चितवन । सरकारी भरतपुर अस्पताल सुधारको बाटोमा अघि बढेको छ। अस्पतालमा गुनासो बढ्दै गएपछि सुधारका काम अघि बढाइएको हो।
अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) छोटो समयमा परिवर्तन भइरहँदा कामले गति लिन सकेको थिएन। एउटा मेसुले सुरु गरेका काम अर्को आएर बुझ्न नपाउँदै सरुवा हुने अवस्थाले अस्पताल अस्तव्यस्त बनेको थियो। गएको दुई वर्षमा सात जना मेडिकल सुपरिटेन्डेन्ट परिवर्तन भएका थिए।
पछिल्लो समय अस्पताललाई नजिकबाट बुझेका अस्पताल विकास समितिका अध्यक्ष र मेसु बनेपछि सुधारका काम भएका हुन्। लामो समय भरतपुर अस्पतालमा सेवारत प्रा डा कृष्णप्रसाद पौडेल गत भदौदेखि मेडिकल सुपरिटेन्डेन्टमा नियुक्त भएपछि अस्पतालले गति लिन सुरु गरेको छ।
पौडेलले सर्वसाधारणलाई सहजरुपमा स्वास्थ्य सेवा दिन निरन्तर सुधारका काम अगाडि बढाइएको बताए। उनले धेरै गुनासा बहिरङ्ग (ओपिडी) सेवामा आएपछि सो सेवालाई सहज बनाउँदै लागिएको बताए। उनले आकस्मिक (इमर्जेन्सी) सेवा, शल्यक्रिया सेवा, डाइलासिस सेवा, प्रसूति सेवालगायतमा सुधार गर्दै सहज बनाइएको जानकारी दिए।
यसैगरी अस्पताल प्रशासन र कर्मचारी व्यवस्थापन, अस्पताल सुन्दरता, पार्किङ व्यवस्थापनलगायतका काम भएको उनको भनाइ छ। यसअघि २०७५ असोजदेखि २०७६ असारसम्म (मेसु) भएर काम गरिसकेको अनुभूव आफूमा रहेको भन्दै पौडेलले लामो समय अस्पतालमा काम गर्दा यहाँका समस्याबारे जानकार रहेको बताए। अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार प्रत्येक सोमबार बिहान ७ बजेदेखि ८ बजेसम्म नियमित अस्पताल सरसफाइ गरिँदै आएको छ। उनका अनुसार सो दिन अस्पतालका अध्यक्ष, मेडिकल सुपरिटेन्डेन्ट लगायतको उपस्थितिमा सरसफाइ कर्मचारी सँगैसँगै खाजा खाने गरेको जानकारी दिए।
अस्पतालमा असोज १९ गतेदेखि जिओपिडी सेवा सुरु गरिएको छ। बिहान ८ः३० बजेदेखि यो सेवा नियमित हुने गरेको छ। सरकारी अस्पतालमा जिओपिडी सेवा सुरु गरेको भरतपुर अस्पताल पहिलो भएको पौडेलले जानकारी दिए। कोभिड– १९ को समयमा बिहान ८ बजेदेखि ११ बजेसम्म मात्रै रहेको ओपिडी टिकट काउन्टरलाई ८ बजेदेखि १२ बजेसम्म गराइएको र इएचएस ओपिडी टिकटको समय दिउँसो २ बजेसम्म सञ्चालन हुने गरेको पौडेलको भनाइ छ। अस्पतालमा रु ३०० शुल्क तिरेर इएचएस ओपिडी टिकट लिने व्यवस्था गरिएको छ। अतिरिक्त ओपिडी सेवा ९ बजेदेखि १० बजेसम्म गर्ने व्यवस्था मिलाइएको सूचना अधिकारी पौडेलले बताए।
अस्पतालमा कात्तिक १ गतेदेखि शल्यक्रियाको समय बढाएर बिहान १० बजेदेखि साँझ ५ बजेसम्म कायम गरिएको छ। शल्यक्रिया कक्षमा मङ्सिर १ गतेदेखि पाँच श्ययाको रिकभरी कक्ष सञ्चालन गरिएको छ। छवटा शल्यक्रिया कक्ष रहेकामा आकस्मिक शल्यक्रिया कक्षलाई छुट्टै व्यवस्था गर्न लागिएको हो। यस्तै कात्तिक १ गतेदेखि गर्भवती महिलालाई सिधै परीक्षण कक्षमा गएर जाँच गर्ने व्यवस्था मिलाइएको छ।
यसअघि गर्भवती महिलाले पनि ओपिडी लाइनमा बसेर टिकट लिनुपर्ने व्यवस्था थियो। यो सेवा सुरु भएसँगै गर्भवती महिलालाई धेरै सहज भएको पौडेलले बताए। कात्तिक १ गतेदेखि नै ओपिडी सेवालाई अनलाइन व्यवस्था गरिएको छ। मोबाइल वा कम्प्युटरमार्फत घरबाट नै अनलाइन ओपिड टिकट लिन पाउने व्यवस्था अस्पतालले गरेको हो। ओपिडीमा आउने बिरामीलाई सहज होस् भन्नका लागि ओपिडी हेल्पडेस्कसमेत सञ्चालन गरिएको छ। नियमित कर्मचारीको व्यवस्था गरी सेवा दिँदै आएको उनले बताए।
