काठमाडौं- हाम्रा समाजका परम्परागत संरचना र सोँचलाई हाल सम्म भएका बिभिन्न खाले परिवर्तनले खासै केहि पर्वर्तन गर्न सकेनन् भन्ने आभास भएको छ ।
यतिबेला विवेकशील भनिएको मानवबाट सञ्चालित छ हाम्रो समाज । तर पनि तिनै परम्परागत संरचना र सोचले राक्षसको शैलीमा यही समाजलाई खाइरहेका छन् ।
त्यसको एउटा ज्वलन्त उदाहरण हो महिला हिंसा ।महिला हिंसा समाजको एउटा त्यो रूप हो, जसले महिलाका सामान्यभन्दा सामान्य अधिकार पनि लुटिरहेको छ ।
त्यसैले यो एउटा जघन्य अपराध हो । चरम महिला हिंसाको नियति भोगिरहेको छ हाम्रो समाजले आज । राष्ट्रिय र अन्तराष्ट्रिय समुदाय महिला हिंसाकै विरुद्धमा सडकमा छन् यतिबेला ।
यो एउटा प्रत्यक्ष सरोकारको विषय बन्न पुगेको छ । त्यसैले महिला हिंसा के हो ? जान्न जरूरी छ ।
बलात्कार, घरेलु हिंसा, हत्या (कुटपिट), बोक्सी आरोपमा गाउँ निकाला, दाइजो प्रथा, बहुविवाह, बाल विवाह र अन्य मानसिक तथा शारीरिक यातनादेखि महिलालाई अपहेलना महसुस हुने कुनै पनि धम्क्याउनेदेखि जिस्क्याउनेसम्मका घटना महिला हिंसा हुन् ।
महिला अधिकार सुरक्षित गर्न र महिला हिंसाजस्ता जघन्य अपराध रोक्न दीर्घकालीन उपाय के हुन सक्छन् त ? यो प्रश्नको जवाफ कुनै एउटा व्यक्ति, समाज वा संस्थाले मात्रै दिन सक्दैन ।
राज्यले अन्य निकायको तुलनामा अधिक भूमिका खेल्नु अनिवार्य छ तर राज्यले पनि सर्वपक्षीय सहयोगबिना केही गर्न सक्दैन । महिलाका समस्या सबैका साझा समस्या हुन् र यसको समाधान गर्न पनि समाजका सम्पूर्ण पक्षको सहकार्य जरूरी छ ।
आजभोली दिनप्रति दिन महिला हिंसाका घटनाहरु बढिरहेका छन् । महिला अधिकारकर्मीका अनुसार जम्मा १० प्रतिशत यस्ता घटना बाहिर आउने गरेका छन् जस मध्ये पनि धेरै पिडितले न्याय नपाएको बताउछन् । बाँकी ९० प्रतिशत घटना घरपरिवारको दबाब, इज्जत र प्रतिष्ठामा आँच आउँछ भन्ने डर तथा चेतनाको अभावले बाहिर आउँनै पाउदैनन् ।
यी र यस्ता घट्नाहरुलाई कम गर्ने उदेश्यले महिला स्वास्थ्य र कुरुदय सेल्फ डिफेन्स नेपालको सहकार्यमा काठमाडौंका विभिन्न कलेजहरुमा बल होइन बुद्धिको प्रयोग गरेर आफुभन्दा बलवान व्यक्तिबाट आफ्नो रक्षा कसरी गर्ने " Fight Like A Girl"भनेर आत्मरक्षा सम्बन्धि कक्षाहरु सम्पन्न भएका छन् ।
मदन भण्डारी मेमोरियल कलेज ,मेधावी कलेज ,नमुना कलेज अफ फेसन , गोल्डेनगेट र नोबल कलेजमा निःशुल्क सेल्फ डिफेन्स कार्यक्रम सम्पन्न भएको हो । आफ्नो रक्षाको लागि अरु को भर नपरि स्वंयम नै सजक हुनु पर्छ भन्ने यो कार्यक्रमको मुख्य उदेश्य हो ।
महिलाहरुको आत्मबल बढाउने र उनिहरुले आफुमाथि हुने हिंसाको प्रतिकार गर्न सक्ने क्षमताको बुद्धि समेत गराउने उदेश्यका साथ उक्त कार्यक्रम आयोजना गरिएको आयोजक टिम बताउछन् ।
आगामी दिनहरुमा देशका ७७ वटा जिल्लाहरुमा पुगेर स्थानिय तहका महिला ,किशारी ,बुद्धाहरुलाई कसरी आत्मरक्षा गर्न सकिन्छ भनेर तालिम गराउने आयोजकहरु बताउछन् ।