तीन साताअघि बागलुङ नगरपालिकाको बलेवास्थित एउटै विद्यालयका २० विद्यार्थीमा कोरोनाभाइरसको सङ्क्रमण देखियो। सङ्क्रमण पुष्टि भएकाहरू चारदेखि १६ वर्ष उमेर समूहका थिए।
अधिकांश सङ्क्रमित बालबालिकामा ज्वरो, रुघा र खोकीजस्ता सामान्य लक्षण देखिएको बागलुङका जनस्वास्थ्य अधिकृत रामप्रसाद खनाल बताउँछन्।
"अधिकांश बालबालिका स्वास्थ्य स्वयंसेविका र अन्य स्वास्थ्यकर्मीको निगरानीमा घरमै आइसोलेट भए," खनालले जानकारी दिए।
युरोपका कतिपय देशमा बालबालिकामा कोरोनाभाइरसको सङ्क्रमण बढ्दो देखिएकै कारण विद्यालयहरू बन्द हुन थालेका छन्।
कोभिड-१९ को अवस्था प्रतिकूल भएको खण्डमा अर्को शैक्षिक सत्र अनलाइन लैजान यूकेका विद्यालयहरू तयार रहेको त्यहाँका विद्यालय सञ्चालकहरूले बताएका छन्। सङ्क्रमणका कारण धेरै विद्यार्थी घरमै रहने हुँदा उक्त तयारी फलदायी हुने उनीहरूको अनुमान छ।
कतिपय विद्यालयमा क्रिसमस छुट्टीअगाडि नै तयारीस्वरूप ल्यापटप घर लैजान भनिएको छ। त्यहाँका ३० भन्दा बढी स्थानीय अधिकारीहरूले बताएअनुसार कतिपय विद्यालयहरूले भौतिक कक्षा बन्द गरी अनलाइन कक्षा सञ्चालनमा ल्याइसकेका छन्।
किन बढ्यो जोखिम?
नेपालमा पनि विद्यालयहरूले भौतिक कक्षा सञ्चालन गरेदेखि बालबालिकामा सङ्क्रमणको जोखिम बढेको बताउँछिन् बालरोगविज्ञ डा. रेनु प्रसाईँ।
सङ्क्रमणको जोखिममा विद्यालय जाने बालबालिका मात्र भने छैनन्।
गत मङ्सिरमा इमाडोलकी कोपिला अधिकारी र उनका पति विज्ञानमा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भयो। त्यसको केही दिनमै उनीहरूकी ११ महिने छोरीको शरीरको तापक्रम ह्वात्तै बढ्यो।
परीक्षण गराउँदा उनमा पनि सङ्क्रमण पुष्टि भयो।
"अस्पताल पुर्याउँदा छोरीलाई १०२ डिग्री फरेन्हाइट ज्वरो थियो। करिब चार दिन ज्वरो घट्ने, बढ्ने भइरह्यो," विज्ञानले भने।
त्यतिबेला उनलाई अरुचि भयो। सङ्क्रमणमुक्त भए पनि उनको स्वास्थ्य अवस्थामा भने सुधार नआएको विज्ञान बताउँछन्।
"अरुचि र रुघा खोकीमा सुधार छैन। बान्ता हुने र श्वासप्रश्वासमा समस्या यथावत् छ," उनले भने, "सङ्क्रमण भएदेखि सातामा दुई पटक अस्पताल पुर्याउनुपर्ने भएको छ," उनले भने।
यस्तोमा उनको भौतिक कक्षाको उपस्थिति प्रभावित भयो।
कामकाजी मानिसहरू बाहिरबाट फर्किँदा तथा भौतिक दूरी कायम राख्न नसक्दा घरमा भएका जोखिम समूहका अरू मानिसमा कोरोनाभाइरस सर्ने सम्भावना बढेको विज्ञहरू बताउँछन्।
बालबालिकाका सङ्क्रमणको अवस्था कस्तो छ?
