डिप्रेसन मानसिक रोगको प्रर्यायवाचीजस्तो भइसकेको छ । मानसिकसम्बन्धी जेसुकै समस्या परे पनि मानिसहरू ‘डिप्रेसन भएको छ’ भन्दै आउने गर्छन् । पहिले डिप्रेसन भन्न पनि मानिसहरू असजिलो मान्थे, अहिले त्यो स्थिति छैन । डिप्रेसनप्रतिको संकोच लगभग हटिसकेको छ भन्दा पनि हुन्छ ।
मानिसहरू पहिला डिप्रेसन भएको कुरा पनि लुकाउने गर्थे भने अहिले लुकाउँदैनन्, सजिलैसँग ‘डिप्रेसन भएको छ’ भन्छन् । यो समस्या सबैलाई हुने रहेछ भन्ने भएको छ । ‘मेरो छोरालाई डिप्रेसन भएको छ, पढाइ पनि छोड्यो’ भन्न हच्किदैनन् । यो राम्रो पक्ष हो ।
यसमा अर्को एउटा नराम्रो पक्ष पनि सँगै छ । सबै मानसिक रोगलाई ‘डिप्रेसन’ भन्न थालिनु राम्रो होइन । साइकोसिस भएर अन्तिम अवस्थामा पुगेको छ त्यसलाई पनि ‘डिप्रेसन’ भनिदिन्छन् । कुनै कुनै बाबुआमा, ‘मेरो छोरालाई डिप्रेसन भएको छ, इलाज गरिदिनुपर्यो भन्छन् । ‘के भयो ?’ भन्दा ‘लागुपदार्थ खान्छ’ भन्छन् । ‘बाङबुङ गर्छ, तोडफोड गर्छ, बसीखान दिएन, पैसा माग्छ ।
केही भनौँ भने हिर्काउला भन्ने डर, ल डा.साब यसको डिप्रेसन ठीक पारिदिनुपर्यो’ भन्छन् । सायद हामी चिकित्सकले पनि बढी डिप्रेसनका वारेमा मात्र चर्चा ग¥यौँ । अथवा मिडियामा पनि डिप्रेसनबाहेक अरू मानसिक रोगका बारेमा त्यति चर्चा भएन । डिप्रेसन बढी मात्रामा देखिने रोग हो । यसको चर्चा पनि धेरै भयो । आममानिसलाई जानकारी पनि भयो, त्यसैले पनि ‘डिप्रेसन’ मानसिक रोगको प्रर्यायवाची बन्न पुगेको होला ।
अरू धेरै मानसिक रोग लाग्दा मानिसहरूले रोग भनेर स्वीकारै गर्दैनन् । उपचारको खोजीमा पनि प्रायः हिँड्दैनन् । डिप्रेसन भएका बिरामीहरूले चाहिँ बढी सचेत भएर उपचार गर्ने चाहना राखेको देखिन्छ । डिप्रेसनसँग सम्बन्धित रोग जस्तैः एन्जाइटी (घबराहट), नर्भसनेस हुने भएको छ भने मानिसले रोगको महसुस गर्छन् ।
एकदम चरम अवस्था भएको बेला असक्त हुन्छन् र उपचार खोज्छन् । डिप्रेसनका बिरामीलाई धेरै राम्ररी सम्झाउन सकिने हुन्छ, निको हुँदा पनि डिप्रेसन पुरै निको हुन सक्छ । डिप्रेसनका बिरामी पूर्णरूपमा पहिलेकै अवस्थामा फर्किन सक्ने र उत्तिकै क्रियाशील हुनसक्छ । त्यस्तो अवस्थामा डाक्टरलाई पनि सन्तुष्टि मिल्छ ।
हाम्रो शरीरको प्रतिरक्षा प्रणाली वा शरीरमा संक्रमण (भाइरस, ब्याक्टेरिया आदिबाट) भयो भने सामान्यतया ज्वरो देखापर्छ । मानिसलाई कुनै मानसिक आघात प¥यो, कुनै असफलता भयो, दिमागमा कुनै विषालु पदार्थको असर प¥यो, पोषणका कारणले असर गर्ने खालका घटना भयो, शरीरको कुनै हर्मोनहरूमा गोलमाल भयो र त्यसको प्रत्यक्ष असर दिमागमा प¥यो भने यस्तो अवस्थामा सामान्यतया डिप्रेनका लक्षणहरू देखिन्छन् । हाम्रो मन (मानसिक अवस्था र व्यक्तित्व) ले प्रतिकूल परिस्थितिमा प्रतिक्रिया देखाउँदा आमरूपमा देखापर्ने भनेको डिप्रेसनको लक्षण हो ।
