भोजपुर । जिल्ला अस्पताल परिसरमा ‘नर्सिङ क्वाटर’ भवनको निर्माण थालिएको छ। सघनसहरी तथा भवन निर्माण आयोजना धनकुटाको भ्याटसहित तीन करोड ३२ लाख लागतमा ब्राइटबुल युडी विल्डर्स जेभीले क्वाटर भवन बनाउन सुरु गरेको हो।
सम्झौता अनुसार निर्माण अवधि २०८९ सालको फागुनसम्म रहेको भए पनि गुणस्तरीय ढङ्गले निर्माण गरेर त्योभन्दा अघि नै सरकारलाई हस्तान्तरण गर्ने निर्माण कम्पनीले दाबी गरेको छ। निर्माणको सम्झौता विसं २०७८ को भदौ महिनामा भएको हो। भवनलाई यही चैत महिनामा सक्ने यदि कुनै कारण बस सम्भव नभएमा २०८९ को जेठभित्रमा सम्पूर्ण काम सकेर बस्न लायक भवन बनाएर जिम्मा लगाउने कम्पनीले जनाएको छ।
निर्माण कम्पनीका प्रतिनिधि उत्तम खड्काले भने, “कामको थालनी गरेको छोटो अवधिमा करिब ५० प्रतिशत बढी भौतिक प्रगति भएको छ। कामलाई तोकिएको समयावधि आगावै सम्पन्न गरेर सरकारलाई हस्तान्तरण गर्ने लक्ष्यका साथ काम गरिरहेका छौँ। म आफू पनि स्थानीय भएकाले यहाँको नर्सिङ आवासको समस्या चाँडो हटाउनु हाम्रो पनि दायित्व हो।”
मुख्य गरेर यहाँ कार्यरत नर्सलाई लक्षित गरेर भवन निर्माणको काम थालिएको हो। भित्तामा पर्खाल लगाउने, जग बसाल्ने लगायत काम गत भदौ महिनाबाट थालिएको भए पनि मुख्य आवास भवन निर्माणको काम भने कात्तिक महिनाबाट सुरु भएको हो। भवनको पहिलो तला ढलानको काम सकिएको छ।
दुई तलाको भवनमा आठ परिवारलाई बस्न मिल्नेगरी आवश्यक सुविधा सम्पन संरचना निर्माण हुने अस्पतालले जनाएको छ। भवनको कामलाई गुणस्तरीय बनाउनका लागि तोकिएको मापदण्ड अनुसारको सामग्री मात्र प्रयोग गरिएको सघनसहरी तथा भवन निर्माण आयोजना कार्यालय धनकुटाले जनाएको छ।
प्रयोगमा ल्याएइका सामग्री ल्याब टेस्ट गरेर इञ्जिनीयरकोे प्रत्यक्ष निगरानीमा काम भइरहेको कार्यालयको भनाइ छ। सघनशहरी तथा भवन निर्माण आयोजना कार्यालयका इञ्जिनीयर नवलकिशोर चौधरीले भने, “भवनलाई तोकिएको मापदण्ड अनुसारको सामग्री मात्र प्रयोग गरिएको छ। गुणस्तरलाई ध्यानमा राख्दै यहाँ प्रयोगमा आउने, बालुवा, गिटी, सिमेन्ट लगाएको ल्याब गरेका छौँ। निर्माणका क्रममा हामीले प्रत्यक्ष निग्रानी गरिरहेका छौँ। यो भवन गुणस्तरीय ढङ्गले समयमा सम्पन्न हुनेमा कार्यालयको तर्फबाट पनि काम भइरहेको छ।”
पहाडी जिल्ला एवं आवश्यक सुविधा कम हुँदा स्वास्थ्यकर्मी तथा डाक्टर कमैले मात्र यहाँ बस्न रुचाउने गरेका छन् । जसका कारण यहाँको स्वास्थ्य सेवा प्रभावित हुँदै आएको अवस्था समेत छ। केही समय यहाँ बस्ने त्यसपछि सहरका सुविधायुक्त ठाउँमा सरुवा हुने चलन रहँदै आएको छ। आवाससँगै अन्य सुविधामा सुधार गर्ने काम भएकाले अब त्यो समस्या कम हुनेमा स्थानीय आशावादी बनेका छन्।
रासस