पाल्पा- पाल्पा अस्पतालमा कार्यरत कर्मचारीमा कोरोना पुष्टि भएसँगै अस्पतालको अत्यावश्यक बाहेकका सेवा बन्द हुने भएको छ ।
अस्पतालका निमित्त मेसुसहित १० जना कर्मचारीको पीसिआर परीक्षण गर्दा ९ जना कर्मचारीमा संक्रमण देखिएपछि अस्पतालले सूचना निकालेर २४ घण्टे डेलिभरी सेवा, ल्याब, सुरक्षित गर्भपतन र रेफर बाहेकका सबै चिकित्सकीय सेवाहरु पूर्ण रुपमा बन्द गरिएको जनाएको छ ।
अस्पताल विकास समितिका अध्यक्ष नेत्र प्रसाद पाण्डेका अनुसार मेसुसहित ६ जना मेडिकल अधिकृत, एकजना डेन्टल सर्जन, एक जना पारामेडिक्स र एक जना ल्याब टेक्निसियनमा लक्षणसहितको कोरोना पुष्टि भएर आइसोलेशन बस्नु परेको हुँदा अर्को व्यवस्था नभएसम्मका लागि सेवा बन्द गरिएको हो ।
पाल्पामा पछिल्लो केही दिन यता संक्रमितको संख्यामा पनि वृद्धि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । कुल २६ जना कोरोनाका सक्रिय संक्रमित रहेकोमा एक जनाको अस्पताल तथा बाकी २५ जना होम आइसोलेशनमा बस्दै आएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।-