सामान्यतया डिप्रेसनलाई हल्का, मझ्यौला र कडा खालका भनेर छुट्याइन्छ । त्यस्तै गम्भीर मानसिक आघातबाट देखिने डिप्रेसन र मस्तिष्कको आन्तरिक गडबढीको कारणले देखिने डिप्रेसन गरी दुई प्रकारको भनेर पनि हेरिन्छ ।
अरू कुनै घटनाहरू जस्तोः लागुपदार्थ सेवन गरिरहेको छ भने उसलाई डिप्रेसन हुनसक्छ । कडा रोगमा प्रयोग हुने केही औषधिहरू, अल्कोहल, मुटुको रोग, फोक्सोको रोग, ब्रेनमा ट्युमर, ब्रेन स्ट्रोक, गिदी सुक्दै जाने रोग लाग्यो, खानपिनबाट नकारात्मक असर प¥यो, भने पनि डिप्रेसन हुनसक्छ ।
अनुभवका आधारमा भन्नुपर्दा डिप्रेसन भएका मानिसहरू मध्ये करिब २० प्रतिशतले आत्महत्या गर्छन् । उपचार गर्दागर्दै वा निको भइसकेको अवस्थामा जीवनमा आएका परिवर्तनलाई आत्मसाथ गर्न नसक्दा आत्महत्या भएको हुनसक्छ
। समग्रमा आत्महत्या गर्ने मानिसहरू मध्ये ८० प्रतिशत जति मानसिक रोग हुन्छ, त्यसमा मुख्य डिप्रेसन हुन्छ । धेरैजसो डिप्रेसन हल्का खालको हुन्छ, र छोटो अवधिको हुन्छ । बिरामीले आपूmलाई के भएको हो भन्ने थाहा नपाउँदै रोग निको भइसक्छ । त्यसैले हल्का डिप्रेसनका धेरैजसो बिरामी डाक्टरकहाँ जाँदैनन् ।
त्यसबाहेक जसलाई यो रोगले लामै समय असर गर्छ ती मध्ये आधाजसो बिरामीलाई डिप्रेसन भयो भन्ने थाहा नै हुँदैन । अरू नै रोगको आशंकामा गलत उपचार गर्दै बसेका हुन्छन् । जसलाई थाहा हुन्छ तिनीहरू पनि आधाभन्दा कम मात्र उपचार गर्न आउँछन् । जो उपचार गर्छन् उनीहरू मध्ये आधाभन्दा कमले मात्र उपचारलाई निरन्तरता दिन्छन् ।
झण्डै ४० प्रतिशत मानिसलाई जीवनमा कुनै न कुनै वेला डिप्रेसन भएको हुन्छ । कुनै निश्चित काल खण्डमा समाजका सम्पूर्ण मानिसहरू मध्ये करिब पाँच प्रतिशतलाई डिप्रेसन भएको हुन्छ । सिजोफ्रेनिया चाहिँ एक प्रतिशत जतिलाई हुन्छ भनिन्छ । डिप्रेसनको समस्या महिलाहरूमा पुरुषमा भन्दा दोब्बर नै बढी पाइन्छ ।
डिप्रेसनलगायत सवै भावनात्मक रोगहरू महिलाहरूमा बढी हुन्छ भनिन्छ । यसको कारण शारीरिक र मनोवैज्ञानिक मात्र नभई सामाजिक पनि हुनसक्छ । महिलाहरूको शरीरमा हर्मोनको पृष्ठभूमि पनि फरक फरक हुन्छ ।
महिनावारी सुरु हुनुअघि, महिनावारी सुरु भएपछिको अवस्था, गर्भधारण गरेपछिको नौ महिनाको अवस्था, बच्चा जन्मिएपछि बच्चालाई स्तनपान गराउँदाको अवस्था, ५० वर्ष पछिको उमेरमा महिनावारी सुकेपछिको अवस्थालगायत महिलाको जीवनमा फरक फरक पृष्ठभूमी हुन्छ । यसरी विभिन्न चरणमा हुने हर्मोनलगायत शरीरको आन्तरिक परिवर्तनले डिप्रेसन आदि मूडसँग सम्बन्धित रोगको लागि उपयुक्त वातावरण बन्छ ।
अर्को कुरा महिलालाई घर र बाहिरको बोझ, बच्चाहरू हुर्काउनु पर्ने बोझले गर्दा उनीहरू बढी तनावमा हुन सक्छन् । पहिला पहिला एक पुरुष बराबर दुई महिलालाई डिप्रेसन हुन्छ भनिन्थ्यो । अहिले त्यही रूपमा नभए पनि पुरुषभन्दा महिलामा डिप्रेसनको समस्या बढी छ ।
