नेपालमा अल्ट्रासाउण्डको व्यापक प्रयोगसँगै किशोरी एवं प्रजनन् उमेरका महिलामा डर्मोइड सिस्ट पत्ता लाग्ने क्रम बढेको छ।
डिम्बाशयमा हुने ट्युमरमध्ये १५ देखि २० प्रतिशतमा डर्मोइडको समस्या हुन सक्छ। त्यस्तै, गर्भावस्थामा देखिने डिम्बाशयका सम्पूर्ण ट्युमरमध्ये २० देखि ४० प्रतिशतसम्म डर्मोइड हुन्छ भने १५ देखि २० प्रतिशतसम्म डर्मोइड सिस्ट दुवै डिम्बाशयमा हुन सक्छ। १५ देखि २० प्रतिशत डर्मोइड सिस्ट बटारिने हुन्छ भने करीब एक प्रतिशतमा डर्मोइड सिस्ट फुट्ने जटिलता आउन सक्छ।
डिम्बाशयमा पानी वा कुनै प्रकारको रस भरिएर डल्लो बन्ने अवस्थालाई मेडिकल भाषामा सिस्ट भनिन्छ। डर्मोइड सिस्ट भने विभिन्न कोष बन्ने तत्वबाट पलाउने भएकोले यसभित्र हड्डी, कार्टिलेज (कुरकुरे हाड), कपाल, दाँत, स्नायु तन्तु, थाइरोइड, र्याल ग्रन्थी, बोसोको लेदो भेटिन सक्छ।
लक्षण र व्यवस्थापन
प्रजनन् उमेरको पछिल्लो समयमा प्रायः महिलामा विना कुनै लक्षण चिह्न डिम्बाशयमा नन्–नियोप्लास्टिक ट्युमर पलाउँछ। यस्तो समस्या अल्ट्रासाउण्ड गर्दा वा ल्याप्रोस्कोपी अपरेशनको समयमा पत्ता लाग्छ। डर्मोइड सिस्टको जरा बटारिने, यसभित्र रक्तस्राव हुने, संक्रमण हुने, फुट्ने, क्यान्सरमा परिणत हुने जस्ता जटिलता उत्पन्न हुन सक्छन्। डिम्बाशयका ट्युमरमध्ये डर्मोइड सिस्टमा बढ्ता जटिलता उत्पन्न हुन्छ। त्यसमा पनि क्यान्सरमा परिणत हुने जटिलता बढी गम्भीर हुन्छ। डर्मोइड सिस्टमध्ये १ देखि २ प्रतिशत क्यान्सरमा परिणत हुन सक्छ।
कसै–कसैमा सिस्टको आकार बढेसँगै तल्लो पेट भारी हुँदै फुल्ने हुन सक्छ। सिस्टले ठूलो बनाएको पेट छाम्दा भित्र नरम खालको डल्लो रहेको महसूस हुन्छ। पाठेघरमा मासु पलाउने समस्या (फाइब्रोइड) भन्दा डिम्बाशयको ट्युमर बढी चलायमान हुन्छ र आन्तरिक जाँच गर्ने क्रममा छिट्टै भेट्टिन्छ।
डर्मोइड सिस्ट र यसमा रहेको रक्तप्रवाहबारे छिटो जानकारी पाउने माध्यम भनेको अल्ट्रासाउण्ड एवं डप्लर विधि हो। पेटको एक्सरे र ल्याप्रोस्कोपी प्रविधिबाट पनि डर्मोइड सिस्ट पहिचान हुन्छ। पिसाब भरिएको, गर्भावस्था, पाठेघरमा मासु पलाउने समस्या, पेटमा पानी भरिएको र पाठेघरको छेउमा बाक्लो लिगामेन्ट रहेको अवस्थामा भने डर्मोइड सिस्टसँग झ्ुक्किन सक्छ।
डर्मोइड सिस्ट औषधि खाएर नपग्लिने र कुनै पनि बेलामा क्यान्सरलगायतका जटिलता उत्पन्न हुनसक्ने भएकोले यो पत्ता लाग्नासाथ शल्यक्रिया गराउनु बुद्धिमानी हुन्छ। डर्मोइड भएका महिलाको उमेर, बच्चा पाउने चाहना आदि पक्षमाथि विचार गरेर सिस्ट मात्र निकाल्ने, एकातिरको डिम्बाशय नै निकाल्ने वा ४० वर्ष नाघेको भए पाठेघरसहित दुवैतर्फको डिम्बाशय निकाल्ने निर्णय गरिन्छ।