काठमाडौं । काठमाडौं महानगरपालिका–१७ मा रहेको क्षेत्रपाटी निःशुल्क चिकित्सालयमा अक्सिजन प्लान्ट जडान गरिएको छ।
दया फाउण्डेशन, अमेरिकामा रहेको नेपालीहरुको संस्था युनाइटेड नेवा, आईओएनलगायतका दर्जन बढी संस्था तथा व्यक्तिको सहयोगमा क्षेत्रपाटीमा रहेको क्षत्रपाटी निःशुल्क चिकित्सालयमा अक्सिजन प्लान्ट जडान गरिएको छ।
दैनिक एक सय सिलिण्डर क्षमताको अक्सिजन प्लान्टको ऊर्जामन्त्री पम्फा भुसालले शनिबार उद्घाटन गरिन्। क्षेत्रपाटी निःशुल्क चिकित्सालयका अध्यक्ष डा मनोजमान श्रेष्ठको सभापतित्वमा आयोजित कार्यक्रममा मन्त्री भुसालले एक करोड ४५ लाख लागतमा निर्मित अक्सिजन प्लान्टको उद्घाटन गर्दै बढ्दो कोरोना महामारीका विरुद्धमा लड्न थप मद्दत मिल्ने विश्वास व्यक्त गरिन्।
मन्त्री भुसालले नयाँ नयाँ भाइरसको प्रभाव विश्वका अन्यत्र बढिरहेको सन्दर्भमा नेपालमा पूर्वतयारी आवश्यक रहेको बताउँदै उक्त अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्टले जनताको जीवन रक्षामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताइन्।
मन्त्री भुसालले क्षेत्रपाटी निःशुल्क चिकित्सालयले शहरी क्षेत्रको बीचमा रहेर न्यून आय भएका, गरिब, असहाय जनताको सेवामा गरिरहेको उल्लेख गर्दै अस्पताललाई थप सहयोग गर्ने बताइन्।काठमाडौं महानगरपालिका–१७ का अध्यक्ष नविन मानन्धरले अस्पतालले २०७२ सालको भूकम्प र हालको कोडिभ महामारीमाउल्लेख्य भूमिका खेलेको बताउँदै सरकारले पूर्वाधार विकासमा ध्यान दिन नसकेको गुनासो गरे।
कार्यक्रममा क्षेत्रपाटी निःशुल्क चिकित्सालयका उपाध्यक्ष कुमारदेव मानन्धरले दैनिक १०० सिलिण्डर अक्सिजन उत्पादन हुने, स्वचालित पाइपमार्फत् सिधैं अस्पतालको बेडहरुमा पुग्ने अक्सिजन प्लान्ट निर्माण सम्पन्न भएको जानकारी दिँदै छिट्टै उक्त प्लान्टबाट अक्सिजन सिलिण्डरमा भर्ने व्यवस्था हुने जानकारी दिए।