गोनोरिया एकप्रकारको साझा यौन रोग हो । यो ‘भिजेरिया गोनोरी’ नामक ब्याक्टेरियाका कारण लाग्ने गर्छ । यसलाई चिकित्सकीय भाषामा ‘भिजियस’ अथवा ‘युडियस’ भन्ने गरिन्छ । ‘भिजियस’ शब्द महिलाको हकमा लागू हुन्छ भने ‘युडियस’ पुरुषको हकमा।
महिला तथा पुरुष दुवैलाई यो रोग लाग्दा यौनांगबाट पिप आउने गर्छ ।महिला तथा पुरुष दुवैले असुरक्षित यौनसम्पर्क गरेको करिब ८ देखि १० दिनमा उनीहरूमा यसका लक्षण देखापर्ने गर्छन् । पिसाबसँगसँगै पिप पनि आउने गर्छ । कसैकसैलाई पिप र फोहोर पानी सँगसँगै आउने पनि गर्छ । कसैकसैलाई पिसाब पोल्नेसमेत हुन्छ।
यसमा ‘गोनोरिया’ मात्र नभई ‘क्राइमेडिया’ नामक ब्याक्टेरियासमेत आउने भएकाले यौन तथा चर्मरोग विशेषज्ञले दुवैलाई हुने गरी औषधि दिने गर्छन् । बिरामी उपचारका क्रममा आएपछि उसको पिप लिएर जाँचका लागि चिकित्सकले पठाउने गर्छन् । उक्त जाँचपश्चात् रोगको कीटाणु नै आउने गरेको पाइन्छ । गोनोरियारोगको ब्याक्टेरिया भएको पाएमा चिकित्सकले त्यहीअनुसार उपचार गर्ने गर्छन् । यो रोगको औषधि साधारण छ । बिरामीले एक–एक मात्रा औषधि खाएमा रोग निको हुन्छ ।
लक्षण
रोग लागेमा योनिबाट पिसाबसँगसँगै पिप आउने गर्छ । कसैकसैलाई पिसाब पोल्नेसमेत हुन्छ । दुखाइ–पोलाइ भने खासै हुँदैन । उपचारका क्रममा बिरामीले ८–१० दिनअगाडि असुरक्षित यौनसम्पर्क भएको चिकित्सकलाई बताएमा गोनोरियाको परीक्षण सुरु हुन्छ ।
उपचार
रोग लागेको पहिचान गरेपछि चिकित्सकले औषधि दिन्छन् । चिकित्सकको सल्लाहअनुसार दैनिक तोकिएको मात्रामा ट्याबलेट औषधि सेवन गरेपश्चात् रोग निको हुन्छ । यस्ता रोग लागेका व्यक्तिले अन्य व्यक्तिसँग यौनसम्पर्क राखेमा अरुलाई पनि रोग सर्छ ।रोग निको बनाउनका लागि कुनै पनि शल्यक्रियाको आवश्यकता भने पर्दैन ।
चिकित्सकको सल्लाहअनुसार नियमित औषधि खाएमा रोग निको हुन्छ । बिरामीले यौन तथा चर्म रोग विशेषज्ञको सल्लाहअनुसार औषधि नखाएमा तथा रोगलाई बेवास्ता गरेमा विभिन्न जटिलता सिर्जना हुन्छन् । यसबाट रगतमा समस्या देखापर्ने, हातखुट्टा सुन्निनेलगायत समस्या देखापर्छन् । तर, यस्तो अवस्था भने निकै कम व्यक्तिमा मात्र देखिने गर्छ, जसलाई चिकित्सकीय भाषामा डिजिआई भनिन्छ।
रोकथाम
गोनोरिया रोकथामका लागि विशेषगरी फोरसी प्रक्रिया अपनाउन सकिन्छ ।
– सकेसम्म एकजना मात्र यौनपार्टनर बनाउने ।
– यदि एकभन्दा बढीसँग यौनसम्पर्क गर्नुपरेमा कन्डमको प्रयोग गर्ने ।
– यदि यौन पार्टनरलाई रोग लागेको थाहा भएमा समयमै उपचार गराउने ।
– सकेसम्म ब्रह्मचर्य व्रतको पालना गर्ने ।