एजेन्सी । स्मृति क्षय हुने रोगलाई अल्जाइमर भनिन्छ । अल्जाइमरलाई मस्तिष्कका विकृतिहरुको समष्टिगत रुप पनि भन्ने गरिन्छ । अल्जाइमरले सोच, स्मृति बोली, निर्णय, क्षमता, छनोट तथा व्यक्तित्वमा नै दुष्प्रभाव पार्छ । यस रोगले व्यक्तिको व्यवहार तथा व्यक्तित्वमा परिवर्तन गर्ने नयाँ कुरा सिक्न र हिँडडुल गर्न नसक्ने बनाउँछ ।
यो रोग विस्तारै बढ्दै जाने भएकोले शुरुमा यसको पहिचान हुँदैन, त्यसैले बिरामीले शुरुमा उपचारको आवश्यकता महसुस गर्दैन । स्मृति क्षय हुँदै जाने भएकोले बिरामीले खाना पकाउने, लुगा लगाउने, टेलिफोन उठाउनेलगायतका सामान्य दैनिक कामकाज समेत गर्न सक्दैन ।
लामो समयपश्चात् यो रोग लागेका व्यक्तिहरुले आफ्नो छोराछोरीलाई समेत नचिन्ने हुन्छ । ढल्कदो उमेरसँगै देखा पर्ने यो रोग यति व्यापक भएको छ कि सन् २०५० सम्ममा विश्वका १ प्रतिशतभन्दा बढी मानिसहरुमा यो रोगको जोखिम बढ्न सक्ने अनुमान गरिएको छ ।
अल्जाइमरको जोखिमका कारणहरु
बढ्दो उमेर
६५ वर्षमुनिका व्यक्तिहरुमा यो रोग कम नै पाइएको छ ।
पारिवारिक इतिहास
परिवारका अग्रज सदस्यहरु कसैमा अल्जाइमर लागेको छ भने त्यस्ता व्यक्तिहरुमा अल्जाइमरको जोखिम बढी हुने गर्छ ।
लिंग
पुरुषको तुलनामा महिलाहरुको औसत आयु बढी हुने भएकाले महिलाहरुमा अल्जाइमरको जोखिम बढी हुने पाइएको छ । टाउकोमा लागेको चोटपटकका कारण, मुटुसँग सम्बन्धित समस्याहरु पनि अल्जाइमरको समस्या देखा पर्नमा सहयोगी भूमिका खेल्ने गर्छन् ।
लक्षण
स्मरण शक्ति क्षय हुनु नै अल्जाइमरको पहिलो संकेत हो । अल्जाइमर रोग लागेका व्यक्तिले आफूलाई उक्त रोग लागेको थाहा पाउन नसकेपनि परिवारका अन्य सदस्यहरुले उसमा आएको व्यवहारिक परिवर्तनका कारण उसलाई यो रोग लागेको थाहा पाउन सक्छन् ।
अल्जाइमर लागेपछि स्मरणशक्ति सम्बन्धि निम्नलिखित समस्याहरु देखा पर्न सक्छन् ।
– महत्वपूर्ण तिथिमिती बिर्सनु ।
– एउटै प्रश्न बारम्बार सोधिरहनु ।
– आफ्ना दैनिक काम पूरा गर्न नसक्नु ।
– ठाउँ, मिती र समयबारे भ्रम पैदा हुनु ।
– सामाजिक क्रियाकलापहरु सही रुपमा पूरा गर्न नसक्नु ।
– आफूलाई मनपरेका कुराहरु समेत गर्न नसक्नु ।
– व्यक्तित्व र मुडमा परिवर्तन आउनु जस्तै साना कुराहरुमा डराउनु ।
– कुनै पनि सामानहरुलाई राम्रोसँग मिलाएर राख्न नसक्नु ।
उपचार विधी
अल्जाइमर रोगको कुनै निश्चित उपचार छैन । खाली चिकित्सले स्मरण क्षमतामा आएको कमी तथा मस्तिष्कका अन्य क्रियाकलायहरुलाई कसरी व्यवस्थित गर्ने भन्ने मात्रै सिकाउँछन् । नियमित रुपमा गरिने शारीरिक व्यायाम, सामाजिक कार्यमा सक्रियताका कारण यो बढ्ने गतिलाई कम भने बनाउन सकिन्छ ।
रोकथाम
जीवनशैलीका तरिकाले अल्जाइमरलाई घटाउन सकिन्छ । सामाजिक क्रियाकलापहरुमा बढी मात्रामा सक्रिय हुनाले अल्जाइमरको जोखिमलाई कम गराउन सकिन्छ । सामाजिक क्रियाकलापमा बढी सक्रिय हुनु तथा दैनिक रुपमा व्यायाम गर्नाले पनि अल्जाइमरको जोखिमलाई कम गर्न सकिन्छ ।
व्यायाम बढी मात्रामा गरेमा मस्तिष्कको कार्यक्षमता बढाउनमा सहयोग गर्छ । साथसाथै रक्तसञ्चार प्रणालीलाई चुस्तदुरुस्त राख्ने खालका व्यायाम गर्नाले पनि अल्जाइमरको जोखिमलाई कम गर्न सकिन्छ । खानामा चिल्लो पदार्थको कम मात्रामा प्रयोग, सागसब्जी तथा फलफुलको नियमित रुपमा सेवन गर्ने व्यक्तिमा पनि अल्जामरको जोखिम अन्य व्यक्तिको तुलनामा कम हुने गरेको पाइएको छ । भेजिटेरियनमा अल्जाइमरको समस्या कम ने देखिन्छ ।