काठमाडौं । जाडोयाममा कोरोनाभाइरससहित विभिन्न किसिमकासंक्रमणको सम्भावना अझ बढ्ने भएकाले स्वास्थ्य सतर्कता अपनाउनुपर्ने विज्ञहरूले सुझाव दिएका छन्।
नेपालमा अहिले कोरोनाभाइरस सङ्क्रमण दर केही कम भएको देखिएको छ। तर, चिसो मौसममा कोरोनाभाइरससँगै इन्फ्लूएन्जा र श्वासप्रश्वास प्रणालीमा आक्रमण गर्ने अन्य भाइरसहरू बढी सक्रिय बन्ने विज्ञहरू बताउँछन्।त्यस्ता भाइरसले गराउने सङ्क्रमणबाट बच्न विशेष सतर्कता अपनाउनुपर्ने उनीहरूको सुझाव छ।
जाडोमा देखिने अन्य सङ्क्रमण
चिकित्सकहरूका अनुसार जाडो महिनामा कोभिड-१९ बाहेक अन्य सङ्क्रमण पनि हुन सक्छन्।यस बेला विशेषगरी श्वासप्रश्वाससम्बन्धी भाइरसहरू नै सक्रिय बन्ने भएकाले त्यससँग सम्बन्धित सङ्क्रमणको डर धेरै हुने उनीहरू बताउँछन्।
चिकित्सकहरूका भनाइमा चिसो बढी हुने र पानी कम पर्ने मौसम भएकाले यस बेलामा छाला तथा आँखासम्बन्धी सङ्क्रमण पनि हुन सक्छ।कोभिडपछि जाडोमा हुन सक्ने अर्को घातक सङ्क्रमण इन्फ्लूएन्जा भाइरसको भएको विज्ञहरूको भनाइ छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पनि इन्फ्लूएन्जा भाइरसको सङ्क्रमण जाडोमा बढ्न सक्ने भन्दै सतर्कता अपनाउन आह्वान गरेको छ।
मन्त्रालयले केही दिनअघि जारी गरेको एउटा सूचनामा भनिएको छ, ‘इन्फ्लूएन्जालाई बोलीचालीको भाषामा फ्लू भनिन्छ। यो इन्फ्लूएन्जा भाइरसका कारणले लाग्ने सङ्क्रामक रोग हो। जाडो महिनामा धेरै सक्रिय हुने यो भाइरसले शिशुदेखि जवान, अधबैँसे र वृद्धवृद्धासमेत सबै उमेरका व्यक्तिहरूलाई फ्लू लाग्न सक्छ।’मन्त्रालयले इन्फ्लूएन्जाबाट बच्न अपनाउनुपर्ने सतर्कताबारे पनि सूचनामा उल्लेख गरेको छ।
इन्फ्लूएन्जाबाट बच्न पनि कोभिडबाट जोगिन अपनाएका जस्तै स्वास्थ्य सावधानीहरू भौतिक दूरी कायम गर्ने, खोक्दा वा हाछ्युँ गर्दा आफ्नो मुख छोप्ने, बिरामी हुँदा घरैमा बस्ने, बेलाबेलामा साबुनपानीले हात धुने, झोल कुरा खानेलगायतका कुरा गर्नुपर्ने मन्त्रालयको सुझाव छ।
इन्फ्लूएन्जा भएका व्यक्तिहरूलाई ज्वरो आउने, टाउको दुख्ने, घाँटी दुख्ने, खोकी र हाछ्युँ आउने, नाक बन्द हुने, सिँगान बग्ने, थकान महसुस हुने, जीउ दुख्ने लगायतका लक्षणहरू देखिने मन्त्रालयले जनाएको छ।