के कोरोना भाइरस रोग निको भएकाले पनि यो खोप लगाउनुपर्छ ?
पर्छ । विश्व स्वास्थ्य संगठनका अनुसार, कोरोना भाइरसको संक्रमण भएर निको भएकालाई पनि फेरी यो संक्रमण हुन सक्ने हुनाले खोप लगाउनुपर्छ । संक्रमण निको भएपछि बन्ने एन्टिबडी शरीरमा कति लामो समयसम्म रहन्छ भन्ने यकिन/थाहा नभएकोले पनि सबैले खोप लगाउनुपर्छ ।
के यो खोप लिएपछि फेरी कोरोना भाइरसको संक्रमण हुन्छ ?
हुन सक्छ । यो खोप लिएपछि पनि केहि व्यक्तिहरुमा कोरोना संक्रमण हुन सक्छ । तर खोप लिएपछि कोरोना संक्रमण भएतापनि यसबाट गम्भीर बिरामी पर्ने सम्भावना निकै कम हुन्छ । त्यसैले खोप लिएपछि पनि भिडभाडमा नजाने, मास्कको अनिवार्य प्रयोग, अर्को व्यक्तिसँग २ मिटर दुरी कायम गर्ने तथा बेलाबेलामा साबुन पानीले हात धुनेजस्ता स्वास्थ्य सुरक्षाका मापदण्डहरूको पालनालाई निरन्तरता दिनुपर्छ ।
यो खोप कसले लगाउनु हुँदैन ?
- यो खोपको पहिलो मात्रा लिएपछि गम्भिर एलर्जी (एनाफाइलेक्सिस् प्रतिक्रिया) भएको व्यक्तिहरूले
- यसभन्दा अघि अरु कुनै खोप वा औषधिसँग गम्भिर एलर्जी (एनाफाइलेक्सिस्) प्रतिक्रिया भएको
- गर्भवती महिलाहरूलाई
- यसका साथै १८ वर्ष मुनिका बालबालिकामा यो खोपको अनुसन्धान भइरहेकोले हाललाई यो समूहलाई खोप सिफारिश गरिएका छैन
कुन कुन स्वास्थ्य समस्या भएकाहरूले यो खोप लिन हुन्छ?
- दीर्घरोग जस्तै– मुटु, मस्तिष्क, फोक्सो सम्बन्धी रोग, मृगौला रोग, मधुमेह (सुगर) शिकलसेल एनिमिया र क्यान्सर रोग भएका
- रोग प्रतिरक्षा कमी भएका वा रोग प्रतिरक्षा कमि गर्ने औषधि सेवनकर्ताहरू
- एच.आई.भि. भएका
यस्ता स्वास्थ्य समस्या भएकाहरूले यो खोप लिनु झनै आवश्यक छ । कोरोना भाइरसको संक्रमण भएमा यस्ता स्वास्थ्य समस्या भएकाहरू बिरामी हुने सम्भावना बढी भएकाले पनि उनीहरुले यो खोप लिन जरुरी छ ।
यो खोपको कति मात्रा लगाउनुपर्छ ?
यो खोपको दुई मात्रा लगाउनुपर्छ । पहिलो मात्रा लगाएको ८ हप्ता पूरा भएपछि १२ हप्ता भित्र दोस्रो मात्रा लगाउनु पर्दछ ।
यो खोप लगाएपछि के के असरहरू देखिन सक्छन् ?
कोभिड–१९ खोप लगाएका केही मानिसहरूमा अन्य खोपहरू लगाउँदा जस्तै सामान्य असरहरू देखिन सक्छन् । यसका सामान्य असरहरूमा खोप लगाएको ठाउँमा सुन्निने, दुख्ने वा रातो हुनसक्ने, टाउको दुख्ने, ज्वरो आउने, जिउ दुख्ने, थकान वा आलस्य महशुस हुने, वाकवाकी लाग्ने, मांशपेशी वा जोर्नी दुख्ने, वान्ता आउने, आदि रहेका छन् । यस्ता सामान्य असरहरू विस्तारै ठिक भएर जान्छन् ।
यो खोपले कति समयसम्म सुरक्षा प्रदान गर्छ ?
खोपको कारणले वृद्धि भएकोे प्रतिरोधात्मक क्षमता कति समयसम्म रहन्छ भन्ने अझैपनि यकिन भएको छैन ।
के खोप लगाएपछि पनि जनस्वास्थ्यका मापदण्डहरु नियमित रुपले पालना गर्नु पर्छ ?
कोरोना खोप लगाएपछि स्वास्थ्य सुरक्षाका अभ्यासहरूः दुरी कायम गर्ने, मास्कको अनिवार्य प्रयोग गर्ने र बेलाबेलामा साबुन पानीले मिचिमिचि हात धुने व्यवहारहरूको नियमित पालना गर्नैपर्छ ।