जुन समय नेपालमा मानसिक स्वास्थ्य सम्बन्धि जनचेतना लगभग शुन्य अवस्थामा थियो , त्यही समयमा एउटा नेपाली डाक्टर भारतबाट साइक्याट्रिक्समा एम.डी सकेर नेपालको मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्छु भन्दै लाग्यो त्यो समय नै नेपालको मानसिक स्वास्थ्यका लागि एक स्वर्ण युगको रुपमा स्थापित हुन सफल भयो । नेपालमा समुदायमा आधारित मानसिक स्वास्थ्य सेवा क्षेत्रका एक हस्ती डा.ध्रुबमान श्रेष्ठसँग गरिएको कुराकानीको एक अंश
१ . नेपालमा चिकित्सकहरुको संख्या एकदमै कम भएको समयमा हजुरको झुकाव कसरी मानसिक स्वास्थ्य सेवातर्फ पुग्यो?
विं.सं २०३५ /३६ सालतिरको कुरो हो । त्यति बेला नै मैले जिल्लाहरुमा गएर १० वर्ष सरकारी सेवामा बिताई सकेको थिए । मलाई मनपर्ने विषय सर्जरी थियो ।
तर सर्जरी अध्ययन गर्न जान विभिन्न कारणवश असम्भव भयो । साइक्याट्रिक्स पढ्नका लागि भारतबाट छात्रवृति प्राप्त भयो । अन्य विकल्प नभएका कारण म साइक्याट्रिक्स अध्ययनमा लागेको थिए । मेरो वरिष्ठता तथा काठमाडौं बाहिर पनि पटक - पटकको कार्य अनुभवका कारण मैलै साइक्याट्रिक्स अध्ययनका लागि छात्रवृति पाएको थिए । साइक्याट्रिक्स पढेकोमा मलाई कुनै पनि आत्म ग्लानी भने भएको छैन । समय र परिस्थितीले गर्दो यो विषय पढेपनि आत्मग्लानी भने पटक्कै भएको छैन ।
२. त्यो समयमा मानसिक स्वास्थ्य तथा मानसिक रोगप्रति समुदायको धारणा कस्तो थियो ?
त्यति बेलाको समयमा मानिसमा मानसिक स्वास्थ्यबारेको चेतना प्राय शुन्य नै थियो । त्यो समयमा मानसिक रोगप्रतिको समुदायको धारणा ज्यादै नकारात्मक थियो । यदि कोही कसैलाई मानसिक रोग लागि हाल्यो भने पनि त्यो व्यक्तिलाई ज्यादै हेलाको दुष्टिकोणले हेर्ने गरिन्थ्र्यो ।
३ .मानसिक अस्पतालको एक संस्थापकको रुपमा हजुरले झेल्नुभएको संघर्षबारे बताईदिनु न ?
मानसिक अस्पतालको स्थापनामा अग्रणी भूमिका मेरो भन्दा पनि स्वर्गीय डा. विष्णु प्रसाद शर्माको रहेको छ । उहाँ नै मानसिक अस्पतालको जन्मदाता हुनुहुन्छ । स्थापनाकालमा मेलै पनि नगन्य मात्रामा संघर्ष भने गरेको हुँ । मानसिक अस्पताल काठमाडौंमा बनाउन नदिने ,कहिले बागलुङ पठाउने त कहिले भक्तपुरको सुर्यविनायकमा बनाउने कुरा चल्यो ।
तत्कालीन स्वास्थ्यमन्त्री स्वर्गीय श्रीमती शुसिला थापा हुनुहुन्थ्र्यो । त्यो समयमा मानसिक अस्पताल ,लगनखेलबाट बाहिर सार्नुहुन्न,समुदायमा नै रहनुपर्छ भन्ने मेरो अडानलाई साथ दिनेमा डा.निराकार मान श्रेष्ठ र विश्वबन्धु शर्मा पनि हुनुन्थ्र्यो ।
४ .मानसिक स्वास्थ्य कार्यक्रमको अगुवाका रुपमा यहाँलाई लिइन्छ,यसबारे केही प्रकाश पारिदिनु हुन्छ कि ?
