काठमाडौं । नेपालमा ९४ लाख ५० हजारले पुर्ण खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म दुई करोड १२ लाख मात्रा कोभिड–१९ विरुद्धको खोप लगाइसकेको छ।
तीमध्ये पहिलो मात्रा खोप लगाउनेको संख्या एक करोड ३३ लाख ९९ हजार ६०७ छ भने पूर्ण खोप प्राप्त गर्नेको संख्या ९४ लाख ५० हजार रहेको छ । गत वर्ष माघ महिनाको १४ गतेदेखी नेपालमा कोरोनाको खोप लगाउन थालिएको हो।
एक वर्षको अवधिमा नेपालमा कोभिसिल्ड, एस्ट्राजेनिका, भेरोसेल, जोन्सन एन्ड जोन्सन, फाइजर बायोन्टेक र मोडर्ना खोप प्रयोग गरिएको छ। १८ वर्षभन्दा माथिको उमेर समूहलाई यसअघि लगाइसकिएको छ भने १२ देखि १८ वर्ष उमेर समूहलाई यही पुस ४ गतेबाट खोप अभियान सुरु गरिएको छ।
नेपालमा हालसम्म तीन करोड ३२ लाख ९० हजार ३३० मात्रा खोप आइसकेको मन्त्रालयको तथ्यांक छ। नेपाल सरकारले एक करोड २० लाख खोप खरिद गरेको र बाँकी खोप कोभ्याक्स सुविधा, विभिन्न मुलुकबाट सहयोगका रूपमा प्राप्त भएको मन्त्रालयका सचिव डा. रोशन पोखरेलले बताए।
विभिन्न स्थानमा रहेको खोप भण्डारमा करिब ६८ लाख खोप सुरक्षित रहेको बताएको छ। यही पुस महिनासम्म १८ वर्षभन्दा माथिको ६६ प्रतिशत जनसङ्ख्या र चैत महिनासम्म सबैलाई खोप लगाइसक्ने लक्ष्यसाथ सरकारले काम गरिरहेको मन्त्रालयको भनाइ छ।
प्रदेशहरूमा खोप अभियानको अवस्था हेर्दा सबैभन्दा बढी बागमती प्रदेशमा बढी खोप लगाइएको देखिएको छ । बागमती प्रदेशमा पहिलो खोप लगाउनेको जनसंख्या ७५ प्रतिशत रहेको छ भने दुवै मात्राको खोप लगाउने ६१ प्रतिशत छ।