मानसिक रोग, विवाह र डिभोर्सको सन्दर्भमा केही दशकयता निकै परिवर्तन आएको छ । दुई दशक अघिसम्म विवाह गरेर ल्याएकी केटी मानसिक रोगी परी भने पतिले छाडिदिन्थ्यो, माइतीले लगेर हेर्नुपथ्र्यो ।
पति मानसिक रोगी पर्यो भने पत्नीले छोड्न नमिल्ने । अहिले स्थिति पूरै उल्टियो । पति मानसिक रोगी छ भने पत्नीले डिभोर्स गरिहाल्छन् । उल्टै पत्नीले मुद्दा पनि हाल्छन् । पत्नीले पाँच वटासम्म मुद्दा हालेको मैले थाहा पाएको छु । तर, पत्नी मानसिक रोगी परी भने पतिले चाहेर पनि उम्कन सक्तैन ।
उपचारले मानसिक रोगलाई धेरै हदसम्म निको पार्न सकिने भएता पनि समाजमा मानसिक रोगलाई लुकाउने प्रवृत्ति धेरै रहेको छ ।
रोग लुकाउने र बेवास्ता गर्ने प्रवृत्तिले गर्दा धेरै बिरामीहरू रोगको चरम अवस्थामा उपचारका लागि आउँछन्, जुन बेला डाक्टरले खासै धेरै सहयोग गर्न सक्तैनन् । यसले गर्दा साधारण डिप्रेसन लागेका मानिसहरू पनि रोग बढ्दै गई आत्महत्या गर्न पुग्छन् । समग्र आत्महत्या गर्ने मानिसहरूमध्ये ८० प्रतिशत जति मानसिक रोग लागेका हुन्छन् जसमा मुख्य कारक डिप्रेसन नै हुन्छ ।
कतिपय मानिसहरूले सम्हालिन नसक्ने भएर सडकमै पुगेको स्थितिलाई मात्र मानसिक रोग भनेर बुझ्ने गरेका छन् भने कतिपयले चाहिँ जुन मानसिक रोग लागे पनि डिप्रेसन भनेर बुझ्ने गरेका छन् । मानसिक रोग विभिन्न किसिमका हुन्छन् र रोगअनुसार उनीहरूको जीवनशैली एवं बानीबेहोरामा परिवर्तन भइरहेको हुन्छ तर धेरैलाई यो पनि मानसिक रोग कि भनेर ध्यान जाँदैन ।
एकजना उच्च अधिकृत अफिसको कम्प्युटर धोएको धोयै गर्थे । घरको टेलिभिजन सेट, टेलिफोन सेट पनि धुने गर्थे । अर्का एकजना अधिकृतचाहिँ अफिसमा सबै काम ठीकसँग गरिरहेका थिए, तर घरमा श्रीमतीप्रति अति नै शंका गरेर कोठामा थुन्दा रहेछन् ।
झ्यालमा ग्रिल छ, पर्दा छ तर पनि झ्यालबाटै शारीरिक सम्बन्ध राख्न सक्छे भन्ने शंका भएकाले कोठाको बीचमा राखेर बाँध्ने गर्दा रहेछन् । एकजना साइकोसिसग्रस्त पुरुषलाई आफू ‘कल्पवृक्ष हुँ’ भन्ने भ्रम उत्पन्न भएछ । श्रीमतीलाई ‘म त मान्छे होइन, चिरञ्जीवी हुने फल फल्ने कल्पवृक्ष हुँ’ भन्दा रहेछन् ।
श्रीमती चाहिँ, ‘तपाईं हिँडिरहनुभएको छ कहाँ रुख हुन्छ ?’ भन्दिरहिछन् । ‘हिँडे पनि म रुख हुँ, फल लाग्छ’ भन्दा रहेछन् । अर्का एकजना पुरुषचाहिँ आफूलाई ‘म भगवान् शिव हुँ, तिमी पार्वती बन भन्दा रहेछन् । श्रीमतीचाहिँ ‘पहिला तपाईं शिवजस्तो भएर जटा पाल्नुस्, खरानी धस्नुस्, त्रिशुल बोक्नुस् अनि म पार्वती हुन्छु’ भन्दिरहिछन् । पछि उनीहरू उपचारमा आएका थिए । मानसिक रोगप्रति समाजमा धेरै भ्रम धेरै छन् ।
(मानसिक रोग विशेषज्ञ डा. शर्माको हालै प्रकाशित पुस्तकबाट)