सन् २०१० मा ३०० अश्लील चलचित्रमा गरिएको एक अध्ययनमा ८८ प्रतिशत चलचित्रमा शारीरिक हिंसा भएको पाइएको थियो।
अधिकांशमा पुरुष हिंसक थिए र उनीहरूको लक्ष्य महिला थिए जसलाई त्यो हिंसाबाट सन्तुष्टि मिलेको वा वास्ता नभएको देखाइएको थियो।
पत्रपत्रिका र वैज्ञानिकहरूले पुरुष र अश्लील चलचित्रको अत्यधिक प्रयोगबारे धेरै लेखेका छन्।
सन् २०१६ मा बीबीसीलाई ब्रिटिश यौनमनोवैज्ञानिक एन्जेला ग्रेगोरीले भनेकी थिइन् कि सजिलै प्राप्त भइरहेको अश्लील चलचित्रका कारण पुरुषमा यौन उत्तेजना नहुने रोग बढेको छ।
एउटा अध्ययनले सन् २००० ताका करिब दुईदेखि पाँच प्रतिशत नपुसंकताको कारण अश्लील चलचित्र भएकोमा देखाएको थियो। अहिले ३० प्रतिशत नपुसंकताको कारण अश्लील चलचित्र भएको देखिएको छ।
ब्रिटेनमा यौन दुर्व्यसनको उपचारमा कार्यरत डा. ठाडेउस बिर्चार्डका अनुसार अश्लील चलचित्रमा पुरुष धेरै आकर्षित हुनुको कारण मानव मस्तिष्क पनि हो।
उनी भन्छन्, "महिलाहरूमा यौन उत्तेजना हुँदा मस्तिष्कमा अक्सिटोसिन निस्कन्छ जुन मानव सम्बन्ध विस्तारको रसायन हो।"
"पुरुषहरूमा भने भासोप्रेसिन निस्कन्छ जुन कुनै कुरामा एकाग्र हुन सघाउने रसायन हो।"
"यही कारणले गर्दा पुरुषहरू इन्टरनेटमा घण्टौँसम्म बाह्य संसार बिर्सेर एकाग्र भई बस्न सक्छन," बिर्चार्ड भन्छन्।
उनका अनुसार धेरै महिलाहरू शरीरका अङ्गमा रुचि नराख्ने भएका कारण पुरुषहरूको अश्लील चलचित्रप्रति बढी झुकाव देखिएको हो।
"अश्लील चलचित्र हेर्नै नहुने होइन। यो मदिराजस्तो हो - कोही एक गिलास पिउँछन्, कोही बोतल नै रित्याउँछन्।"
तर अश्लील चलचित्रले आफ्नो शरीरबारे सकारात्मक सोच्न वा साँचो प्रेमबारे सिकाउँदैन।
नेपालको अवस्था
सन् २००९ मा सिविन-नेपालले काठमाण्डूका विद्यार्थीमाझ गरेको एउटा अध्ययनमा ३६ प्रतिशत किशोरकिशोरीले इन्टरनेटमा अश्लील चलचित्र हेर्ने गरेको बताएका थिए।
सन् २०१५ मा एउटा जर्नलमा प्रकाशित अध्ययनमा इन्टरनेट प्रयोगकर्तामध्ये २०.८ प्रतिशतले अश्लील सामग्री हेर्नका लागि इन्टरनेट चलाउने जानकारी दिएका थिए।
यौन सामग्रीमा पहुँच र यसको ज्यादा प्रयोगले व्यक्तिमा आजीवन असर गर्ने खालका नकारात्मक प्रभावहरू पर्ने मनोवैज्ञानिकहरू बताउँछन्।
इन्टरनेट र यसको सुरक्षित प्रयोग पुस्तिकाका अनुसार
- अश्लील चलचित्र हेरेपछि बालबालिकामा उमेर नपुग्दै यौनप्रति रुचि देखिन थाल्छ
- यौन सामान्य र सहज हो भन्ने छाप पर्छ
- उनीहरू समकालीन वा वयस्कहरूसँग उत्तेजक व्यवहार गर्न थाल्छन्
- परिवार र साथीभन्दा बेग्लै बस्न रुचाउँछन्
- लागुपदार्थको कुलतमा फस्न सक्छन्
- अध्ययनप्रति रुचि नदेखाउने र आत्महत्यासम्मको प्रयास पनि गर्न सक्छन्।