हड्डी खिइने समस्या परिचय-
उमेर ढल्किदै जाँदा मानिसहरुमा हड्डि खिइने समस्या देखिन थाल्छ । तर, हिजोआज उमेर ढल्किनेहरु मात्रै नभई जोकोहीलाई पनि यो समस्या देखिने गरेको पाइन्छ । केहि भागको हाडजोर्नी समस्या बयस्कहरुलाई देखिन्छ भने केहि भागको हाडजोर्नी समस्या उमेर परिवर्तन हुँदै जाँदा देखिन्छ।
अहिले धेरै मात्रामा घुँडाको हाडजोर्नी समस्या र कम्मरको हाडजोर्नी समस्या देखिने गरेको पाइन्छ । ४० वर्षमाथिका व्यक्तिहरुमा धेरै घुँडाको हाडजोर्नी समस्या देखिने गरेको पाइन्छ । तर, सबै ४० वर्षमाथिका व्यक्तिहरुमा भने यो समस्या नदेखिन पनि सक्छ । कम्मरको जोर्नीको समस्याहरु भने धेरै वयस्कहरुमा देखिने गरेको छ ।
लक्षणहरू
सुरुमा हड्डी कमजोरीका लक्षण नदेखिन पनि सक्छ । जब हड्डी कमजोर भइसकेको हुन्छ, तब मात्र यसका लक्षणहरु देखा पर्छ । जोर्नी दुख्छ । तर विशेष गरी कुन ठाउँमा खिइएको हो, त्यहाँ धेरै दुख्ने हुन्छ । ढाड दुख्ने, विभिन्न जोर्नीहरु दुख्ने, अररो हुने, मेरुदण्डका हड्डीहरु सानो चोटपटकले पनि भाँचिने, कोहीकोहीको अनपेक्षित तरिकाले हड्डी भाँचिनेसमेत हुन्छ । हिँड्न गाह्रो हुने, तलमाथि गर्न नसक्ने, सुन्निने आदि हुन्छ ।
हड्डी खिइने कारण
उमेर जति बढ्दै जान्छ, हड्डी खिइने तथा हड्डी कमजोर हुने सम्भावना उति नै धेरै हुने गर्छ । अझ क्याल्सियमको सेवन कम गर्ने मानिसमा यसको समस्या अझै धेरै निम्तने गर्छ । त्यसैगरी, पचास वर्ष भन्दा माथिको उमेर, कम तौल, एस्ट्रोजिन नामक हर्मोनको कमी, धूमपान, मदिरापान, पोषणरहित आहार लगायत कोर्टिकोस्टेराईड तथा हाइपर थाइराइडिज्मको समस्या भएका व्यक्तिले सेवन गर्ने औषधीका कारण पनि हड्डी खिइने समस्या हुने गर्दछ ।
उपचारविधी
खिइएको हड्डी उल्टाउन त मिल्दैन, तर समयमा उपचार गर्योछ भने पीडा कम गर्न र भविष्यमा निम्तिनसक्ने जटिल समस्याहरुलाई रोक्न भने अवस्य सकिन्छ।
– तौल बढी भए उचित व्यायाम र खानपिन मिलाएर तौल घटाउने, जसले गर्दा घुँडामा शरीरको वजन कम गराएर दुखाइ र घर्षण कम गराउन मद्दत गर्छ।
– घुँडाको जोर्नीलाई तातो बनाउने जसले गर्दा दुखाइको महसुस कम हुन्छ।
– चिसोबाट सकेसम्म जोगिने।
– धेरै समयसम्म उभिएर काम नगर्ने।
– लामो समय हिँड्दा लाठी वा कुनै सहारा लिएर बिसाउँदै बिसाउँदै हिँड्ने।
– धेरै दुखेको खण्डमा दुखाइ कम गर्ने औषधि खाने ।
कसरी बच्ने ?
-कुद्ने, नाच्ने शारीरिक श्रम पर्ने खालका व्यायाम नियमित गर्ने -क्याल्सियम तथा भिटामिन ‘डी’ को सेवन गर्ने -चिकित्सकको सल्लाह बमोजिम औषधी नियमित सेवन गर्ने