काठमाडौं । विगतमा १४६ प्रकारका औषधि उत्पादन गर्ने औषधि लिमिटेडले आफ्नो उत्पादनलाई बढावा दिदैं थप थप १३ वटा औषधि उत्पादन गर्ने तयारी गरेको छ।आगामी तीन महिना भित्र औषधी लिमिटेडले थप १३ वटा औषधि उत्पादन गर्ने तयारी गरेको हो।
लिमिटेडले एजिथ्रोमाइसिन २५० एमजी (ट्याबलेट), एजिथ्रोमाइसिन ५०० एमजी (ट्याबलेट), सिप्रोफ्लक्सासीन २५० एमजी (ट्याबलेट), सिप्रोफ्लक्सासीन ५०० एमजी (ट्याबलेट), मेट्रोनिडाजोल २०० एमजी (ट्याबलेट), मेट्रोनिडाजोल ४०० एमजी (ट्याबलेट),मेट्रोनिडाजोल प्लस डिलोक्सनाइन (ट्याबलेट),अल्बेन्डाजोल ४०० एमजी (ट्याबलेट),ट्याबलेट फोलिक एसिड ०.४ एमजी,ट्याबलेट आइरन प्लस फोलिक एसिड, हेमोलायलासिस ए, हेमोलायलासिस बी तथा ट्याबलेट सेट्रिजेन नामक औषधि उत्पादन गर्न लागेको नेपाल औषधि लिमिटेडका महाप्रबन्धक मोहम्मद सफिउल्लाहले बताए।
विभागले हेमोडायलासिस्का लागि प्रयोग हुने,गर्भवती र बच्चालाई स्तनपान गराउँदा रगतको कमीबाट हुने रोगबाट बचाउने, टिभी र मलेरिया लगायतका थप १८ वटा औषधि उत्पादन गर्न लागेको हो । महाप्रबन्धक सफिउल्लाहका अनुसार लिमिटेडले ती औषधि उत्पादनका लागि औषधि सेवा विभागमा अनुमती मागिसकेको छ ।
औषधि व्यवस्था विभागको टोलीले अनुगमन पश्चात् उत्पादन अनुमती दिने बितिकै ती औषधिको उत्पादन सुरु हुने छ । औषधि उत्पादनका लागि आवश्यक मेसिन लिमिटेडसँग रहेको महाप्रबन्धक सफिउल्लाहले बताए । हाल जीवनजल उत्पादनका लागि लिमिटेडसँग ३ वटा मेसिन छ । लिमिटेडले सिटामोल, सिटामोल प्लस, जीवनजल र ग्लीसिरिन गरी पाँच वटा उत्पादन गर्दै आएको छ।
हाल दुई दिनमा तीन ब्याज सिटामोल र दैनिक तीन ब्याजसम्म जीवनजल उत्पादन गरिरहेको छ। सिटामोल एक ब्याजमा ३ लाख २० हजार र जीवनजल एक ब्याजमा १२ हजार प्याकेट जीवनजल उत्पादन हुने गर्छ। सरकारले निशुल्क उपलब्ध गराउन ७१ प्रकारको औषधि उत्पादन गर्ने आफ्नो पहिलो प्राथमिकतामा रहेको महाप्रबन्धक सफिउल्लाहले बताए।भने अर्काे एउटा मेसिन ल्याउने तयारी लिमिटेडको छ जसका लागि टेन्डरको काम समेत सकिसकेको अवस्था छ ।
विं सं २०२९ सालमा सरकारी स्वामित्वमा स्थापना भएको नेपाल औषधि लिमिटेड कूल ४३ रोपनी जग्गामा सञ्चालन हुँदै आएको छ । स्थापना कालदेखी नै विभिन्न प्रकारका औषधि उत्पादन गर्दै आएको लिमिटेडले विश्व स्वास्थ्य संगठनको जिएमी मिट गर्न नसकेको भन्दै विं सं २०६२ सालमा औषधि लिमिटेड बन्द भई पुन सञ्चालनमा आएको हो । हाल लिमिटेडमा सरकारी दरबन्दीमा ७९ कर्मचारीहरु र १०३ जना करारमा कार्यरत्त छन् ।