देशमा पहिलो पटक भक्तपुर जिल्लाका सबै हेल्थपोष्टहरुका हेल्थ असिष्टेण्ट र अहेवहरुलाई मानसिक अस्पालमा बोलाई मानसिक स्वास्थ्य सम्बन्धि १० दिने तालिमको व्यवस्था गर्नुृका साथै महिला ग्रामीण स्वयंम् सेविकाहरुलाई पनि २ दिने मानसिक स्वास्थ्य सेवा सम्बन्धि तालिम दिएको थिए ।
त्यस्तै भक्तपुर अस्पतालमा साप्ताहिक मानसिक स्वास्थ्य कार्यक्रमको सुरु गरिएको थियो । हरेक हेल्थ सेन्टर तथा हेल्थ पोष्टहरुमा मानसिक स्वास्थ्यम तालिम प्राप्त हेल्थ वर्करको साथै साधारण मानसिक रोगको प्रयोग हुने औषधि समेत निशुल्क उपलब्ध गरिएको थियो । यो कार्यक्रम निकै प्रभावकारी हुनुका साथै सफल पनि भएको थियो । यो कार्यक्रम सफल पार्न स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग,भक्तपुर जिल्ला जनस्वास्थ्य कार्यालय ,भक्तपुर अस्पताल ,मानसिक अस्पतालका अफिसरहरु तथा कर्मचारीहरु , विश्व स्वास्थ्य संगठन लगायतले भूमिका खेलेका थिए ।
५ं .मानसिक स्वास्थ्य सेवा पुनस्थापना केन्द्र सञ्चालनमा हालको अवस्था तथा सरकारले आगामी दिनमा चाल्नुपर्ने कदमका बारेमा हजुरको विचार के छ ?
काठमाडौं र मनोरोग चिकित्सकहरु भएको जिल्लाहरुमा व्यक्तिगत रुपमा केही मानसिक रोगको उपचार गर्ने सानो सानो नर्सिङ होमहरु खुलेका छन् भन्ने सुन्नमा आएको छ । तर कसरी सञ्चालनमा आएका छन् भन्नेबारे भने कुनै पनि जानकारी छैन । तीमध्ये दुई केन्द्रहरुको अवलोनकन पनि गरेको थिए ती संस्थाहरुले गरेका कामहरु सन्तोषजनक छैनन् ।
मानसिक स्वास्थ्यको क्षेत्रमा कुनै पनिव ज्ञान नभएका मानिसहरुले त्यस्ता संस्थाहरु सञ्चालन गरिरहेका छन् । यस्ता संस्थाहरु सञ्चालनका लागि राज्यले निश्चित नियमहरु बनाएर सञ्चालनको अनुमती दिनुपर्ने आवश्यकता रहेको देख्छ्। कडा प्रकारका तथा दीर्घ बिरामीहरु ,परिवारबिहीन मानसिक बिरामीहरुका लागि राज्यले नै पुनस्थापनको कार्यक्रम साथै समुदायमा आधारित आधारित कार्यक्रम ल्याउनुपर्ने हुन्छ ।
६.नेपालको मानसिक स्वास्थ्यको अगुवाको रुपमा राष्ट्रिय मानसिक स्वास्थ्य नीतिको कार्यान्वयबारे धारणा के छ ?
नेशनल मेन्टल हेल्थ पोलिसी तयार त भएको छैन तर यसलाई समय सापेक्ष रुपमा परिवर्तन गर्न आवश्यक भइसकेको छ । कार्यान्वयन बारेमा पूर्ण रुपमा कार्यान्वयन हुन पाएको छैन र त्यस क्षेत्रमा धेरै कामहरु गर्न बाँकी रहेको छ।
७ . नेपालमा मानसिक स्वास्थ्य ऐन आउन असक्नुका कारणहरु के –के होलान् ,यसका लागि के –कस्ता कदम चाल्नु आवश्यक छ ?
राजनैतिक अस्थिरता र मानसिक स्वास्थ्य सम्बन्धि विभिन्न गैरसरकारी संघ संस्थाहरुको विरोधले यो ऐन आउनमा ढिलो भएको हो ।
८. मानसिक स्वास्थ्य सम्बन्धमा समाजमा रहेका गलत तथा नकारात्मक धारणहरुलाई हटाउन के – के गर्नुपर्ला ?
समाजबाट मात्रै होईन राज्यबाट पनि मानसिक स्वास्थ्यको क्षेत्र हेपाईंमा परेको छ । जनतालाई स्वास्थ्य सेवा प्रदान गर्ने राज्यमा नै मानसिक स्वास्थ्यप्रतिको विभेदलाई कम गर्नुपर्छ । व्यापक रुपमा जनचेतना फैलाउनु साथै जिल्ला अस्पतालहरुबाट मानसिक स्वास्थ्य सेवा उपलब्ध गराउनका राज्यले सक्नुपर्छ ।
९. मानसिक स्वास्थ्यको क्षेत्रमा काम गरिहेका तथा आउन चाहनेहरुका लागि यहाँको के सुझाव छ ?
मानसिक स्वास्थ्य क्षेत्रको अध्ययन गर्न चाहनेहरुलाई गतिलो शिक्षण संस्था छान्नका लागि मेरो अनुरोध छ । तालिम तथा विशेषज्ञता लिइसकेपछि तालिम दिन सक्ने संस्थामा काम गर्नु र सामुदायिक मानसिक स्वास्थ्य र पुनस्थापनामा पनि जोड दिनु भन्न चाहन्छु । साथै मानसिक बिरामीहरु कुनै पनि खोर भित्र थुनिएर बस्नुनपरोस् भन्न चाहन्छु ।