काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमणलाई मध्यनजर गर्दै ६७ देशबाट नेपाल भित्रनेलाई अनिवार्य होटल क्वारेन्टिइन बस्नुपर्ने निर्णय गरेको सरकार उक्त निर्णयबाट पछि हटेको छ। अध्यागमन विभागले शनिबार एक सूचना जारी गर्दै यसअघि शुक्रबार गरिएको निर्णय तत्कालका लागि स्थगित गरिएको जनाएको छ।
अध्यागमन विभागले एक सूचना निकालेर सात दिन आफ्नै खर्चमा होटल क्वारेन्टाइनमा बस्नुपर्ने निर्णय तत्कालका लागि स्थगित गरिएको जनाएको छ। शुक्रबारको सूचनामा होटेल क्वारेन्टिन बस्दाको खर्च सम्बन्धित व्यक्तिले नै तिर्नुपर्ने र परीक्षणमा रिपोर्ट नेगेटिभ आए घर गएर थप सात दिन आइसोलेसनमा बस्नुपर्ने विभागका निर्देशक मुकेशकुमार केसीले जारी गरेको सूचनामा भनिएको थियो।
अफ्रिकी मुलुकसहित अमेरिका, बेलायत, क्यानडा, स्पेन, इटाली, डेनमार्क, अस्ट्रिया, बेल्जियम, साइप्रस, फ्रान्स, जर्मनी, ग्रिस, नेदरल्यान्ड्स, नर्वे, पोल्यान्ड, पोर्चुगल, रसिया, सिंगापुर, स्विट्जरल्यान्ड, टर्की, दक्षिण कोरिया, थाइल्यान्ड, मलेसिया र माल्दिभ्सबाट आउनेलाई क्वारेन्टिनमा बस्नुपर्ने भन्दै सूचना जारी गरिएको थियो।