नियमित रूपमा राखिने सन्तुलित व्रतले व्रतालुलाई अनगिन्ती स्वास्थ्यलाभ पुर्याउने तथ्य वैज्ञानिक अनुसन्धानले पुष्टि गरिसकेका छन् ।
यद्यपि, व्रत राख्दा केही सावधानी भने अवश्य अपनाउनुपर्ने हुन्छ । अर्थात्, सबै अवस्था र परिस्थितिमा, सबैखाले मानिसका लागि व्रत उपयोगी हुन्छ भन्ने हुँदैन । विशेष स्वास्थ्य समस्या भएका व्यक्तिका लागि व्रत वर्जित छ । व्रतको सन्तुलन, यसका स्वास्थ्यलाभ र सावधानीबारे मुटुरोग विशेषज्ञ डा। ओममूर्ति अनिलको धारणा यस्तो छ :
विशेषगरी हिन्दू धर्मावलम्बी, त्यसमा पनि अधिकांश महिला धार्मिक दृष्टिकोणले व्रत (उपवास) बस्ने गर्छन् । यद्यपि, हिन्दूइतरका समुदायमा पनि उपवास गर्ने परम्परा भने छँदै छ । सामान्यतः व्रतको मूल उद्देश्य देवी–देवतालाई खुसी बनाई परिवारमा सुख, शान्ति, समृद्धि भित्र्याउनु तथा पति, सन्तान र आफ्नो सुस्वास्थ्यका लागि वरदान प्राप्त गर्नु रहेको मानिँदै आएको छ । तर, पछिल्लो समय धार्मिक दृष्टिले मात्र नभई स्वास्थ्यलाई सुदृढ राख्नका लागि वा बिग्रिएको स्वास्थ्यमा सुधारका लागि पनि निश्चित समयको अन्तरालमा नियमित व्रत बस्ने चलन मौलाइरहेको छ । साताको एक दिन १६ घण्टाको उपवास गर्नु वैज्ञानिक दृष्टिले निकै स्वस्थकर रहेको अनुसन्धानले पुष्टि गरेका छन् ।
मूलतः आस्थाकेन्द्रित व्रत साँच्चिकै वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यका लागि लाभकर छ त ? के यसका वैज्ञानिक आधार छन् ? यो लेख यसै विषयमा केन्द्रित रहनेछ ।
व्रत बस्नेवेला कम्तीमा १६ घण्टा खाना र क्यालोरी प्राप्त गर्ने कुनै पनि झोल कुरा नखाँदा विभिन्न फाइदा हुने वैज्ञानिक अध्ययनहरूले देखाएका छन् । वैज्ञानिक आधार र अध्ययनका नतिजाको विश्लेषण गर्दा व्रतका फाइदालाई निम्नबमोजिम सूचीकृत गर्न सकिन्छ ।
१. व्रतले तौल घटाउन मद्दत गर्छ ।
कम क्यालोरीको सेवनबाट मेटाबोलिक रेट बढ्ने र ग्रोथ हर्मोनको बढी उत्पादन हुने भएकाले तौल घटाउन मद्दत गर्छ । तपाईं तौल घटाउन इच्छुक हुनुहुन्छ भने व्रतबाट सुरु गर्न सक्नुहुन्छ ।
२. व्रतले कोलेस्टेरोल सन्तुलनमा सघाउँछ ।
व्रतले फैटको मेटाबोलिज्म बढाएर कोलेस्टेरोललाई नियन्त्रण गर्छ । साथै, व्रतका वेल मांसाहारी खानाको प्रयोग नहुनु र फलफूलको प्रयोग बढी हुनुले पनि नराम्रो कोलेस्टेरोल र ट्राइग्लिसराइड घटाउने र राम्रो कोलेस्टेरोल बढाउने सम्भावना हुन्छ ।
३. व्रतले इन्सुलिन सेन्सिटिभिटी बढाउँछ ।
व्रतले विभिन्न रासायनिक प्रक्रियाको मद्दतले इन्सुलिनको कामलाई प्रभावकारी बनाउँछ । मोटोपन भएको व्यक्तिमा इन्सुलिन रेसिस्टेन्सको वातावरण हुनाले यस्तो व्यक्तिका लागि व्रत अत्यन्तै लाभदायक हुन्छ ।
४. व्रतले रक्तचाप नियन्त्रणमा सघाउँछ ।
व्रतमा क्यालोरी र नुनको प्रयोग कम हुने भएकाले उच्च रक्तचापको नियन्त्रणमा मद्दत पुग्छ ।
५. व्रतले रोगप्रतिरोधात्मक क्षमतामा सुधार ल्याउँछ ।
व्रतले रोगसँग लड्ने कोषको संख्यामा सुधार ल्याउँछ र हानि पुर्याउने कोषहरूलाई नियन्त्रण गर्न मद्दत गर्छ ।
६. व्रतले क्यान्सरबाट बचाउन मद्दत गर्छ ।
व्रतले कोषहरूको मर्मत गर्छ, स्वास्थ्य तन्तुहरूलाई सुरक्षित राख्छ र विकार वा घातक पदार्थलाई कोषभित्रै निष्क्रिय बनाउँछ । व्रतले हानिकरक हर्मोन (आइजिएफ–१) लाई नियन्त्रण गर्ने र अन्य कोषभित्रको गतिविधिलाई साकारात्मक बनाएर क्यान्सरको जोखिम घटाउने तथ्य विभिन्न जनावरमा गरिएको अध्ययनले पुष्टि गरेको छ ।
७. व्रत स्ट्रेस र इन्फ्लामेसनको नियन्त्रणमा उपयोगी हुन्छ ।
क्यान्सर, मुटुरोग, बाथरोग, स्नायुरोग र अन्य जटिल दीर्घरोगहरूको प्रमुख कारणमध्ये स्ट्रेस र इन्फ्लामेसन प्रमाणित तथ्य हो । व्रतले फ्री रडिकलले हुने हानिलाई रोक्ने साइटोकाइनलाई नियन्त्रण गर्नेजस्ता अन्य रासायनिक क्रियामा सकारात्मक असर गरेर धेरै यस्ता रोगका जोखिमलाई घटाउने वैज्ञानिक धारणा देखिन्छ ।