डा. सरोज गौडेल
कोरोना भाइरस महामारीले हाम्रो जीवन र सम्बन्धमा अकस्मात धेरै परिवर्तन ल्याइदिएको छ । विश्वव्यापी महामारी कोभिड–१९ को कुन चरणमा अहिले हामी छौं भन्ने अनुमान कसैले गर्न सकेको छैन । अझै पनि हामी कोरोना महामारीको त्रासमै छौँ ।
कोरोनाभाइरस के हो ? त्यसबाट कसरी संक्रमण हुन्छ ? कसलाई संक्रमणको बढी जोखिम छ ? कोभिड–१९ लागेपछि मृत्युको सम्भावना कति छ तथा उक्त भाइरसबाट कसरी जोगिन सकिन्छ भन्ने जिज्ञासा धेरै जनामा छ । यो आलेखमा हामीले कोरोना भाइरस बारे विद्यमान भ्रम र तथ्य के छ त ? भनी एभरेष्ट अस्पतालका फजिसियन डा. सरोज गौडेलको भनाईलाई प्रस्तुत गरेका छौँः
कोभिड–१९ बारे नेपालमा अहिले पनि धेरै नै भ्रम छ । तथ्यहिन र प्रमाणबिहिन कुरालाई पत्याउने धेरै छन । पछिल्ला दिनमा कोभिड–१९ रोकथामका लागि लगाइने खोप भ्रमको केन्द्रविन्दु बनेको छ ।
भ्रम : नेपालमा ४० प्रतिशत भन्दा बढीले पूर्ण खोप लगाइसकेका छन् । कोरोना भाइरस विरुद्ध खोप लगाएका धेरै मानिसहरुले भन्ने गरेका छन् की मैले पूर्णरुपमा खोप लगाएको छु मेरोमा एण्टीबडी बनिसकेको छ मलाई कोभिड–१९ संक्रमण हुँदैन । कतिपयले आफूलाई पहिले नै कोभिड–१९ को संक्रमण भैसकेको र दुबै मात्रा खोप लागाईसकेकोले कोभिडको जोखिम नहुने ठान्छन् । यस्ता मानिसहरुले सामाजिक दुरी पालना नगर्ने, माक्स नलगाउने, सेनिटाइजरको प्रयोग नगर्ने, साबुन पानीले हात नधुने र भिडभाड जाने गरेका छन् ।
तथ्य : तर ती सबै भ्रम हुन् । सबैले अनिवार्य रुपमा माक्स प्रयोग गर्नुपर्छ । सामाजिक दुरी कायम गर्ने, साबुन पानीले हात धुने वा सेनीटाईजर प्रयोग गर्नु सबैका लागि आवश्यक छ । कोभिड संक्रमणको जोखिम पहिले संक्रमित भई निको भएका, खोप लगाएका दुवैलाई हुन्छ । फरक यत्ति हो की संक्रमणबाट गम्भिर अवस्थामा पुग्ने संभावना खोप लगाएकामा कम देखिएको छ । कोरोना संक्रमणबाट बच्नु नै सबैभन्दा उत्तम उपाय हो । त्यसका लागि सामाजिक दुरी कायम गर्ने र माक्स, सेनिटाइजरको प्रयोग गर्ने वा नियमित साबुन पानीले हात धुनुपर्छ । कोभिड विरुद्धको खोप नलगाएकाले अनिवार्य खोप लगाउनुपर्छ । खोप लगाईसकेकालाई संक्रमणले गम्भिर अवस्थामा पु¥याउने संभावना कम देखिएको छ ।
सरकारले ५० प्रतिशतले खोप लागाइसकेपछि बुस्टर डोज लगाउने भनेको छ । बुुस्टर डोज कोभिड विरुद्ध कतिको लाभ दायिक छ त ? किन बुस्टर खोप लगाउने त ? भन्ने कुरापनि आउन सक्छ ।
