- डा. अन्जली पण्डित
काठमाडौं - बालबालिका र किरोरावस्थामा देखिने क्यान्सरलाई बाल्यावस्थाको क्यान्सर भनिन्छ । बाल्यावस्था र किशोरावस्थामा लाग्ने क्यान्सरहरु धेरै प्रकारका हुन्छन् जस्तैः ल्यूकेमिया(Blood Cancer),लिम्फोमा आदि । जस मध्ये नेपालमा सबैभन्दा बढि रक्त क्यान्सर लाग्ने गरेको पाइएको छ । यी बाहेक विभिन्न अङ्ग र तन्तुहरु लिम्फ नोड(Lymph Nodes), स्नायु प्रणाली (Nervous System) र माँसपेशीहरु (Muscles), हड्डी(Bone) र छाला( Skin) मा पनि क्यान्सर हुन सक्दछ ।
बाल्यावस्थाको क्यान्सरका लक्षणहरु :
शरीरमा रगतको कमी भई सेतो देखिनु
शरीरमा देखिने वा नदेखिने गरी रगत बग्नु,रातो दाग अथवा डाबर आउनु
हड्डी वा जोर्नी दुख्नु
ज्वरो आउनु,लामो समय सम्म खोकि लाग्नु र स्वाँ स्वाँ हुनु
तौल घट्दै जानु
शरीर वा अनुहार सुन्निनु, चाडै गल्नु, आल्श्य हुनु, झोक्राउनु, रिङ्गटा लाग्नु, शरीर सन्तुलन कायम गर्ने क्षमता गुमाउनु
पेट फुल्नु
शरीरको कुनै अङ्ग वा भाग सामान्य भन्दा ठूलो हुनु
कुनै कारण बिना अधिक पसिना आउनु
आखाँमा परिवर्तन आउनु जस्तै सेतो नानी, डेंडो हुनु, सुनिनु, दृष्टि गुमाउनु
अधिक टाउको दुख्नु र विशेष गरी विहानीपख वान्ता हुनु
बाल्यावस्थामा लाग्ने क्यान्सरका प्रकारहरु:
ल्युकेमिया (Leukemia)
मस्तिष्क र अन्य स्नायुका ट्यमर(Brain Tumor)
न्यूरोब्लास्टोमा(Neuroblastoma)
विल्मस ट्यमर (Wilm’s Tumor)
लिम्फोमा(Lymphoma)
राब्डोमायोसार्कोमा(Rhabdomyosarcoma)
रेटिनाब्लाष्टोमा(Retinoblastoma)
हड्डीको क्यान्सर(Bone Tumor)
बाल्यावस्थामा क्यान्सर हुनुको कारण:
बाल्यावस्थामा लाग्ने क्यान्सरहरुको ठोस कारणहरु अझै पत्ता लाग्न सकेको छैन । बाल्यावस्थामा देखिने क्यान्सरलाई बयस्कको जस्तो जीवनशैलि, वातावरण र पेशा सँग जोड्न मिल्दैन ।
यद्मपीः धेरै जसो बालबालिकाहरुमा देखिने क्यान्सरहरुको मुख्य कारण भने कोषिकाहरुमा डी.एन.ए मा अचानक असामान्य परिवर्तन (Random Mutation) हुनु हो । करीब ८ प्रतिशत बालबालिकाहरुमा आनुवंशिक परिवर्तन (Genetic) को साथ जन्मेका हुन्छन् जसले गर्दा उनीहरुमा क्यान्सर हुने खतरा बढी हुन्छ ।
क्यान्सर उपचार:
वाल्यावस्थामा लाग्ने क्यान्सर उपचार पद्घति विशेष गरी ३ प्रकारका हुन्छन् ।
शल्यक्रिया शल्य चिकित्सा (Surgery )
केमोथेरापी (Chemotherapy)
विकिरण थेरापी (Radiation Therapy)
क्यान्सरको अवस्था हेरी माथि उल्लेखित कुनै पनि उपचार पद्धतीहरुलाई एक पछि अर्काे गर्न सकिन्छ । तर उपचार अवधि भने क्यान्सरको प्रकार र बालबालिकाको लिङ्गमा (Gender) निर्भर गर्दछ । बेलैमा कुनै पनि क्यान्सरको उपचार नगरेमा मस्तिष्क, मुटु, मिर्गाैला लगाएतका अन्य अंगमा पनि असर गर्न सक्दछ । नेपालमा नै सम्पूर्ण उपचार विधि र बिशेषज्ञ उपलब्ध भएको हुँदा उपचार नेपालमै सम्भव छ । क्यान्सर रोग समयमै पत्ता लागेमा ७० देखि ८० प्रतिशत रोग निको पारी जीवन बचाउन सकिन्छ । त्यसैले बालबालिकामा कुनै पनि असाधारण लक्ष्ण देखापरेमा चिकित्सक सँग जँचाउन वा परामर्श लिन आवश्यक देखिन्छ ।
(बाल क्यान्सर रोग बिशेषज्ञ डा.पण्डित नेपाल क्यान्सर हस्पितल एण्ड रिसर्च सेन्टरमा कार्यरत छिन् )