काठमाडौं । सन् १९९६ देखि आँखाको लेन्सको उत्पादन सुरु गरेको तिलगंगा आँखा प्रतिष्ठानले हालसम्म करिब ६० लाख आँखाका लेन्स उत्पादन गरिसकेको छ । अस्पतालले वार्षिक २ लाखका दरले आँखाको लेन्स उत्पादन गर्दै आएको तिलगंगा आखाँ प्रतिष्ठान लेन्स उत्पादन विभागका प्रमुख नवीन अधिकारीले जानकारी दिए।
गत वर्ष विश्व महामारीका रुपमा देखा परेको कोरोना भाइरसको प्रभाव आँखा अस्पतालले उत्पादन गर्दै आएको लेन्समा पनि पर्यो । सन् २०२० को सुरुवात देखि नै लेन्स उत्पादनमा कोरोनाको प्रभाव परेको तिलगंगा आँखा प्रतिष्ठान लेन्स उत्पादन विभागका प्रमुख नवीन अधिकारीले जानकारी दिए । तिलगंगा आँखा प्रतिष्ठानले उत्पादन गरेको आँखाको लेन्स विश्वका करिब ७० मुलुकहरुमा निर्यात हुने गरेको छ ।
नेपाली लेन्स निर्यातको प्रमुख गन्तव्य चीन भएको अधिकारी बताउँछन् । प्रतिष्ठानले उत्पादन गरेको लेन्समध्ये ३० प्रतिशत चीनमा निर्यात हुँदै आएकोमा गत डिसेम्बरबाट चीनको हुवाई प्रान्तबाट कोरोना भाइरस महामारीको रुपमा फैलिएसँगै लेन्स निर्यातमा करिब ६० प्रतिशतले कमी आएको थियो अधिकारी भने।
उत्पादित लेन्स ३५ प्रतिशत नेपालमै उपयोग हुने तथा बाँकी विश्वका अन्य मुलुकमा निर्यात हुने गरेको अधिकारी बताउँछन् । कोरोना भाइरसको प्रकोप व्यापक हुँदै जाँदा तथा नेपाल पनि लकडाउन तथा निषेधाज्ञा भएपछि गत मार्च तथा अप्रिल महिनामा लेन्स निर्यात शुन्य अवस्थामा पुगेको तिलगंगा आखाँ प्रतिष्ठानका चिफ अपरेटिङ अफिसर पिताम्बर सुवेदी बताउँछन् ।
लेन्स उत्पादनका लागि आवश्यक पर्ने अत्यावश्यक सामाग्रीहरु प्रतिष्ठानले अष्ट्रेलिया तथा बेलायत लगायतका मुलुकहरुबाट ल्याउने गरेको उनी बताउँछन् । उत्पादित लेन्स फोल्टएबल तथा नोफोल्टएबल गरी दुई प्रकारको हुने र १२ देखी २१ डलरसम्म रुपैयाँसम्म निर्यात हुने गरेको छ ।
तिलगंगाले उत्पादन गर्ने लेन्स बेलायतको एसजीएस कम्पनीबाट सीई मार्क तथा आईएसओ सर्टिफाइड छ । आईएसओ मार्क प्राप्त गर्ने तिलगंगा दक्षिण एसियाकै तेस्रो अस्पताल हो। सन् २०१२ मा अष्ट्रेलियाको मेलबर्न विश्वविद्यालयले गरेको इन्ट्राअकुलर लेन्सको प्रयोगसम्बन्धी अध्ययनमा समेत नेपाली लेन्सको गुणस्तरले अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेको छ । यसले नेपाली उत्पादनको थप विश्वसनीयता बढेको छ।
आँखा उपचारमा डाक्टर रुइत र तिलगंगाको योगदान
डाक्टर सन्दुक रुइतले तिलगंगालाई विश्वकै एक उत्कृष्ट आँखा अस्पतालको रुपमा परिचित गराएका छन् । उनले विकास गरेको उपचार पद्धति ,रुइतेक्टोमीअहिले विश्वका धेरै देशले अपनाउने गरेका छन् । आँखाको क्षेत्रमा उत्कृष्ट काम गरेबापत डाक्टर रुइत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित भइसकेका छन् ।
आँखाको क्षेत्रमा विशिष्ट योगदान गरेकै कारण डाक्टर रुइत सन् २००६ मा नोबेल पुरस्कार मानिने रमन म्यागासेसे पुरस्कारबाट सम्मानित भएका थिए। साथै तिलगंगा आँखा प्रतिष्ठानले विश्व स्वास्थ्य संगठनबाट केही समय अगाडि मात्रै समन्वय केन्द्रको मान्यता पनि पाएको छ । आँखा उपचार सेवामा यसरी विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओको समन्वय केन्द्र मान्यता पाउने प्रतिष्ठान नेपालको पहिलो संस्था हो ।
जन्मजातरुपमा दुर्घटना पश्चात् अर्थात् बढ्दो उमेरसँगै हुने मोतिबिन्दुको शल्यक्रिया पश्चात् आँखामा कृत्रिम प्रकारको लेन्सको प्रयोग गरिने आँखा रोग विशेषज्ञहरु बताउँछन् । अन्य सामान्य औषधिको प्रयोगले मोतिबिन्दु निको नहुने भएकोले यस्ता रोगीहरुका लागि शल्यक्रियाको नै आवश्यक पर्ने गर्छ । आँखाको ज्योति गुमेकाहरुका कृत्रिम लेन्सको प्रयोगपछि आँखाको ज्योति फर्कने गर्छ ।
मानिसको आँखामा प्राकृतिक लेन्स हुन्छ । त्यही प्राकृतिक लेन्स अपारदर्शी भएपछि नदेख्ने समस्या हुन्छ । प्राकृतिक लेन्सलाई झिकेर कृत्रिम लेन्स अर्थात् इक्ट्राअकुलर लेन्स राखिन्छ । नेपालमा कुल जनसंख्याको झण्डै शून्य दशमलव २ प्रतिशत नागरिक मोतीबिन्दुको समस्याबाट पीडित रहेको अनुमान छ।