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको गत दुई साताको तथ्याङ्कअनुसार हाल सङ्क्रमण पुष्टि भइरहेकामध्ये करिब दुई प्रतिशत १० वर्षमुनिका र करिब १० प्रतिशत १० देखि १९ वर्ष उमेर समूहका बालबालिका र किशोरकिशोरी छन्।
नेपालमा डेल्टा भेरिअन्ट अतिसक्रिय रहेको अवस्थामा (मे ६ देखि २० सम्म) यो प्रतिशत क्रमशः २.४ र ६.४ प्रतिशत थियो।
महामारी नसकिएको र भाइरसको नयाँ ओमिक्रोन भेरिअन्ट देखिएकाले बालबालिका तथा किशोरकिशोरीलाई सङ्क्रमणबाट जोगाउनुपर्ने बालरोग विशेषज्ञहरू बताउँछन्।
सङ्क्रमणसम्बन्धी परीक्षण नै न्यून रहेकाले सङ्क्रमित बालबालिकाको सङ्ख्या न्यून देखिए पनि विद्यालयहरूमा भिड हुने भएकाले सतर्क रहनुपर्ने सुझाव पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत डा. प्रेरणा कंसाकारको छ।
बालबालिकामा कोरोनाभाइरस सङ्क्रमण भए लक्षण कसरी चिन्ने?
बालबालिकामा ज्वरो आउने, घाँटी दुख्ने, रुघा र खोकी लाग्ने, श्वासप्रश्वासमा समस्या देखिए ती सङ्क्रमणको लक्षण हुन सक्ने डा. रेनु प्रसाईँ बताउँछिन्।
त्यस्तै केही बालबालिकाको शरीरमा डाबरहरू देखिने, बान्ता आउने, पेट दुख्ने र श्वासप्रश्वासमा समस्या देखिएको छ।
कोभिड-१९ सङ्क्रमणका लक्षणहरू मौसमी फ्लूका लक्षणसँग मिल्दो हुने जानकारी उनले दिइन्।
"विद्यालय खुलेसँगै नेपालका बालबालिकामा दुई-तीन थरीका सङ्क्रमण एकदमै धेरै देखिएका छन्। उनीहरूमा इन्फ्लूएन्जा र ह्यान्ड-फुट-माउथ सङ्क्रमण देखिन थालेको छ," उनले भनिन्।
एक प्रकारको भाइरसको सङ्क्रमण हुँदा ह्यान्डल-फुट-माउथ रोग लाग्छ। यो सङ्क्रमण भएका बालबालिकालाई ज्वरो आउने, रुघा खोकी लाग्ने, हत्केला र पैतालामा बिमिरा आउने वा मुखभित्र घाउ हुने जस्ता लक्षण देखिन्छन्।
"त्यसैले लक्षण मिल्दो भयो भन्दैमा कोरोनाभाइरसको सङ्क्रमण नहुन सक्छ। चिकित्सकको परामर्श चाहिँ आवश्यक हुन्छ," डा. प्रसाईँले भनिन्।
कसरी छुट्ट्याउने कोभिड-१९ र अन्य सङ्क्रमण?
सङ्क्रमणसँग मिल्दो लक्षण देखिए पछि सम्बन्धित बालबालिका निकट अभिभावक, आफन्त, साथीहरू वा शिक्षक शिक्षिकालाई सङ्क्रमण भए नभएबारे जानकारी लिनु महत्त्वपूर्ण भएको बताउँछिन् डा. प्रसाईँ।
"बालबालिका सङ्क्रमित हुने पहिलो आधार कसैको सम्पर्कमा आउनु हो। त्यसैले निकट कोहीबाट सर्न सक्ने सम्भाव्यताको जाँच गर्नु आवश्यक हुन्छ," उनले भनिन्।
त्यस्तै कोभिड-१९ सङ्क्रमण भएका बालबालिकालाई श्वासप्रश्वासमा समस्या देखिने, झाडापखाला लाग्ने, घाँटी दुख्ने समस्या अन्य सङ्क्रमणको तुलना बढी हुन्छ।
डा. प्रेरणा कंसाकारका अनुसार कोरोनाभाइरस भएका बालबालिकालाई रुघाको समस्याले अन्य सङ्क्रमण हुँदाभन्दा कम सताउँछ।
कोरोनाभाइरस सङ्क्रमण हुँदा कस्तो असर?
