काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ प्रकाशलाई कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण भएको छ ।
दुवै नेताले शनिबार बिहान सामाजिक सञ्जाल फेसबुक मार्फत आफूलाई संक्रमण भएको जानकारी दिएका हुन् । स्वास्थ्यमा केही समस्या देखिएपछि प्रचण्डले शुक्रबार बेलुकी कोरोना परीक्षण गरेको निजी सचिवालयले जनाएको छ । प्रचण्डको निजी सचिवालयमा कार्यरत केहीलाई पनि कोरोना संक्रमण भएको छ ।
अर्का नेता श्रेष्ठका अनुसार असहज महसूस भएपछि उनी बिहीबार पाँचदलीय समन्वय समितिको बैठकमा गएका थिएनन् । टाउको र जीउ दुख्नुका साथै रुघा लाग्ने लक्षण देखिएपछि शुक्रबार परीक्षण गर्दा संक्रमण पुष्टि भएको उनले बताए ।
माओवादी केन्द्रले पुस १० देखि १८ गतेसम्म आठौं राष्ट्रिय महाधिवेशन गरेको थियो । देशभरबाट जम्मा भएका करीब १७ सय नेता कार्यकर्ता ८ दिनसम्म एउटै हलमा भेला भएर छलफल गरेका थिए । त्यसक्रममा नै कतिपय नेता कार्यकर्तालाई ज्वरो आउने, रुघा लाग्ने जस्ता समस्या देखिएको थियो ।
त्यसका बाबजूद माओवादी केन्द्रले १९ गते केन्द्रीय सदस्यहरुको शपथ ग्रहण कार्यक्रम राख्यो । त्यसपछि पनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बधाई लिने भेटघाटमा व्यस्त रहे । बिहीबार पनि उनी प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँचदलीय समन्वय समितिको बैठकमा सहभागी भएका थिए ।
त्यही दिन माओवादी केन्द्रको केन्द्रीय कार्यालय, पेरिसडाँडामा ८ जना कर्मचारीलाई कोरोना संक्रमण भएको पुष्टि भयो । शनिबार संक्रमितहरुको सूचीमा अध्यक्ष प्रचण्ड र नेता श्रेष्ठ पनि थपिएका छन् । माओवादीका एक नेता भन्छन्, ‘हाम्रो भेटघाटहरु कोरोना बम जस्तै भए । अरु थुप्रैलाई संक्रमण भएको हुनसक्छ ।’ भेटघाटका क्रममा मास्क लगाएकाहरुले समेत बधाई दिने क्रममा हात मिलाउने र तस्वीर खिच्ने नाममा मास्क खोस्ने गरेको उनले सुनाए ।
प्रधानमन्त्री देउवा आइसोलेसनमा
प्रधानमन्त्री शेरबहादुर देउवा शनिबारदेखि आइसोलेसनमा बसेका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार उनी शनिबारदेखि आइसोलेसनमा बसेका हुन् । प्रधानमन्त्रीको कोभिड–१९ को परीक्षण आइतबार हुनेछ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कोरोना संक्रमण भएपछि प्रधनमन्त्री देउवा आइसोलेसनमा बसेका हुन् । दुई दिनअघि बालुवाटारमा भएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा प्रधानमन्त्री देउवा प्रचण्डसँगै सहभागी थिए ।
प्रचण्डमा कोरोना पुष्टि भएपछि प्रधानमन्त्री देउवासहित सत्ता गठबन्धनका शीर्ष नेतासमेत कन्ट्याक्ट ट्रेसिङमा परेका छन् । माओवादीमा अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, नेताहरू हरिबोल गजुरेल, मातृका यादव, डोरप्रसाद उपाध्याय, रामप्रसाद सापकोटा, रमेश मल्ललगायतमा कोरोनाको संक्रमण पुष्टि भएको छ ।