अस्पतालको आकस्मिक कक्षमा दुर्घटनाका बिरामीलाई लक्षित गर्दै शय्या बढाइएको छ। मङ्सिर ५ गतेदेखि १२ श्यया रहेको आकस्मिक कक्षलाई २० श्ययाको बनाइएको हो। आकस्मिक कक्षमा पाँच श्ययाको ट्रमा इमर्जेन्सी सुरु गरिएको सूचना अधिकारी पौडेलले बताए। दुर्घटनाका बिरामीलाई छिटोछरितो उपचार गर्न पाँच जना विशेषज्ञ चिकित्सकको ट्रमा टिम गठन गरी सेवा नियमित गरिएको हो। आगामी दुई वर्षमा ट्रमा सेन्टर स्थापना गर्ने लक्ष्य अस्पतालले लिएको छ।
अस्पतालमा रहेको बिमाको काउन्टरलाई व्यवस्थित गरी दुई पटक लाइन बस्नुपर्ने बाध्यता हटाउँदै अब एउटै लाइनबाट बिलिङको सुविधा दिइएको जनाइएको छ। अस्पतालको फार्मेसीमा पर्याप्त औषधि नभएको गुनासो बढेपछि १५० थरीका औषधि थप गरिएको पौडेलले जानकारी दिए। औषधि आपूर्ति नगर्ने पाँच सप्लायर्सलाई कारवाही गरी अन्य कम्पनीबाट समेत अत्यावश्यक औषधि खरिद गरी सेवा दिँदै आएको सूचना अधिकारी पौडेलले बताए।
अस्पतालको सेवासुविधा सुधारमा कर्मचारीको महत्वपूर्ण भूमिका रहने हुँदा कर्मचारी प्रशासनलाई चुस्त बनाउने, निरीक्षणको कामलाई नियमित गरी कामलाई व्यवस्थित बनाउने काम हुँदै आएको छ । अस्पताल विकास समिति कर्मचारी नियमावली समितिको बैठकबाट अनुमोदन गरी मन्त्रालयमा पेश गरिएको अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले बताए।
अस्पतालमा ढलको समस्या रहँदै आएकामा व्यवस्थापनको काम सुरु गरिएको छ। कोभिड– १९ को सङ्क्रमण उच्च भएका समयमा अक्सिजनको अभाव भएपछि अस्पतालमा तरल (लिक्विड) अक्सिजन ट्याङ्क जडान गरिएको छ । २० हजार लिटर क्षमताको उक्त ट्याङ्क पुस १ गतेदेखि सञ्चालनमा आएको हो। अस्पतालले थप अक्सिजन प्लान्ट जडान गर्ने तयारी गरेको अधिकारीले जानकारी दिए। अस्पतालले असोज १५ गते हस्पिटल ब्युटिफिकेसन टिम गठन गरी रङरोगन र केही ठाउँमा सुन्दरताको काम गरिरहेको छ। अस्पतालमा आउने सेवाग्राहीलाई पार्किङको समस्या भएपछि व्यवस्थित गर्ने काम भएको छ।
अस्पतालमा आउने मिर्गौलाका बिरामीले लामो समय पालो पर्खनुपर्ने अवस्था आएपछि थप तीन वटा डायलासिस मेसिन खरिद गरी सेवा नियमित गरिएको छ। डायलासिसका लागि आउने विपन्न बिरामीको रजिष्ट्रेशन शुल्क र आधारभूत परीक्षण निःशुल्क गर्ने व्यवस्था गरिएको हो। अस्पताल विकास समितिका अध्यक्ष अधिकारीले अस्पतालका सेवालाई स्तरीय बनाउन लागिपरेको बताए।
उनले सङ्घीय, प्रदेश र स्थानीय सरकारसँग समन्वय गरी अस्पतालको स्तरोन्नतिको काम निरन्तर अघि बढेको बताए । उनले अस्पतालका भौतिक पूर्वाधारका काम निरन्तर भइरहेको जानकारी दिए। अत्याधुनिक आकस्मिक कक्ष, सरुवा रोग अस्पताल, रोटरी स्पाइनल इञ्जुरी सेन्टर भवन निर्माण कार्य सुरु भइसकेको छ। प्रसूति गृहको छुट्टै भवन बनाउने गृहकार्य सुरु भएको अधिकारीले जानकारी दिए।
छिट्टै अस्पतालमा एमआरआइ, क्याथल्याब र पिआइसियु सेवा सञ्चालन गर्ने तयारी गरिएको छ। सङ्घीय अस्पताल भए पनि बिरामीको सङ्ख्याअनुसार दरबन्दी नहुँदा चाहे जस्तो व्यवस्थापन गर्न कठिनाइ भएको अस्पतालले जनाएको छ। विसं २०७५ मा नै अस्पताल ५०० श्ययाको बनाएको घोषणा गरिए पनि दरबन्दी १५० शय्याको बराबर मात्रै रहेको छ। ओएनएम सर्भे भएको भए पनि दरबन्दी नबढ्दा समस्या भएको उनले बताइ। अस्पतालमा १९ भन्दाबढी जिल्लाबाट बिरामी उपचारका लागि आउने गर्दछन्। एकैदिन दुई हजार हाराहारी बिरामीले बहिरङ्ग सेवा लिने गरेको तथ्याङ्क छ। रासस