काठमाडौं। डा.गोविन्द केसीले सत्याग्रह सुरु गर्ने चेतावनी दिएका छन्। आज सात मागसहितको प्रेस विज्ञप्ति जारी गर्दै डा. केसीले माग पूरा नभए जुनसुकै बेला सत्याग्रह सुरु हुनसक्ने चेतावनी दिएका हुन्।
मेडिकल माफियाहरुले फेरि विद्यार्थीहरुबाट अवैध रुपमा अर्बौं रुपैयाँ असुल्ने प्रयास गरिरहेका भन्दै डा. केसीले अहिलेको सत्तानजिक रहेका तथा आपराधिक पृष्ठभूमिका सुनील शर्माले सञ्चालन गरिरहेका मेडिकल कलेजमा प्रति विद्यार्थी बीसौं लाख रुपैयाँ अवैध असुली गर्न खोजिएको भनेर समाचारहरु आइरहेकाप्रति आफूहरु चुप लागेर बसिरहन नसक्ने बताएका हुन्।
‘मेडिकल माफियाहरुले फेरि विद्यार्थीहरुबाट अवैध रुपमा अरबौं रुपैयाँ असुल्ने प्रयास गरिरहेका छन्। तीमध्ये अहिलेको सत्तानजिक रहेका तथा आपराधिक पृष्ठभुमिका सुनील शर्माले सञ्चालन गरिरहेका मेडिकल कलेजमा प्रति विद्यार्थी बीसौं लाख रुपैयाँ अवैध असुली गर्न खोजिएको भनेर समाचारहरु आइरहेका छन्।
यो अवस्थामा जिम्मेवार नागरिकका नाताले हामी चुप लागेर बसिरहन सक्दैनौं।’, उनले विज्ञप्तिमा भनेका छन्। आफूहरु लामो समयदेखि मेडिकल शिक्षा तथा स्वास्थ्य क्षेत्रको सुधार, सुशासन र न्यायका लागि संघर्ष गरिआएका बताउँदै डा. केसीले पछिल्लो पल्ट प्रधानमन्त्री शेरबहादुर देउवासँग भएका प्रतिबद्धता पनि हालसम्म पूरा नभएको बताएका छन्।
डा. केसीले बीपी प्रतिष्ठानका भ्रष्ट पदाधिकारीहरुलाई तत्काल बर्खास्त गरी न्यायिक छानविन आयोग बनाउन, अवैधरुपमा अतिरिक्त असुली गर्ने मेडिकल कलेजहरुको सम्बन्धन खारेजी गर्न, सार्वजनिक संस्थाहरुमा पदाधिकारी नियुक्तिका लागि मापदण्ड कार्यान्वयन गराउन, निर्मला कुर्मीको घटनामा सत्यतथ्य छानविन गर्न, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाभियोग लगाउन, नेपालको मेडिकल शिक्षा गैरनाफामूलक हुने भनेर चिकित्सा शिक्षा ऐनमा किटानी भएकाले त्यो नीति कार्यान्वयन सुनिश्चित गराउनलगायतका माग अघि सारेका छन्।