काठमाडौं । सरकारले ६७ देशबाट नेपाल आउनेलाई क्वारेन्टिन अनिवार्य गरेको छ । अध्यागमन विभागले शुक्रबार एक सूचना जारी गर्दै ओमिक्रोन फैलिएको ६७ देशबाट नेपाल प्रवेश गर्नेहरुका लागि सात दिन होटेल क्वारेन्टिन अनिवार्य गरिएको जनाइएको छ ।
मंसिर १३ गतेको मन्त्रिपरिषद् बैठकले ओमिक्रोन संक्रमण भएका देशबाट नेपाल आउँदा कडाइ गर्ने निर्णय गरेको र त्यसकै आधारमा यस्तो व्यवस्था गरिएको अध्यागमनले जनाएको छ ।
होटेल क्वारेन्टिन बस्दाको खर्च सम्बन्धित व्यक्तिले नै तिर्नुपर्ने सूचनामा जनाइएको छ । परीक्षणमा रिपोर्ट नेगेटिभ आए घर गएर थप सात दिन आइसोलेसनमा बस्नुपर्ने विभागले जारी गरेको सूचनामा उल्लेख छ ।
अध्यागमनको सूचीमा अफ्रिकी मुलुकसहित अमेरिका, बेलायत, क्यानडा, स्पेन, इटाली, डेनमार्क, अस्ट्रिया, बेल्जियम, साइप्रस, फ्रान्स, जर्मनी, ग्रिस, नेदरल्यान्ड्स, नर्वे, पोल्यान्ड, पोर्चुगल, रसिया, सिंगापुर, स्विट्जरल्यान्ड, टर्की, दक्षिण कोरिया, थाइल्यान्ड, मलेसिया र माल्दिभ्स रहेका छन् ।
यसअघिनै प्रभावित अफ्रिकी देशका नागरिकलाई सरकारले अनअराइभल भिसामा रोक लगाइसकेको छ ।