काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा तथा चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द्र केसीबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ । भेटवार्ताका क्रममा प्रधानमन्त्री देउवाले डा.गोविन्द केसीले राखेका माग पूरा गर्ने प्रतिबद्धता जनाएका छन्।
प्रधानमन्त्रीले निजी मेडिकल कलेजले विद्याथीसँग बढी शुल्क लिएको पाइए कानूनअनुसार कारबाही गराउन आफू प्रतिबद्ध रहेको र सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिने प्रतिबद्धता जनाएको भेटमा सहभागी अधिवक्ता ओमप्रकाश अर्यालले जानकारी दिए।
चिकित्सा शिक्षा अध्यापन गराइरहेका विभिन्न मेडिकल कलेजले तोकिएकोभन्दा बढी शुल्क लिएको भन्दै आलोचना भइरहेको छ।प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ डा केसी, नेपाली कांग्रेसका महामन्त्री गगन थापा, अधिवक्ता अर्याललगायतले प्रधानमन्त्रीसँग भेट गरेका थिए।
प्रत्येक प्रदेशमा चिकित्सा शिक्षाका लागि सरकारीस्तरमै मेडिकल कलेज स्थापना गर्ने विषयमा प्रक्रिया अगाडि बढिसकेको प्रधानमन्त्रीको भनाइ थियो। निर्माण सम्पन्न भएका कलेजको हकमा पढाइ सुरु गर्ने र निर्माण सम्पन्न नभएकाको हकमा निर्माण कार्यलाई तीव्र पारिने भएको छ।
स्वार्थको द्वन्द्व हटाउनेसम्बन्धी कानून मस्यौदा गर्ने कार्यलाई तीव्र पार्न कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई आवश्यक निर्देशन दिइने भएको छ।
प्रधानमन्त्री देउवाले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको अनियमिततालगायत विषयमा आफू जानकार रहेको र प्रक्रिया पु¥याएर कारबाही गरिने बताए। सो प्रतिष्ठानमा भएको अनियमितताका बारेमा छानबिन प्रतिवेदन प्राप्त भइसकेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले छानबिन समिति गठन गरेर अध्ययन गरेको थियो।