झापा- झापामा बसोबास गर्दै आएको आदिवासी सन्थाल समुदाय कोभिड-१९ को महामारीको प्रभावबाट अन्य समुदायका तुलनामा जोगिन सफल भएको पाइएको छ।
जिल्लामा कोभिड-१९ बाट सङ्क्रमित भएकाको विगत डेढ वर्षको तथ्याङ्क अध्ययन गर्दा ती समुदायमा न्यून प्रभाव परेको र मानवीय क्षति एकदमै थोरै रहेको देखिन्छ।
ती समुदाय आर्थिकरुपले जति विपन्न छन्, स्वास्थ्य क्षेत्रमा पनि उत्तिकै पहुँचविहीन छन्। स्थायी रोजगारी र पर्याप्त स्रोतको अभावमा उनीहरु भोक, रोग र दैनिक जीवनका कठिनाइको बोझले थिचिएका हुन्छन्।
यति हुँदाहुँदै पनि कोरोना भाइरसको सङ्क्रमणबाट यो समुदाय जोगिन कसरी सफल भयो यसका कारणबारे ठोस अध्ययन अनुसन्धान भएको छैन। दशकौँअघि झापालगायत तराईका जिल्लामा फैलिएको औलो (मलेरिया) रोगको महामारीमा समेत यो समुदाय सुरक्षित थियो।
विसं २०२० अघिसम्म मलेरियाको महामारीग्रस्त जिल्ला मानिन्थ्यो। यसको कडा प्रभावबाट अरु समुदायका मानिसको अनगिन्ति मृत्यु भएको मेची बहुमुखी क्याम्पसका पूर्वप्राध्यापक चिन्तामणि दाहाल बताउछन्। तत्कालीन समयमा पनि जिल्लामा बसोबास गरिरहेका ती समुदाय भने पुरै सुरक्षित थियो।
उनले सन्थाल समुदायमा कोरोना भाइरस प्रतिरोध गर्नसक्ने क्षमता ज्यादामात्रामा रहेको हुनसक्ने विषयमा अनुसन्धानको खाँचो आँल्याए। “यसरी उनीहरुले मलेरिया पचाउनसके, त्यसरी नै कोरोना भाइरस पचाएको हो कि होइन भन्ने विषयमा वैज्ञानिक अनुसन्धान जरुरी छ”, उनको भनाइ छ।
स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार नेपालमा कोरोना महामारीको पहिलो लहर चलेको अवधि विसं २०७७ वैशाख १ देखि विसं २०७८ चैत ३१ गतेसम्ममा १२९ जनाले कोरोना सङ्क्रमणका कारण मृत्युवरण गरेका छन्।
उक्त एक वर्षका अवधिमा ती समुदायका दुई महिनाका एक जना शिशुको मेची प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो। यसबाहेक पहिलो लहरमा सो समुदायका कसैको पनि मृत्यु भएको पाइँदैन।
कोरोना महामारीको दोस्रो लहर चलेका बेला विसं २०७८ वैशाख १ देखि विसं २०७८ असोज मसान्तसम्मको तथ्याङ्क अध्ययन गर्दा मेची प्रादेशिक अस्पताल भद्रपुरमा उपचारका क्रममा ती समुदायका ६० वर्षीया एक वृद्धाको सङ्क्रमणबाट मृत्यु भएको पाइयो। जबकि, दोस्रो लहरमा जिल्लामा कोरोना सङ्क्रमणबाट ४०३ जनाको मृत्यु भएको थियो।
यी दुई जनाको बाहेक सन्थाल समुदायमा कोरोना सङ्क्रमणबाट कसैको मृत्यु भएको रेकर्ड देखिँदैन। जिल्लामा लगभग ४० हजार आदिवासी सन्थालको बसोबास रहेको अनुमान छ। ती समुदाय शहरिया र आधुनिक जीवनचर्याबाट अझै पनि टाढा छ। केहीको पक्की घर र सुविधाजनक बसोबास भए तापनि अधिकांश सन्थाल ग्रामीण भेगमा कच्ची घरमा बस्छन् र उनीहरुको रहनसहन परम्परागत शैलीको छ।रासस