यसबारेको तथ्य केहो भने जब हामीले पूर्ण खोप लगाउछौं । त्यो भ्याक्सिनको प्रभाव विस्तारै घट्दै जान्छ र बुस्टरले कोभिड विरुद्ध थप प्रतिरोधात्मक क्षमता बढाउछ भन्ने विश्वास राखिको छ । केही समय अगाडि कोभिडको बिरामी दर कम हुदै गएको थियो । अहिले पछिल्लो समय अस्पतालमा फेरी पनि कोभिडका विरामीहरु चाप दिनप्रति दिन बढ्दै गएको पाइन्छ ।
अस्पतालमा रुघा खोकी लागेर, ज्वरो आएर, जिउ दुखेर, झाडापखाला लागेका विरामीहरु बढ्दो छ । उनीहरुलाई कोभिडको शङ्का देखिएपनि कोभिडको परीक्षण गर्न लगाउँदा नमान्ने, हिचकिचाउने गरेको पाईन्छ । पहिले परिक्षण गर्छु आफू पनि बच्छु अरुलाई पनि बचाउँछु भन्ने खालको भावना थियो । आफै गएर चेकजाँच गर्ने गर्दथे भने अहिले त्यो अवस्था छैन । अहिले अस्पतालमा आउने ९० प्रतिशत भन्दा धेरैमा लक्षणहरु देखिएर आएका विरामीलाई कोभिड–१९ परिक्षण गर्न लगाउँदा नमान्ने गरेको पाइन्छ ।
भ्रमः कोभिड भएपछि नाकले बास्ना र जिब्रोले खानको स्वाद थाहा पाउन छोड्छ । यसो भए मात्र कोेभिड १९ भएको हो भन्ने बुझई धेरै मानिसमा छ ।
तथ्यः बुझ्नुपर्ने कुरा के हो भने कोभिड–१९ को नयाँ नयाँ भेरियन्ट्सहरुको विकास हुँदै गएको छ । हरेक भेरियन्टका संक्रमितमा फरक फरक लक्षणहरु देखिएका छन् । ज्वरो मात्रै आएका, जिउ दुखेको बताउने र पखाला लागेर आएका विरामीहरुमा पनि कोभिड १९ संक्रमण देखिएको थुप्रै उदाहरण छ । कोभिड १९ संक्रमण हुनको लागि स्वाद नै हराउन पर्छ, नाकले गन्ध थाहा पाउनै छाड्न पर्छ भन्ने हुँदैन । खोप लगाएकाहरुलाई साधारण लक्षणहरु देखिन्छ । उनीहरुले १० दिनसम्म घरमै बसेर चिकित्सकले दिएको औषधिहरु सेवन गर्दा हुन्छ । तातो झोलिलो चिजहरु खाएर घरमै आराम गर्दा पनि ठिक हुन्छ । बढी समस्या देखिएको खण्डमा चिकित्सकसँग सल्लाह लिएर अस्पताल जानुपर्छ ।
भ्रम : फेसबुक, टिकटक जस्ता सामाजिक सञ्जाल धेरै भ्रमपूर्ण टिप्पणीहरु राखिन्छ । मानिसहरुले त्यसलाई हेर्ने, शेयर गर्ने र प्रयोग गर्ने गरेका छन् । आफैंले प्रेस्कीप्सन बनाएर २, ३ थरिका एन्टिबायोटिकस, स्टोरोइडसहरुको गलत प्रयोग गरेर यति औषधी खायो भने ठिक हुन्छ भनेर लिस्ट नै तयार गरेको पनि पाइएको छ ।
तथ्य : यो सरासर गलत काम हो । अहिलेसम्म कोभिड–१९ विरुद्धको कुनै औषधि बनेको छैन । कुनैपनि किसिमको भ्रममा पर्नु आवश्यक छैन । चिकित्सकको सल्लाह नलिई जुन पायो त्यहि औषधि सेवन कदापी गर्नुहुन्न ।