनुको लागि घरमा उचित वातावरण सुनिश्चित गर्नु पर्दछ। सुत्केरी र नवजात शिशुका लागि सुरक्षित सफा ओड्ने ओछ्यान र मलमल जस्तै नरमकपडा वा पूरानो सफा कपडाको व्यवस्था गर्नुपर्दछ ।
सुत्केरीआमाको घाउ तथा पाठेघरलाई निको गर्न र पहिलेको अवस्थामा आउन दिनको लागि पर्याप्त आराम आवश्यक हुन्छ । त्यसैगरी शिशुको नाइटो निको हुन, झर्न र संक्रमणबाट सुरक्षित गर्न आराम गर्ने समय दिनुपर्दछ ।
नवजात शिशुलाई बाहिरी तापक्रम, वातावरण र खाना आदि समायोजन गर्नका लागि परिवारले उचित वातावरण मिलाउनु पर्दछ ।
सुत्केरी आमालाई बेला–बेलामा पौष्टिक खाना तथा मनतातो झोल खुवाउनुपर्छ । सुत्केरी आमालाई साविक भन्दा बढी खाना खान दिनुपर्दछ । पौष्टिक खानाले सुत्केरीको शरीर मर्मत र तन्दुरुस्त बनाउँछ । यसकोसाथै पौष्टिक खानाको प्रभावले शिशुलाई आवश्यक दुध निर्माण हुन्छ ।
सुत्केरी आमालाई हर्मोन तथा संवेगात्मक सन्तुलन गर्न परिवारको सहयोग र समय चाहिन्छ । पहिलो बच्चा जन्मेपछि जन्मान्तरको उपाय गर्नु पर्दछ । यसले आमाको स्वास्थ्यमा र शिशुको स्याहारमा सहयोग पुग्दछ ।
सुत्केरी आमामा निम्न लिखित खतरामा लक्षण देखापरेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा लैजानु पर्छ:
– ज्वरो आएमा
– योनीबाट गन्हाउने पानी बगेमा वा तल्लो पेट (पाठेघर) दुखेमा
– धेरै रगत बगेमा (२ वटा भन्दा बढी टालो पूरै भिजेमा वा चोक्टा चोक्टा रगत बगेमा)
– टाउको साह्रै दुखेमा
– हातखुट्टा अररो भइ मुर्च्छा परेमा