काठमाडौं । काठमाडौं विश्व विद्यालयबाट सम्बन्धन प्राप्त सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी)ले चिकित्सा शिक्षा नियमविपरीत विद्यार्थीहरुसँग अतिरिक्त शुल्क असुल्दै आएको खुलेको छ ।
काठमाडौं मेडिकल कलेजले आयोगले तोकेको भन्दा बढी शुल्क दिएको भन्दै एमबिबिएस तथा बिडिएसका विद्याथीहरुले आयोगले केएमसीलाई कानुनी दायरा नल्याए आफूहरुले कडा आन्दोलनका कार्यक्रमहरु ल्याउने बताए ।
आज एमबिबिएस तथा बिडिएस अध्ययनरत्त विद्यार्थीहरुले एक पत्रकार सम्मेलनको आयोजना गर्दै केएमसीले आयोगले तोकेको भन्दा बढी शुल्क लिने निर्णय फिर्ता नलिए आगामी दिनमा आन्दोलनका कडा कार्यक्रम ल्याउने बताए।
चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०७७–७८ का लागि काठमाडौं उपत्यकाभित्र एमबिबिएसको शुल्क ४० लाख २३ हजार २५० रुपैयाँ निर्धारण गरेको छ। यस्तै बिडिएसको २० लाख १९ हजार ५८० रुपैयाँ तोकिएको छ।तर केएमसीले भने आयोगले तोकेको शुल्कभन्दा २५ लाखसम्म बढी रकम माग गरेको पाइएको छ।
शिक्षण शुल्कका विषयमा आयोगले पटक पटक सार्वजनिक सूचना निकाले पनि केएमसीले उक्त सूचना विपरित विद्यार्थीलाई अतिरिक्त शुल्क तिर्न दबाब दिइरहेको छ। कलेजले विद्यार्थीलाई जबरजस्ती अतिरिक्त शुल्क तिर्न सम्झौता पत्रमा हस्ताक्षर गर्न लगाएपछि विद्यार्थीले उक्त विषयमा आयोगमा समेत जानकारी गराएका छन्।
आयोगले शिक्षण शुल्कमा शिक्षण संस्थाले चिकित्सा शिक्षाको अध्ययन अवधिभरमा लिने भर्ना, शिक्षण, ल्याब, पुस्तकालय, सामुदायिक तालिम वा परीक्षा शुल्क समेत समावेश भएको भन्दै विद्यार्थीसँग शुल्क नलिन ध्यानाकर्षण गराएको छ।तर कलेजले आयोगको ध्यानाकर्षण र निर्देशनलाई अटेर गर्दै आएको छ।
कोरोना महामारीका कारण ढिला शुरु भएको एमबिबिएस तथा बिडिएसको शैक्षिक कार्यक्रम अहिले फेरि शुल्क विवादका कारण पछाडि धकेलिने भएको छ।काठमाडौं मेडिकल कलेजले आयोगले तोकेको भन्दा बढी शुल्क मागेपछि अध्ययन सुरु गर्नुपर्ने समयमा आन्दोलनमा होमिन बाध्य भएको केएमसीमा अध्ययनरत्त विद्यार्थी निचिता कोइरालाले बताइन् ।
‘कलेजले आयोगले तोकेको भन्दा बढी शुल्क माग्यो त्यसैले हामी आन्दोलित भएका छौं, उनले भनिन् कलेजले होस्टेलमा बसेको मात्रै शुल्क मासिक २४ हजार मागेको छ । पानी, बिजुली,इन्टरनेटको समेत थप शुल्क तिर्न भनेको छ उनले भनिन् । एमबिबिएस अध्ययनका लागि करिब ६५ लाख सम्म शुल्क माग गरेको विद्यार्थीहरुको गुनासो छ ।
हामीले यस समस्याको समाधानका लागि काठमाडौं विश्वविद्यालयका डिन तथा चिकित्सा शिक्षा आयोगका उपाध्यक्षलाई समेत भेट्यो तर समस्या समाधान भन्दा पनि केयूले आयोगलाई देखाउने तथा आयोगले केयूलाई देखाउने मात्र काम भयो एमबिबिएसका विद्यार्थी रोशन शाहले बताए ।
‘कलेजले दिएको शुल्कको कन्ट्र्याक पेपर हेर्दा ६० देखि ६५ लाखको हाराहारीमा छ,’ उनले भने, ‘कलेजले बढी शुल्क मागेपछि हामी चिकित्सा शिक्षा आयोग र जिल्ला प्रशासन कार्यलयमा समेत पुगेका छौं, तर केही भएन, त्यसैले आन्दोलन गर्नुपर्ने बाध्यता आइलाग्यो।’कलेजले बुझाउनुपर्ने शुल्क उल्लेख गरेको विवरणमा भर्ना फारमको ५ हजार, होस्टल बसेको वार्षिक शुल्क १ लाख ४४ हजार र इन्टर्नसीपको शुल्क २ लाख ४० हजार गरी ३ लाख ८९ हजार बुझाउनुपर्ने भनिएको छ।
यस्तै, केयु रजिष्ट्रेसन शुल्क २५ हजार, केयु सम्बन्धन शुल्क ९८ हजार ५७९ र नेपाल मेडिकल काउन्सिलको रजिष्टेसन शुल्क ५ हजार गरी १ लाख २८ हजार ५७९ रुपैयाँ मागिएको छ।