चिकित्सकहरूका अनुसार कोरोनाभाइरस भएका बालबालिकामा निमोनिया र मल्टीसिस्टम इन्फ्लमेटरी सिन्ड्रम इन चिल्ड्रेन (एमआईएससी) को समस्या देखिन्छ।
निमोनिया भएका अर्थात् फोक्सोमा दाग देखिएका बालबालिका चिसोका कारण दीर्घकालीन रूपमा प्रभावित हुन सक्छन्।
त्यस्तै एमआईएससी भएकाहरूको भने शरीरका विभिन्न प्रणाली प्रभावित हुन्छन्। कोभिड-१९ विरुद्ध शरीरको रोग प्रतिरोधात्मक प्रतिक्रिया असन्तुलित हुने भएकाले यो समस्या देखिने डा. कंसाकार बताउँछिन्।
यसले रक्तनली वा मुटु प्रभावित पार्ने सम्भावना बढी हुने उनको कथन छ।
उनका अनुसार गत साता मात्र पाटन अस्पतालमा दुई बालबालिकामा एमआईएससी पुष्टि भयो। उनीहरू दुबैमा कोरोनाभाइरस एन्टिबडी देखिएको थियो।
बालबालिका सङ्क्रमित हुँदा को बढी प्रभावित हुन्छ?
हाल अधिकांश बालबालिका विद्यालय गइरहेका छन्। त्यसैले कोही एकलाई कोरोनाभाइरसको सङ्क्रमण भए उसकै उमेर समूहका अन्य बालबालिका प्रभावित हुने डा. प्रसाईँ बताउँछिन्।
त्यस्तै घरमा भएका वृद्धवृद्धा जसको रोग प्रतिरोधी क्षमता कमजोर छ उनीहरूमा पनि सङ्क्रमण सर्ने सम्भावना रहने उनले तर्क गरिन्।
"श्वासप्रश्वासबाट सर्ने भएकाले यो सङ्क्रमण चाँडो फैलिने जोखिम उच्च छ। त्यसैले सङ्क्रमित बालबालिकाको स्याहार गर्ने आमाबुवा, रोग लागेका वयस्कहरू साथै शिक्षकहरू पनि सतर्क रहनुपर्छ," उनले भनिन्।
बालबालिकामा इन्फ्लूएन्जाको खोप किन आवश्यक छ?
बालबालिकामा विभिन्न किसिमका भाइरल सङ्क्रमण देखिएको अवस्थामा उनीहरूलाई इन्फ्लूएन्जाविरुद्ध खोप दिनु उचित हुने चिकित्सकहरूको भनाइ छ।
"कोरोनाभाइरससहित प्रायः सङ्क्रमणका लक्षणहरू उस्तै देखिन्छन्। त्यस अवस्थामा इन्फ्लूएन्जाविरूद्ध खोप लगाउनुले लक्षण देखिएको अवस्थामा चाँडै पीसीआर परीक्षण गर्ने र सङ्क्रमण भए नभएकोबारे निश्चिन्त बनाउँछ," डा. कंसाकारले भनिन्।
यस खोप मुटु र श्वासप्रश्वासको समस्या भएका बालबालिकालाई अनिवार्य दिइन्छ। त्यसबाहेक अन्य बालबालिकालाई पनि इन्फ्लूएन्जा हुँदा रुघाखोकी र निमोनिया हुने सम्भावना रहेकाले उक्त खोप लगाउने सुझाव उनको छ।
सरकारले यसै सातादेखि देशका ५७ जिल्लामा १२ वर्षदेखि १७ वर्ष उमेर समूहका बालबालिका र किशोरकिशोरीलाई मोडर्नाको कोभिड खोप दिन थालेको छ।
चिकित्सकहरूले किशोरकिशोरीको हकमा पनि खोप लगाउनु नै सङ्क्रमणबाट सुरक्षित रहने प्रमुख उपाय रहेको बताएका छन्।
बीबीसी