काठमाडौं। पछिल्लो समय विश्वभर नै शल्यक्रियाबाट बच्चा जन्माउने प्रविधि अर्थात् सिजरियन सेक्सनको बढ्दो क्रममा रहेको छ।
सामान्यतया डेलिभरीको क्रममा बढी मात्रामा जोखिमको अवस्था भएको खण्डमा चिकित्सकहरुले नै यो प्रवृति अपनाउने गर्छन् । तर पछिल्लो समय बिरामीको अनुरोधमा कतिपय अवस्थामा आवश्यक नभएको खण्डमा पनि शल्यक्रिया गर्ने प्रवृति बढेको पाइएको छ।
विकसित मुलुकमा डेलिभरीका क्रममा आमालाई दुखाई कम गराउने विभिन्न प्रविधिको विकास भएका भएका कारण शल्यक्रियाबाट बच्चा जन्माउने महिलाहरुको संख्या घट्दो क्रममा रहेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार आमा र बच्चाको स्वास्थ्य अवस्था जोखिमपूर्ण रहेको करिब १५ प्रतिशत महिलाहरुमा डेलिभरीको आवश्यकता पर्छ।
नेपालका सरकारी स्वास्थ्यसंस्थामा डेलिभरीको ३५ प्रतिशत तथा निजीमा ८० प्रतिशत डेलिभरी शल्यक्रियाबाट हुने गरेको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाको तथ्यांकमा उल्लेख छ। उक्त तथ्यांकले नेपालमा शल्यक्रियाबाट हुने डेलिभरीको विकराल स्थितीको चित्रण गर्छ।
काठमाडौं उपत्यकाका प्रमुख सरकारी अस्पतालहरुमा समेत अनावश्यक रुपमा डेलिभरीका लागि आएका महिलाहरुको शल्यक्रिया हुने गरेको छ । प्रसूती सेवालाई आयको एक प्रमुख स्रोत उपत्यका सरकारी अस्पतालहरुले समेत मान्ने गरेका छन् । त्रिभुवन शिक्षण अस्पतालमा कुल डेलिभरीको करिब ४५ प्रतिशत शल्यक्रिया हुने गरेको त्रिवि अस्पतालकी स्त्री तथा प्रसूती रोग विशेषज्ञ डा.गीता गुरुङ बताउँछिन् ।
त्यस्तै परोपकार स्त्री रोग तथा प्रसुती रोग अस्पताल थापाथलीमा कूल डेलिभरीको २५ प्रतिशत मात्रै शल्यक्रिया हुने गरेको छ । अस्पतालको निर्देशक तथा स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा.संगीता मिश्रका अनुसार थापाथली अस्पतालमा डेलिभरीका लागि आउनेहरुलाई जटिल अवस्थामा मात्रै शल्यक्रिया गरिन्छ । तर निजी अस्पतालहरुमा भने ८० प्रतिशत सम्म शल्यक्रियाबाट डेलिभरी हुने गरेको उनी बताउँछिन्।
कस्तो अवस्थामा आवश्यक छ शल्यक्रिया
विश्व स्वास्थ्य संगठनका अनुसार आमाका कारण डेलिभरीको क्रममा शल्यक्रिया गर्नुपर्ने अवस्था करिब ५ प्रतिशत महिलाहरुमा आउने गर्छ । शल्यक्रिया गर्नुपर्ने अधिकांश माहिलाहरुमा उच्च रक्तचापको समस्या हुने गर्छ ।त्यसैगरी बच्चामा आउने समस्याका कारण करिब ५ प्रतिशत शल्यक्रिया गर्नुपर्ने अवस्था आउने गर्छ । यी दुवै अवस्थाका आधारमा भन्ने हो भने समग्रमा १५ प्रतिशत महिलाहरुले शल्यक्रिया गरी बच्चा जन्माउन सक्ने विश्व स्वास्थ्य संगठनले बताएको छ।
सि–सेक्सनका के–कस्ता जोखिम छन् ?
त्रिवि शिक्षण अस्पतालकी स्त्री तथा प्रसूती रोग विशेषज्ञ डा.गीता गुरुङका अनुसार – सिजर अप्राकृतिक डेलिभरीको प्रक्रिया भएकाले यसका विभिन्न जोखिम छन् ।यदि पहिलोपटकको डेलिभरीमा सिजर गरिएको छ भने दोस्रोपटकको डेलिभरीमा पनि सिजर गर्नुपर्ने सम्भावना धेरै हुन्छ ।
पहिलोपटक सिजर गरेमा दोस्रोपटक डेलिभरीको क्रममा पाठेघर फुट्ने सम्भावना बढी हुन्छ । सिजर गरेका बिरामीमा इन्फेक्सनको अवस्था धेरै नै आउने गर्छ।
सरकारी अस्पतालमा पर्याप्त मात्रामा बेड नहुनाले गर्दा एउटा बिरामी डेलिभरी भएर जानासाथ अर्को आएर सुत्ने भएकाले पनि एक व्यक्तिबाट अर्को व्यक्तिमा इन्फेक्सन हुने खतरा बढी हुन्छ । साथै, सरकारी अस्पतालमा बिरामीको अत्यधिक चापका कारण पनि सिजर इन्फेक्सनको खतरा बढेको देखिन्छ ।
त्रिवि शिक्षण अस्पतालमा बिरामीको अत्यधिक चाप तथा बेड अभावका कारण पनि सिजरका विभिन्न जोखिम आउने गरेका छन् ।वर्तमान समयमा अप्राकृतिक गर्भाधान तथा त्यस्ता डेलिभरीका वेला सि–सेक्सन बढी हुने गरेको डा.गुरुङको तर्क छ।अप्राकृतिक रूपमा गरिने गर्भाधारण तथा त्यसबाट उत्पन्न हुन सक्ने खतराबाट बच्नका लागि पनि सिजर गरिने उनी बताउँछिन् ।
अहिलेको समयमा शिक्षा तथा करिअरका लागि गरिने ढिलो विवाह तथा ढिलै बच्चा जन्माउनुले पनि सि–सेक्सनदर बढ्दै गएको छ। १९ वर्षदेखि सामान्यतया महिनावारी नसुकेसम्मको उमेरलाई प्रजनन हिसाबले सबल समय भनिए पनि बच्चा पाउनका लागि महिलाको उपयुक्त उमेर २० देखि ३५ वर्ष भएको तथा ३५ वर्ष नाघेपश्चात् बच्चा जन्माउने सवालमा महिलामा विभिन्नप्रकारका जोखिम आउने डा.गुरुङको तर्क छ ।
३५ वर्ष नाघिसकेपछि बच्चा जन्माउँदा गर्भावास्थामा मधुमेह हुने तथा विभिन्न रोगको खतरा पनि बढ्ने भएकोले यस्तो उमेरमा बच्चा जन्माउँदा सिजर गर्नुपर्ने अवस्था आउन सक्ने डा. गुरुङ बताउँछिन् ।